सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सियाटलको फुड फेस्टिभलमा गोलीकाण्ड: ३ जनाको मृत्यु, एक संदिग्ध पक्राउ

सोमबार, ११ साउन २०८३, १७ : १५
सोमबार, ११ साउन २०८३

सारांश

  • सियाटलमा आयोजित फुड फेस्टिभलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्।
  • घटनास्थल नजिकैबाट एक संदिग्धलाई पक्राउ गरिएको छ भने अर्का फरार संदिग्धको खोजी भइरहेको छ।
  • गोलीकाण्डमा दुई वर्षीय बालक पनि घाइते भएका छन् र घटनाको अनुसन्धान भइरहेको छ।

सियाटल । अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिकै आयोजना गरिएको एक फुड फेस्टिभलमा आइतबार भएको गोलीकाण्डमा परेर तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्।

स्थानीय समय अनुसार बेलुकी करिब ६ बजे सियाटल सेन्टरमा वार्षिक रूपमा आयोजना हुने ‘बाइट अफ सियाटल’ फुड फेस्टिभल चलिरहेका बेला गोली चलेको हो।

घटनापछि एक संदिग्धलाई नियन्त्रणमा लिइएको मेयर केटी विल्सनले जानकारी दिइन्। अर्का संदिग्ध भने घटनास्थलबाट फरार भएकाले उनको खोजी भइरहेको सियाटल प्रहरीका सहायक प्रमुख टाइरोन डेभिसले बताए। संदिग्धहरूले एकअर्कामाथि गोली चलाएको हुनसक्ने अनुमान गरिएको छ।

गोलीकाण्डमा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते हुनेहरूमा दुई वर्षीय बालक पनि रहेको अधिकारीहरूले जनाएका छन्।

इन्टरनेटमा सार्वजनिक भएका भिडियोहरूमा मानिसहरूले सहरको प्रसिद्ध स्पेस निडलभित्र आश्रय लिएको देखिएको छ। गोली चल्न थालेपछि मानिसहरू स्पेस निडलको लबीमा रहेका खम्बा र सामान राखिएका र्‍याकहरू पछाडि भुइँमा लुकेका थिए।

घटनाको अनुसन्धान भइरहेको जनाउँदै सियाटल प्रहरी विभागले सर्वसाधारणलाई सो क्षेत्रतर्फ नजान आग्रह गरेको छ।

मेयर विल्सनले वक्तव्य जारी गर्दै घटनास्थल पुगेर संदिग्धलाई नियन्त्रणमा लिने प्रहरी अधिकारीहरूलाई धन्यवाद दिएकी छन्। उनले सुरुमा दुई जना संदिग्ध पक्राउ परेको बताए पनि पछि आइतबार साँझ वक्तव्य सच्याउँदै एक जना मात्र पक्राउ परेको स्पष्ट पारेकी हुन्।

घाइतेमध्ये चार जनालाई सामान्य अवस्थामा अस्पताल लगिएको छ भने एक जनाले अस्पताल जान अस्वीकार गरेको दमकल विभागले जनाएको छ।

सियाटल र वासिङ्टन राज्यका प्रतिनिधिहरूले यस घटनालाई ‘निरर्थक हिंसा’ भन्दै भर्त्सना गरेका छन्। वासिङ्टनका गभर्नर बब फर्गुसनले सामाजिक सञ्जालमा लेख्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप