मोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर
सारांश
- सिरहाको लहानमा प्रहरीले गोली चलाएर ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गर्दा मोहम्मद नसिर घाइते भएका छन् ।
- नसिर पूर्व गोइत समूहका कार्यकर्ता हुन् र हातहतियार तथा खरखजाना मुद्दामा ९ महिना जेल बसेर छुटेका थिए ।
- उनी व्यक्ति हत्यामा दोषी ठहर भई २५ वर्ष कैद सजाय तोकिएपछि झुम्का कारागारमा थिए, जहाँबाट उनी भागेर लागुऔषध तस्करीमा लागेको पाइएको छ ।
काठमाडौँ । सिरहाको लहान नगरपालिका वडा नम्बर–३ स्थित हस्पिटल चोकमा प्रहरीले गोली चलाएर साउन ७ गते ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको थियो ।
लागुऔषध नियन्त्रण ब्यूरोले प्रहार गरेको गोली लागेर बिहार घर भएका २२ वर्षीय विद्यानन्द यादव र सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर–१ घर भएका ४० वर्षीय मोहम्मद नसिर घाइते भएका थिए ।
नसिरको बायाँ खुट्टामा एक राउण्ड गोली लाग्यो । विद्यानन्दको दाहिने खुट्टामा गोली लागेको थियो । ड्युटीमा खटिएका प्रहरीलाई आक्रमण गरेपछि आत्मरक्षाको लागि गोली चलाउनुपरेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराले दाबी गरेका छन् ।
प्रहरीमाथि नै जाइलाग्ने समूहबाट प्रहरीले २४३ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको छ । नसिरको पृष्ठभूमि लामो समयदेखि आपराधिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
नसिर भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी (गोइत समूह)मा आवद्ध भएर आपराधिक गतिविधिमा संलग्न रहेको भेटिएको छ । गोइत समूहमा हुँदा हतियार सहित पक्राउ गरेर प्रहरीले हातहतियार र खरखजाना मुद्दामा उनीमाथि अनुसन्धान गरेको ब्यूरोका एसएसपी बोहराले बताए ।
उनले भने, ‘त्यसबेला उनी ९ महिना कारागार बसेर छुटेको देखिन्छ ।’
नसिर व्यक्ति हत्यामा पनि दोषी ठहर भएका प्रतिवादी हुन् । २०७८ मा सप्तरीकै एक जनाको हत्या मुद्दामा अदालतले उनलाई २५ वर्ष कैद ठहर गरेको थियो । सप्तरीको शम्भुनाथ नगरपालिकामा भोज भतेर गर्नका लागि खाना बनाउने बहानामा बोलाएर २०७८ असोज ८ मा उनले रामसुन्दर महतोको हत्या गरेका थिए ।
रामसुन्दर महतोको हत्या गरेर खाँडो खोलाको पोखरीमा शव फालेको अनुसन्धानबाट पुष्टि भएको छ । सो घटनामा नासिरसहित ३ जनालाई २५ वर्ष कैद सजाय हुने फैसला भएको थियो ।
हत्यामा नसिरसहित सप्तरीकै विष्णुपुर गाउँपालिका–५ कि ४९ वर्षीय ईनरवती देवी महतो र डाक्नेश्वरी नगरपालिका–७ का ३० वर्षीय रोशन साह संलग्न थिए ।
प्रहरीका अनुसार नसिर मृतक रामसुन्दर महतोको श्रीमती ईनरवती देवी महतोसँग विवाहेत्तर सम्बन्धमा थिए । विवाहेत्तर सम्बन्धका कारण रामसुन्दरकै श्रीमतीसँग मिलेर रामसुन्दरको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सो मुद्दामा २०८० वैशाख ३१ मा न्यायाधीश हेमन्त रावलले तीनै जना प्रतिवादीलाई जनही २५ वर्ष कैद सजाय तोकेका थिए । फैसला अनुसार नसिर सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गर्दै थिए ।
२०८२ भदौ २४ मा भएको जेनजी आन्दोलनको मौका छोपेर उनी कारागारबाट फरार भएका हुन् । २०७९ वैशाख २२ मा उनी थुनामा परेका थिए । नसिर अब हत्या मुद्दामा २१०४ वैशाख २२ सम्म कारागारमै रहन्छन् । लागुऔषध मुद्दा ठहर भएमा उनलाई थप सजाय हुनेछ ।
आफूलाई मोहम्मद नाजिर मियाँ भनेर चिनाउँदै आएका मोहम्मद नसिर कारागारबाट भागेपछि खैरो हेरोइनको तस्करीमा लागेको एसएसपी बोहराले बताए । उनले भने, ‘पछिल्लो समय उनी लागुऔषध कारोबारमा संलग्न रहेको देखिन्छ ।’
नसिरमाथि अहिले सिरहास्थित इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण