आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इस्लामिक विद्रोही संगठन आईएसका नेता अल–बग्दादी मारिए

आइतबार, १० कात्तिक २०७६, १२ : ४९
आइतबार, १० कात्तिक २०७६

एजेन्सी । इस्लामिक स्टेटका प्रमुख नेता अबु अबर अल–बग्दादी सैन्य आक्रमणमा मारिएको अमेरिकाको मिडियाले बताएका छन् । 

शनिबार सिरियाको उत्तर–पश्चिम भागमा संचालन भएको सैन्य कारबाहीमा वग्दादीको मृत्यु भएको सीएनएनले लेखेको छ । 

सीएनएनले एक वरिष्ठ अमेरिकी सैन्य अधिकारी र सैन्य कारबाहीबारे जानकार स्रोतले यो घटनाबारे जानकारी दिएको लेखेको छ ।  

सुरक्षा अधिकारीका अनुसार सैन्य कारबाहीको क्रममा अमेरिकी सुरक्षाकर्मी र बग्दादीबीच जम्काभेट भएको थियो । त्यसपछि लगतै बग्दादीले आफूले लगाइरहेको आत्मघाती बम विस्फोट गरेका थिए । 

सैन्य कारबाही अमेरिकी सेनाको स्पेशल अपरेसन कमाण्डोले सञ्चालन गरेको थियो । सुरक्षा अधिकारीका अनुसार अल–बग्दादी लुकेको स्थान सीआईएले पहिचान गरेको थियो ।  

बग्दादीको मृत्यु भएको हुन सक्ने समाचार पहिलो पटक न्युजवीकले ब्रेक गरेको थियो । 

अमेरिकी अधिकारीहरु अहिले डीएनए परिक्षणमार्फत शव अल–बग्दादीकै हो होइन पुष्टि गर्न लागेका छन् ।  

इस्लामिक उग्रवादी संगठन आईएसका नेता अल–बग्दादी विगत पाँच वर्षदेखि भूमिगत छन् । यसअघि पनि बग्दादीको मृत्युको हल्ला चलेपछि अप्रिलमा आईएसको मिडिया शाखाले बग्दादीको एक भिडियो सार्वजनिक गरेको थियो। 

अप्रिलको भिडियो सन् २०१४ जुलाईपछि सार्वजनिक दोस्रो भिडियो थियो ।  

अबु बकर अल–बग्दादी सन् २०१० मा इस्लामिक स्टेट अफ इराक(आईएसआई)को नेता बनेका थिए । पछि आईएसआईले सिरियाको एक सैन्य समूहलाई समाहित गरेर समूहको नाम इस्लामिक स्टेट अफ इराक एण्ड लेभान्त(आईएसआईएस) पुनरनामाकरण गरेका थिए । 

शनिबार साँझ ट्रम्पले एक ट्वीट गर्दै लेखेका थिए, ‘भर्खरै एक ठूलो घटना भएको छ।’ मिडियाहरुमा बग्दादीको मृत्युको खबर सार्वजनिक भएपछि ट्रम्पको ट्वीटमा यही घटनालाई भन्न खोजेको अनुमान गरिएको छ । 
अमेरिकाको राष्ट्रपति कार्यालयले आइतबार पत्रकार सम्मलेन बोलाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप