शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरानो संसद भवन भत्काउने कि बचाउने ? (भिडियो)

प्राधिकरण भन्छ – भत्काएर नयाँ बनाऔँ, संसद सचिवालय र पुरातत्त्व विभाग बचाउने पक्षमा
आइतबार, २६ साउन २०७६, १० : ०७
आइतबार, २६ साउन २०७६

सिंहदरबारस्थित पुरानो संसद भवन अर्थात् ग्यालेरी बैठक भवन भत्काउने कि पुनर्निर्माण गर्ने भन्नेबारे संसद सचिवालय, पुरातत्त्व विभाग र पुनर्निर्माण प्राधिकरणबीच मत बाझिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरानो संसद भवन भत्काएर त्यहाँ नयाँ भवन बनाउने प्रस्ताव मन्त्रीपरिषदमा पठाएको छ भने पुरातत्त्व विभाग र संघीय संसद सचिवालयले भने पुनर्निर्माण गर्नुपर्ने कुरामा जोड दिएको छन् ।

२०७२ सालको भूकम्पले असर गरेपछि संसद भवनभित्र पुराना फर्निचर स्टोर गरेर राखिएको छ । २०६४ सालमा भएको संविधान सभाको निर्वाचनपछि ६ सय १ संख्याका सभासद सो भवनको हलमा नअट्ने भएपछि विकल्पको रुपमा नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हल भाडामा लिइएको थियो । त्यसयता सिंहदरबार हाताभित्र रहेको संसद भवन प्रयोगविहीन अवस्थामा रहेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार परराष्ट्र मन्त्रालयको आग्रहमा संसद भवन भएको स्थानमा विदेशी पाहुना भेट्ने तथा उनीहरुको बसोबास गर्ने राज्यको स्टेट हल बनाउनेबारे छलफल भएको छ । त्यसको स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रस्ताव पठाइएको छ ।

पुनर्निर्माण प्राधिकरणले संसद भवन भत्काउने मन्त्रीपरिषदको निर्णय पर्खेर बसिरहेका बेला संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले नेपालको २००४ साल देखिको लिखित र विभिन्न संवैधानिक कानुनको विकासको इतिहास बोकेको भन्दै सो भवन नभत्काई मर्मत गर्नुपर्ने बताए । 


उनले भने–‘ऐतिहासिक महत्त्त्व भएकोले यसलाई जोगाउनुपर्छ भन्ने संसद सचिवालयको धारणा हो । यसै कुरालाई ध्यानमा राखेर हामीले पुरातत्त्व विभागलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई समेत गुहारेका छौँ । उहाँहरुबाट हामीलाई लिखित जानकारी केही आएको छैन ।’

रातोपाटीसँग कुरा गर्दै महासचिव भट्टराईले जीवित इतिहास बोकेको पुरानो भवनको पुननिर्माण हुनुपर्छ भन्नेमा संसद सचिवालयका सबैको एकमत रहेको बताए ।

यसबारेमा पुरातत्त्व विभाग र संसद सचिवालयबीच कुनै छलफल नभएको बताउँदै भत्काउने कुरा सुनिन थालेको भन्दै दुःख व्यक्त  गरे । 

उनले भने–‘यसलाई अर्को दृष्टिकोणले पनि हेर्न थालिएको छ भन्ने कुरा पनि आएको छ त्यसमा हामीलाई दुःख लागेको छ । नेपालको प्रत्येक राजनीतिक इतिहास बोकेको, २००४ सालदेखि सबै घटनाहरुको साक्षी, सबै विषयमा छलफल गर्ने थलोको रुपमा रहेको यो भवन यसलाई साविककै स्थानमा संरक्षण गरेर राखिनुपर्छ ।’

उनले संबैधानिक इतिहास बोकेका सबै सामग्रीहरु, संविधानका मस्यौदाहरु, विभिन्न कालखण्डमा प्रयोग गरिएका सरसामानहरुलाई यो भवनमा राखेर म्युजियमका रुपमा अघि बढाउन सकिने बताए । 

उनले भने– ‘तर त्यसभन्दा पनि बढी यो भवन नै आफैमा एक इतिहास हो, त्यसकारण यो भवनको नै सबैभन्दा पहिला संरक्षण गरिनुपर्छ । भवन संरक्षण गरिएपछि त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ हामी योजना बनाउँन सक्छौँ । यो पुरातात्विक सम्पदालाई पूर्ण रुपमा पाताल पारिनुहुँदैन र यो भवन भएको ठाउँमा अन्य भवन शोभनीय पनि हुदैन ।’

सय वर्ष नाघेको सम्पदा संरक्षण गर्नुपर्छ : पुरातत्त्व विभाग  

पुरातत्त्व विभागका निमित्त महानिर्देशक दामोदर गौतम एक सय वर्षभन्दा बढी नाघेका इतिहास, कला र वास्तुकलाको दृष्टिकोणले महत्वपूर्ण सार्वजनिक महत्वका स्मारकहरु संरक्षण गर्नुपर्ने बताउछन् । त्यस्ता सम्पदाहरु पुरातत्त्व विभागको अधिकार क्षेत्रभित्र पर्ने प्राचिन स्मारक ऐनले व्याखा गरेको बताउँदै राणाकालीन भवन संरक्षण गर्नुपर्ने बताए ।

उनले भने–‘सय वर्ष नाघेको त्यो राणाकालीन भवन संसदले आफ्नो कुनै प्रयोजनका लागि प्रयोग गर्दथ्यो, जुन भूकम्पपछि प्रभावित भयो त्यसलाई संरक्षण गरिनुपर्ने भन्ने विषय हामीसँग सम्बन्धित रहन्छ । त्यसैले त्यो भवनको बास्तुकला र त्यसको मौलिकपन अक्षुण राखेर संरक्षण गर्नुपर्ने हुन्छ ।’

उनले भवनको क्षतिको अवस्थाको मूल्याङ्कन गर्नुपर्ने र त्यसैलाई पूर्ण रुपमा भत्काएर पुनर्निर्माण गरिनुपर्छ भन्ने औचित्य पुष्टि भएमा त्यस्ता भवनहरुको पुनर्निर्माण गर्ने बताए । उनले भने, ‘हैन भने त्यसको रेट्रोफिट गरेर त्यसको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्ने हाम्रो कर्तव्य हो ।’

उनले काठमाडौं उपत्यकामा भएका विभिन्न राणाकालीन सभ्यता, कला र वास्तुकला र प्रविधिलाई प्रतिनिधित्व गर्ने सो भवनको क्षतिको विवरण अनुसार मर्मत वा पुनर्निर्माण गर्नुपर्ने बताए ।

संसद भवनभित्र पुराना फर्निचरको गोदाम

सिंहदरबार हाताभित्र रहेको नेपालको पहिलो संसद भवनको गरिमा बोकेको यो भवनको छानामा अहिले प्लाष्टिक ओड्याएर राखिएको छ । २०७१ सालमा काठमाडौँमा भएको १८ औं सार्क शिखर सम्मेलनका क्रममा विदेशी पाहुनालाई स्वागत गर्नका लागि ग्यालेरी बैठक कक्षको मर्मत संभार गर्नुका साथै रङ्गरोगन समेत गरिएको थियो ।

ग्यालेरी बैठक कक्षमा अहिले संघीय संसद सचिवालयले पुराना काम लाग्ने तथा नलाग्ने फर्निचर थुपारेर राखेको छ । बैठक कक्षभित्र टेबल कुर्सी दराज लगायतका फर्निचरको गोदाम छ भने भित्तामा पूर्व राजपरिवारले जंगलमा शिकार खेलेको आकर्षक तस्बिरहरु झुण्डिरहेको छ । आकर्षक वास्तुकलाका साथमा पुराना कलाकृतिहरु रहेको यो भवन बाहिर कतै कतै चर्किएको छ । संरक्षणको अभावमा यो भवन अहिले परेवा तथा मुसाको गुँडको रुपमा परिणत भएको देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप