भू–क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने नेपालको प्रस्ताव
काठमाडौं– नेपालले भू–क्षय विश्वकै चुनौतीका रुपमा अगाडि देखिएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय सम्मनेलनमा राखेको छ । भारतको नयाँदिल्लीमा भएको ‘संयुक्त राष्ट्रसङ्घीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलन’मा नेपालका तर्फबाट सो प्रस्ताव गरिएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू–क्षयका कारण वातावरणीय दुष्प्रभाव बढ्नुका साथै खेतीयोग्य जमीन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न विश्वव्यापीरूपमा संयुक्त पहल हुनुपर्नेमा जोड दिए । उनले भूमियोग्य जमीनको ह्रासका कारण उत्पन्न वातावरणीय चुनौतीले संसारका करोडौँ मानिसको जीविकामाथि गम्भीर चुनौती खडा भएको र कृषियोग्य जमीनसँगै उत्पादकत्वसमेत घट्नु विश्वका लागि चिन्ताको विषय भएको उल्लेख गरेका थिए ।
सम्मेलनबाट भूमि संरक्षण गरी उत्पादकत्व बढाउन तथा विश्वलाई मरुभूमिकरणबाट जोगाउन सामूहिकरूपमा दीर्घकालीन लक्ष्य र योजनाहरुको घोषणा गर्नुपर्ने मन्त्री बस्नेतले विचार व्यक्त गरेका थिए । नेपाल जमीनको क्षयीकरण रोक्न प्रयासरत रहेको र त्यसका लागि ठोस योजनाका साथ अघि बढेको जानकारी गराउँदै उनले सरकारले चालू आर्थिक वर्षलाई वृक्षरोपण वर्ष घोषणा गरेको तथा राष्ट्रपति–चुरे तराई मधेस संरक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गरेका थिए ।
यस्तै नेपालले समुदायमा आधारित वन व्यवस्थापनमा विश्वमै नमूनायोग्य काम गरेको चर्चा गर्दै उनले वन क्षेत्रबाट उत्पादित लाभहरुको समुचित वितरणमा ध्यान दिइएको, भू–क्षयको चुनौती सामना गर्न माटो र पानीको स्रोत संरक्षण, वन र दिगो भूमि व्यवस्थापन, वातावरण संरक्षण तथा मौसम परिवर्तनसम्बन्धी नीति, ऐन र नियमहरु बनाएर लागू गरेको जानकारी सम्मेलनमा गराएका थिए ।
यही सेप्टेम्बर २ मा शुरु भएर १३ तारिखसम्म चल्ने बैठकको उच्चस्तरीय सत्रमा मन्त्री बस्नेत नेपाली टोलीको नेतृत्व गर्दै सहभागी भएका हुन् । सम्मेलनमा नेपालसहित विश्वका ८९ मुलुकका वन तथा वातारणमन्त्री तथा केही मुलुकका राष्ट्र र सरकार प्रमुखसमेत सहभागी छन् । सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । नेपाल सन् १९९७ मा ‘संयुक्त राष्ट्रसङ्घीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्र’ को सदस्य भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण