मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त

मङ्गलबार, १२ साउन २०८३, २१ : १६
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • रोबर्टो मान्चिनी दोस्रो पटक इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
  • मान्चिनीलाई आन्द्रे पिर्लोले टोलीको जिम्मेवारी नलिने घोषणा गरेको र प्राविधिक निर्देशक पाओलो मालदिनीले पदबाट राजीनामा दिएको भोलिपल्टै नियुक्त गरिएको हो।
  • मान्चिनीको प्रशिक्षणमा इटालीले युरो २०२० को उपाधि जितेको थियो र टोलीलाई कीर्तिमानी ३७ खेलसम्म अपराजित राखेका थिए।

काठमाडौँ । रोबर्टो मान्चिनी दोस्रो पटक इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। 

आन्द्रे पिर्लोले टोलीको जिम्मेवारी नलिने घोषणा गरेको र प्राविधिक निर्देशक पाओलो मालदिनीले पदबाट राजीनामा दिएको भोलिपल्टै मान्चिनीलाई नियुक्त गरिएको हो।

लगातार तेस्रो पटक इटाली विश्वकपमा छनोट हुन नसकेपछि जेन्नारो गटुसोले गत अप्रिलमा प्रशिक्षक पद छाडेका थिए। त्यसपछि पिरलो मुख्य प्रशिक्षक बन्ने सम्भावना देखिएको थियो। एक रुसी सट्टेबाजी कम्पनीसँगको सम्बन्धलाई लिएर विवाद सिर्जना भएपछि उनले सोमबार आफू उक्त दौडबाट बाहिरिएको घोषणा गरेका थिए।

इटालियन फुटबल महासङ्घका अध्यक्ष जिओभानी मालागोले मान्चिनी नै मुख्य प्रशिक्षकका लागि सबैभन्दा उपयुक्त व्यक्ति भएको बताए। सन् २०१५-१६ मा लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका क्लाउडियो रानिएरीलाई मालदिनीको ठाउँमा प्राविधिक निर्देशक बनाइएको छ। 

दुई हप्ताअघि मात्रै प्राविधिक निर्देशक बनेका मालदिनी र सल्लाहकार लियोनार्डोले पिरलोलाई प्रशिक्षक नबनाउने निर्णय भएपछि राजीनामा दिएका हुन्। यसअघि महासङ्घले पेप ग्वार्डिओला र कार्लो एन्चेलोटिसँग पनि सम्पर्क गरेको थियो।

६१ वर्षका मान्चिनीले यसअघि सन् २०१८ देखि २०२३ सम्म इटालीको टोली सम्हालेका थिए। उनको प्रशिक्षणमा इटालीले फाइनलमा इंग्ल्यान्डलाई हराउँदै युरो २०२० को उपाधि जितेको थियो। उनले टोलीलाई कीर्तिमानी ३७ खेलसम्म अपराजित राखेका थिए। 

सन् २०२२ को विश्वकप छनोटअन्तर्गत प्ले-अफमा उत्तर म्यासेडोनियासँग पराजित भएपछि इटाली विश्वकपमा छानिन सकेको थिएन। त्यसपछि उनले अगस्ट २०२३ मा राजीनामा दिएका थिए।

यस वर्षको सुरुमा भएको अर्को विश्वकप प्ले-अफमा पनि पराजित भएपछि इटाली यसै वर्ष भएको विश्वकपमा सहभागी हुन पाएन। यसै कारण गटुसोको कार्यकाल अन्त्य भयो र अप्रिलमा आपसी सहमतिमा उनको सम्झौता रद्द गरियो। 

ठुला प्रतियोगितामा सफलता हासिल गरे पनि इटाली सन् २०१४ यता विश्वकपको अन्तिम चरणमा पुग्न सकेको छैन। गटुसोको बहिर्गमनपछि यु-२१ टोलीका प्रशिक्षक सिल्भियो बाल्दिनीले अस्थायी रूपमा टोली सम्हालेका थिए।

पूर्व इटालियन तथा साम्पदोरियाका मिडफिल्डर मान्चिनीको नेतृत्वमा म्यानचेस्टर सिटीले सन् २०१२ मा पहिलो पटक प्रिमियर लिग उपाधि जितेको थियो। उनले लाजियो र इन्टर मिलानबाट पनि सफलता हासिल गरेका थिए। उनले दुवै टोलीबाट कोपा इटालिया र इन्टर मिलानबाट तीन वटा सिरि ए उपाधि जितेका थिए।

सन् २०१८ मा इटालीको जिम्मेवारी लिनुअघि उनले गलातासराय र जेनिट सेन्ट पिटर्सबर्गमा पनि काम गरेका थिए। इटालीबाट बाहिरिएपछि उनी केही समय साउदी अरेबियाको राष्ट्रिय टोलीमा रहे र त्यसपछि कतारी क्लब अल सादमा आवद्ध भए।

अल सादले कतार स्टार्स लिग जिते पनि एएफसी च्याम्पियन्स लिग एलिटको सेमिफाइनल पुग्न सकेन र कतार कपको फाइनलमा पनि पराजित भयो। मान्चिनीले जुन महिनामा अल साद छाडेका थिए। 

इटालीले सेप्टेम्बर २५ मा बेल्जियमविरुद्ध घरेलु मैदानमा खेल्दै नेसन्स लिगको सुरुआत गर्नेछ। त्यसको तीन दिनपछि इटालीले टर्कीको सामना गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप