सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दाजुभाइ

सोमबार, ११ साउन २०८३, १५ : ०९
सोमबार, ११ साउन २०८३

काठमाडाैँ । जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो परम्परागत विधिबाट काठको कोइला बनाउँदै त्यसलाई जीवित राखेका छन्।

इमो फेल्डमरले धिपधिप बलिरहेको कोइलालाई माटोले बनाइएको अग्लो ढिस्कोभित्र राख्दै कोइला उत्पादनको प्रक्रिया सुरु गर्नुभयो । ढिस्कोभित्र ‘बिच’ जातको काठलाई खाँदेर राखिन्छ, जुन हप्तौँसम्म बिस्तारै बल्दै अन्ततः कोइलामा परिणत हुन्छ।

पूर्वी जर्मनीको हार्ज क्षेत्रमा यो परम्परा सयौँ वर्षदेखि चल्दै आएको छ । “हामी परम्परागत माटोको भट्टीमा कोइला बनाउँदैछौँ, ठिक त्यसरी नै जसरी एक हजार वर्षअघि हार्ज पहाडमा गरिन्थ्यो,” फेल्डमरले हालै एसोसिएटेड प्रेस (एपी)लाई बताए।

फेल्डमर र उहाँका भाइ साशाले आफ्ना बुबाबाट ‘हार्जकोलेरेई स्टेमबर्गहाउस’ नामक कोइला उत्पादन व्यवसाय सम्हालेका हुन् । ढिस्कोभित्र बलिरहेको काठको दिनरात निगरानी गर्नुपर्ने भएकाले उनीहरूले केही कामदारसमेत राखेका छन् । उचित निगरानी नभए काठ पूर्ण रूपमा जलेर कोइलाको सट्टा खरानीमा परिणत हुन सक्छ ।

माटोले ढाकेपछि ‘बिच’ काठमा रहेका हावा छिर्ने स–साना प्वालमार्फत माथिदेखि तलसम्म बिस्तारै दहन हुन्छ । दहन पूरा भएपछि कोइलाबाट माटो हटाइन्छ र चिसिएपछि बिक्रीका लागि १० किलोग्रामका बोरामा प्याक गरिन्छ ।

हार्ज क्षेत्रमा खनिज उत्खननका लागि काठको कोइला कुनै समय अत्यावश्यक थियो । चाँदी, सिसा, तामा र जस्ता धातु निकाल्न खनिजलाई उच्च तापक्रममा भट्टीमा पगाल्नुपथ्र्यो, जसका लागि कोइलाबाट प्राप्त हुने उच्च ताप आवश्यक हुन्थ्यो।

शताब्दीयौँसम्म हार्ज क्षेत्रका सयौँ परिवारले कोइला बनाउने कामबाट जीविकोपार्जन गरे । अहिले भने उक्त क्षेत्रमा खनिज उत्खनन हुँदैन र जर्मनीमा परम्परागत विधिबाट कोइला बनाउने व्यवसायी पनि निकै कम छन् ।

फेल्डमर दाजुभाइले उत्पादन गर्ने कोइला मुख्यतः घरमा बार्बेक्युका लागि प्रयोग गर्ने ग्राहकलाई बिक्री गर्छन् । उनीहरूले वार्षिक करिब ४० टन कोइला उत्पादन गर्छन्।

फेल्डमरका अनुसार उनीहरूको कोइला शुद्ध बिच काठबाट बनाइन्छ । जर्मनीका हार्डवेयर पसलमा बिक्री हुने अधिकांश कोइला भने आयातित हुने र विभिन्न प्रकारका काठ तथा अन्य सामग्री प्रयोग गरेर उत्पादन गरिने उनको दाबी छ।

वार्षिक उत्पादनबाट मात्र व्यवसाय सञ्चालन गर्न कठिन हुने भएकाले दाजुभाइले कोइला उत्पादनको इतिहास झल्काउने सङ्ग्रहालय, सानो पसल र रेस्टुरेन्टसमेत सञ्चालन गरेका छन्। रेस्टुरेन्टमा स्थानीय परिकारका साथै आफ्नै उत्पादनको बर्च कोइलामा ग्रिल गरिएको स्टेकलगायतका खाना पाइन्छ।

जर्मनीमा परम्परागत कोइला उत्पादनको कला लोप हुने अवस्थामा पुगे पनि फेल्डमरले आफ्नो परिवारले यसलाई आगामी पुस्तासम्म निरन्तरता दिने आशा व्यक्त गरेका छन्।

“हामी आशा गर्छौँ कि हाम्रा बच्चाले पनि यो व्यवसाय सम्हाल्नेछन्, यसको सञ्चालन जारी रहनेछ र यहाँको परम्परागत कोइला बनाउने शिल्प सुरक्षित रहनेछ,” उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप