आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

संघीय र प्रदेशका उपसभामुखको काठमाडौं भेला : हामी पनि सभामुख भन्दा कम छैनौँ

बुधबार, ०८ असोज २०७६, १५ : ५४
बुधबार, ०८ असोज २०७६

काठमाडौं–संघीय संसदकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले आम नेपाली महिलाले भोगेका समस्या जस्तै महिला उपसभामुख पनि पितृसत्तात्मक सोचको शिकार भएको बताएकी छिन् । 

संघीय र प्रादेशिक संसदका उपसभामुखले मंगलबार काठमाडौंमा गरेको बैठकबारे जानकारी दिन बुधबार संघीय संसद सचिवालय सिंहदरबारमा गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो अनुभव सुनाएकी हुन् । 
उनले उपसभामुखले सधैँ उपसभामुममा चित्त बुझाएर बस्ने नभइ सिर्जनात्मक काम गर्दै ‘हामी सभामुख उन्मुख छौँ’ भनेर सन्देश दिनुपर्ने बताइन् ।

 उनले महिलाले सधैँ ‘उप’ पदमा मात्र खुम्चिएर बस्ने नभइ कार्यकारी पदका लागि पनि प्रतिस्पर्धा गरेर जानुपर्ने बताउँदै आरक्षण सधैँका नहुने भएका कारण महिलालाई सक्षम बनाउन आफूले सहायक पदमा रहेका महिलाहरुलाई आग्रह गर्ने गरेको उनले बताइन् । 

उनले भनिन्, ‘उपको लक्ष्य उपसभामुखमा मात्र हुनुहुँदैन, यसमै बसेर मात्र चित्त बुझाउनु हुँदैन, हामी सभामुख उन्मुख छौँ भन्ने संकेत  दिनुपर्छ । प्रत्येक महिला पुरुष क्षमता अनुसार प्रतिस्पर्धामा उत्रिनुपर्छ भनेका छौँ । प्रतिस्पर्धामा जानुपर्छ, उपसभामुख चुप लागेर बस्नुहुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’

संघीय संसद र प्रदेशसभाको सञ्चालनको अनुभव, समस्या आदिबारे छलफलका लागि मंगलबार उपसभामुखहरुको बैठक राखिएको तुम्बाहाम्फेले जानकारी दिइन् । 

छलफलमा संघीय संसद र प्रदेश सभाको अनुभव आदानप्रदान गरेको, प्रदेश सभामा अनुभव गरेको समस्यालाई संघीय संसदले कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताइन् । 

संविधानले सभामुख पुरुष र उपसभामुख महिला हुने व्यवस्था नगरेपनि व्यवहारमा भने महिला भएकोले सवै प्रदेशका उपसभामुखलाई कसरी सशक्तिकरण गर्ने भन्नेबारेमा  छलफल भएको जानकारी गराइन् । 
उनले संसदमा बिताएको डेढ बर्षको समयमा हाँसिल गरेको अनुभवलाई संग्रह गरेर आगामी पुस्ताका लागि हुनेगरी पुस्तक प्रकाशन गर्न लागेको पनि उनले बताइन् । 

यस्तै राष्ट्रियसभा अध्यक्ष शशीकला दाहालले महिला सांसदहरुको समाचार मिडियामा कम प्राथमिकतामा पर्ने गरेको र राष्ट्रियसभाको समाचार पनि कम आउने गरेकोले त्यसमा ध्यान दिन पत्रकारहरुलाई आग्रह गरिन् । 


यस्तो छ प्रदेशका उपसभामुखहरुको अनुभव 
बैठकमा सहभागी ३ वटा प्रदेशका उपसभामुख मध्य सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशीले उपसभामुखको भेलालाई आन्दोलनको रुपमा नबुझ्न आग्रह गरिन् । उनले सभामुखविरुद्ध भेला भएको नभइ सभामुखलाई सहयोग पुगोस् भनेर भेला गरेको बताइन् । 

पहिले संघमा एकजना मात्र उपसभामुख रहने गरेकोमा अहिले प्रदेशमा पनि उपसभामुखहरु रहेकोले उपसभामुखहरु मिलेर केही गरौँ भनेर भेला भएको उनको भनाइ थियो । 

उनले कतिपयले ‘उप’ पद भनेर सानो मान्ने गरेको भएपनि आफूलाई आफ्नो भूमिकाप्रति गर्व लागेको बताइन् । 

उनले आफ्नो प्रदेशमा ५३ जना सांसदमध्ये १८ जना महिला रहेको, ७ प्रदेशमन्त्री मध्ये २ जना महिला मन्त्री रहेको र ४ वटा संसदीय समितिमा २ समितिमा महिला सभापति रहेको बताउँदै महिला सहभागिता गराउने विषयमा आफ्नो प्रदेश अगाडि रहेको बताइन् । उनले सुदूरपश्चिम प्रदेशले ३१ वटा कानून बनाएको पनि जानकारी दिइन् ।

यस्तै प्रदेश २ की उपसभामुख उपमा देवले सभामुखसँग छलफल गरेर अघि बढिरहेको बताइन् । उनले अहिलेसम्म एउटा बैठक पनि आफूले सुरु र अन्त्य नगरेको बताउँदै सबै काममा सभामुखले सहयोग गर्ने अनुभव सुनाइन् । 

यता कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तिले आफैले कुर्सीटेवल जम्मा गरेर प्रदेश सभा सुरु गरेको बताउँदै डेढ वर्षको अवधिमा संसदीय अभ्यास, कानून निर्माण प्रक्रियाबारे अगाडि बढेको बताइन् । उनले प्रदेशलाई संविधानले दिएका अधिकार बाहिरका विधेयक संसदमा दर्ता भएको बेला त्यसलाई फिर्ता पठाएको अनुभव पनि सुनाइन् । 

संसद् भवनमा कतिबेला कुन सांसदले नियमापत्ति गर्ने हो त्यसबेलाका लागि संसद सञ्चालन नियमावली हेरेर तत्काल समाधान गर्न सक्ने भएको बताउँदै राजनीतिक पृष्ठभूमिबाट आएकोले निस्पक्ष भूमिका निर्वाह गर्न सचेत भएर अघि बढेको बताइन् । 

उनले कानून बनाउँदा पनि महिलामैत्री छ कि छैन भन्ने कुरा एकिङ गरेर मात्र बिधेयक अघि बढाउने गरेको जानकारी दिँदै संविधानले अनुसूचीमा राखेको अधिकारका आधारमा कानून बनाइरहेको जानकारी दिइन् । 
राष्ट्रिय सभा उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुख र सात वटै प्रदेशका उपसभामुखहरुले यसअघि चन्द्रागिरी, चितवनको सौरहामा भेला गरेर बैठक गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप