शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी मेडिकल कलेज लफडा : प्रशासनले टेरेन विद्यार्थीलाई

शुक्रबार, ०८ कात्तिक २०७६, १९ : २१
शुक्रबार, ०८ कात्तिक २०७६

पोखरा– गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु पुन: आन्दोलनमा उत्रिएका छन् । प्रशासनले विद्यार्थीबाट अवैध रुपमा असुलेको बढी रकम फिर्ता गर्नुपर्ने माग राख्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।  विद्यार्थीहरुले शुक्रबार कलेजको प्रशासन भवन र मेडिकल सुुपरिटेन्डेन्टको कार्यकक्षमा ताला समेत लगाएका छन् । यसअघि गएको चैतमा विद्यार्थीको ५२ दिन लामो आन्दोलनपछि शिक्षा मन्त्रालयले नीजि मेडिकल कलेजलाई विद्यार्थीबाट असुलेको बढी रकम फिर्ता गर्न निर्देशन दिएको थियो ।  तर, नीजि मेडिकल कलेजले अझैसम्म विद्यार्थीबाट असुलेको बढी रकम फिर्ता गरेका छैनन् । रकम फिर्ता गर्नुको साटो प्रशासनले धम्क्याउने, तर्साउने जस्ता काम गरेको विद्यार्थीहरुको आरोप छ ।

प्रशासनले अटेर गरेर रकम फिर्ता नगरेको हुनाले पुनः आन्दोलनमा उत्रिनुपरेको गण्डकी मेडिकल कलेज संघर्ष समितिका उपाध्यक्ष अनित सिन्हाले बताए । विद्यार्थीहरुले  कलेजका अध्यक्षसहित ११ जनाविरुद्ध ठगी मुद्दा समेत दर्ता गरेका थिए । ‘प्रशासनलाई पटक–पटक ताकेता गर्दा पनि रकम फिर्ता पाएनौं । रकम फिर्ता नपाई सकेपछि प्रशासन विरुद्ध ठगि मुद्दा दर्ता गर्न बाध्य भयौं,’ उनले भने । ठगी मुद्दा दर्ता भई सकेपछि कलेजका सिइओ र एक्जाम कन्ट्रोलर जेलमा समेत परेका थिए । कलेजका अध्यक्ष खुमा अर्यालसहित अन्य ९ जनालाई भने पक्राउ पुर्जी जारी भई सकेपछि फरार भएका थिए । पक्राउ परेका दुई जना अहिले धरौटीमा छुटि सकेका छन् ।

शिक्षा मन्त्रालयले १ महिनाभित्रमा विद्यार्थीबाट असुलेको बढी रकम फिर्ता गर्न गण्डकी मेडिकल कलेजसहित अन्य नीजि कलेजलाई निर्देशन दिएको ८ महिना बितिसक्यो । तर, अझैसम्म रकम फिर्ता पाउन नसकेका विद्यार्थीहरुको भनाई छ । आफ्ना मागहरु लिएर शिक्षा मन्त्रालय समेत पुगेको उनले सुनाए । गएको वर्ष चैत ८ गते शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका नीजि कलेजलाई बैठकमा बोलाएको थियो । विद्यार्थी र प्रशासनसहित उक्त बैठक बसेको थियो । 

प्राइभेट मेडिकल एन्ड डेन्टल एसोसियसनका अध्यक्ष बसुरिद्धिन अन्सारी, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसहित बसेको बैठकले १ महिना भित्रमा विद्यार्थीबाट अवैध रुपमा असुलेको बढी रकम फिर्ता गर्ने सहमति गरेको थियो । गण्डकी मेडिकल कलेजसहित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका नीजि कलेजले विद्यार्थीबाट असुलेको बढी रकम फिर्ता गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको थियो । तर, शिक्षा मन्त्रालयले निर्देशन दिएको ८ महिना बितिसक्दा पनि आफूहरुले पैसा नपाएको उनले गुनासो गरे । ‘त्यही कारण हामी पुन आन्दोलन सुरु गर्न बाध्य भयौं,’ उनले भने । 

अहिले विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् । चितवन मेडिकल कलेज र नेशनल मेडिकल कलेज सहितको चिकित्सा शिक्षा संघर्ष समिति आन्दोलनमा उत्रिएको उनले सुनाए । माग पुरा नभएसम्म आफूहरुको संघर्ष जारी राख्ने उनले बताए । एमबिबिएस पहिलो र दोस्रो वर्षको परिक्षा नजिकिइरहेको छ । परिक्षाको फाराम भर्ने म्याद सकिइसकेको छ । तर, विद्यार्थीहरुले परीक्षाको फारम समेत भरेका छैनन् । यतिबेला परिक्षा दिने मनस्थितिमा नरहेको विद्यार्थीहरुको भनाई छ । 

कलेजका अध्यक्ष खुमा अर्यालसँग टेलिफोन सम्पर्क गर्दा सरकारले भनेको मान्ने तर, शिक्षा मन्त्री को हो नचिन्ने भन्दै बेवास्ता गरेको उनले बताइन् । आन्दोलनमा सरिक चिकित्सा शिक्षा समितिका अध्यक्ष डाक्टर मिलन गैरेले जस्तोसुकै परिस्थितिमा पनि विद्यार्थीहरुको शुल्क फिर्ता गराई छाड्ने प्रतिक्रिया दिए ।

विद्यार्थीहरुलाई सहज रुपम शिक्षाका लागि आफूहरुले ८ बुँदे माग राखेको उनले सुनाए । ‘८ बुँदे मागमा नेपाल सरकारका सरकारी कलेजहरुले जुन १० प्रतिशत छात्रवृति दिइरहेको छ । यसलाई ७५ प्रतिशत कायम राख्नुपर्छ भनेर लडेका थियौं, जुन यसै वर्षदेखि लागू पनि भइसकेको छ ।’ उनले अघि थपे, ‘अर्को कुरा एकिकृत एक्जाम गरिनुपर्छ । र, मेन इस्यु भनेको अतिरिक्त शुल्क जुन अहिले लिइरहेको छ । त्यसको विरुद्धमा चिकित्सा शिक्षा समिति बनाएर लडिरहेका छौं ।’ 

अतिरिक्त शुल्क फिर्ता गर्न नीजि कलेजले अझै पनि मनोमानि गरिरहेको उनले सुनाए । केही हदसम्म पहिलो र दोस्रो वर्षका विद्यार्थीहरुको शुल्क समायोजन गर्ने कुरा भए पनि तेस्रो र चौथों वर्षका विद्यार्थीहरुको पैसा फिर्ता नगरेको उनले बताए । 

विद्यार्थीले पैसा फिर्ता गर्नुपर्यो भन्दा कलेज प्रशासनले विद्यार्थी कुटपिट गर्ने, दमन गर्ने गरेको भन्दै उनले कडा आलोचना गरे । ‘यो संघर्ष यि सबै विसंगति विरुद्धको लडाई हो । हामी सबै विद्यार्थी एकजुट भएर लडि रहेका छौं,’ उनले भने, ‘जबसम्म कलेजले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता गर्दैन, हाम्रो लडाई चलिरहन्छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप