मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

के चीनमा सीले माओ र देङ सीयाओ पिङलाई उछिनेकै हुन् ? सरकारले जारी गर्‍यो नयाँ निर्देशन

शुक्रबार, १५ कात्तिक २०७६, ०० : १४
शुक्रबार, १५ कात्तिक २०७६

एजेन्सी- चिनियाँ सरकारले आफ्ना नागरिकहरूको लागि नैतिकतासम्बन्धी नयाँ दिशानिर्देश जारी गरेको छ। राष्टपति सी जिन पिङको वैचारिक धरातलका आधारमा चिनियाँ सरकारले केही दिनअघि यस्तो निर्देशन जारी गरेको हो । सरकारको यो निर्देशनले मानिसहरूलाई आदर्श नागरिक बन्न के गर्नुपर्दछ भनेर वर्णन गरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। 

चिनियाँ सरकारले जनताका लागि जारी गरेको नैतिक निर्देशनमा नागरिकहरूले बच्चाहरूलाई हुर्काउन, सार्वजनिक बिदा मनाउनदेखि लुगा लगाउने तरिकाहरू समेत सिकाएको छ । सरकारले जारी गरेको निर्देशनमा नयाँ युगमा नैतिकतालाई आत्मसात गर्न नागरिकहरूले इमान्दार र नम्र हुनुपर्नेमा जोड दिइएको छ ।

निर्देशनमा के खाने, के खेल्ने वा विदेश भ्रमण गर्दा देशको सम्मान कायम गर्न र इज्जत राख्न शिष्ट व्यवहार अप्नाउन भनिएको छ । सरकारले जारी गरेका यी नयाँ निर्देशनहरूले राष्ट्रपति सी जिन पिङका सिद्धान्तहरूको प्रभाव झल्काएको सञ्चारमाध्यामहरुले जनाएका छन् । 

त्यस्तै सरकारले जारी गरेको निर्देशनमा मानिसहरूलाई चिनियाँ भावना, चिनियाँ मूल्य र चिनियाँ शक्तिको प्रचार गर्न भनिएको छ। नागरिकहरूलाई केही काम गर्दा सोचेर मात्र गर्न निर्देशन दिँदै कम्युनिष्ट पार्टीका निर्देशक सिद्धान्तहरू अध्ययन गर्न समेत सरकारले आग्रह गरेको छ। 

चीनमा विशेषगरी राष्टपति सीले प्रतिपादन गरेको चिनियाँ प्रकृतिको समाजवादी दृष्टिकोण अनुसारको विचारलाई सन् २०१७ जुनमा त्यहाँको संविधानमा समावेश गरिएको थियो। विज्ञहरूका अनुसार २००१ मा त्यहाँका संस्थापक नेता माओत्सेतुंगदेखि देङ सिआयो पिङको विचारधारामा आधारित भएर जारी गाइडलाइन अहिले हटाइएको छ। राष्टपति सीले माओ र देङ सिआयो पिङलाई विचारको बहसमा अब उछिनेका छन्  । 

असभ्य ब्यवहार रोक्न कानून लागू गरियो

चीनमा यही मंगलबारदेखि अपमानजनक व्यवहार प्रतिबन्धित कानून लागू गरिएको छ। यस कानुनअन्तर्गत सबवेमा खाना खानेदेखि स्पिकरमा ठूलो-ठूलो स्वरमा संगीत बजाउने लगायतका कुराहरुलाई समेत गलत मानिने गरिन्छ । सरकारले जारी गरेका नियमहरू पालना नगरे जनताले तत्काल जरिवाना तिर्नुपर्ने समेत जनाइएको छ ।

गलत काम गरे कति जरिवाना लाग्छ भन्ने कुरा भने अझै खुलाइएको छैन । तर विज्ञहरुले आधुनिक विश्वमा प्रतिस्पर्धामा ओर्लिएको चीन र त्यहाँका जनताको जीवनशैलीमा यो नियम र निर्देशनले असर पार्न सक्ने दाबी गरेका छन् । Photo: Dainik bhaskar

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप