शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकारका राम्रा काम लिएर चुनावी अभियानमा जानुस्: नेता गौतम

बिहीबार, २१ कात्तिक २०७६, २२ : ४२
बिहीबार, २१ कात्तिक २०७६

भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सरकारले गरेका राम्रा कामलाई लिएर चुनावी अभियानमा जान निर्देशन दिए । 

नेकपा भक्तपुरले आज तौमढीमा आयोजना गरेको कार्यक्रममा उनले तीनवटै तहका सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजाने बेला आएको बताए । उनले चुनावी अभियानलाई तीव्र बनाउन निर्देशन दिए । भक्तपुर क्षेत्र नं १ (क) मा १४ गते हुने उपनिर्वाचनमा पहिलाका भन्दा बढी मत ल्याएर नेकपाको उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउँदै उनले नेकपाको विजयीले सरकार विरोधीलाई जवाफ दिनुपर्ने बताए । 

नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले कहीँ कतै विचलित नभई नेकपा एक ढिक्का भएर अगाडि बढ्दै नेकपाको विजयीलाई विगतमा जस्तै सुनिश्चित गर्नुपर्ने बताइन् । त्यस्तै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा सूर्यलाई अन्य कुनै हत्केलाले छेक्न नसक्ने टिप्पणी गर्दै नेकपाको जीत सुनिश्चित रहेको भनाइ राखे । 

कार्यक्रममा भक्तपुर क्षेत्र नं १ (क) मा नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका देवीप्रसाद ढकाल (डिपी) ले नेकपाको विकास र समृद्धिको अभियान पूरा गर्न उम्मेदवारी दिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप