देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : आङ्देम्बे
सारांश
- प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
- उनले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने बताएका छन् ।
- आङ्देम्बेले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । उनले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले दुई जनाको मृत्यु र दर्जनौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
आङ्देम्बेले सरकारले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन् । शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको उनको भनाइ छ। उनले भने, ‘यो घटनाको जवाफ गृहमन्त्रीले दिनुपर्छ । शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी हो र यो घटनाको जिम्मेवार सरकारले लिनुपर्छ ।’
आङ्देम्बेले पछिल्लो समय सरकारप्रति नागरिकमा असन्तोष बढ्दै गएको पनि उल्लेख गरेका छन् । उनले भने, ‘पछिल्लो समय सरकारप्रति नागरिकहरूमा तीव्र असन्तोष पैदा भएको छ । परिणामतः आत्मदाह गर्ने जस्ता भयावह घटना बारम्बार दोहोरिएको छ ।’
आङ्देम्बेले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। साथै, सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन्।
सुरक्षाकर्मीले कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्ने उनको भनाइ छ । साथै, अफवाह र उक्साहटको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न उनले सबैमा अपिल गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण