बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

क्युवामा ४३ वर्षपछि चुनिए प्रधानमन्त्री, फिडेल क्यास्ट्रोले खारेज गरेका थिए पद

आइतबार, ०६ पुस २०७६, ११ : ४१
आइतबार, ०६ पुस २०७६

एजेन्जी । क्युवाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार म्यानिअल मर्रेरो क्रुजलाई देशको प्रधानमन्त्री चुनेका छन् ।

१६ वर्षदेखि देशको पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षको लागि प्रधानमन्त्री हुनेछन् । पर्यटन मन्त्रालय सम्हाल्नुअघि उनी सेनाका कर्णेल थिए ।

क्युवामा ४३ वर्षपछि प्रधानमन्त्रीको पद पुनःस्थापना गरिएको हो । सन् १९५९ मा क्रान्ति सफल भएपछि सन् १९७६ सम्म फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पदमार्फत कार्यकारी अधिकार प्रयोग गरेका थिए ।

पछि राज्य परिषदको राष्ट्रपति पद सिर्जना गरेर प्रधानमन्त्री पद खारेज गरिएको थियो ।

मर्रेरोको चयनलाई क्युवाको नेसनल एसेम्ब्लीका ५९४ डेपुटीले सर्वसम्मतीमा अनुमोदन गरेको थियो ।

शनिबार बसेको वर्षको अन्तिम सेसनमार्फत नेशनल एसेम्ब्लीले प्रधानमन्त्री लगायत उपप्रधानमन्त्री, मन्त्री परिषदका अन्य सदस्य पनि चुनेको थियो ।

क्युवामा अहिले डियाज–कनेल राष्ट्र प्रमुख छन् भने राहुल क्यास्ट्रो सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्ष छन् । धेरैले मुख्य शक्ति पार्टी प्रमुख राहुलको हातमा रहेको विश्वास गर्छन् ।

प्रधानमन्त्रीको कार्यभार स्पष्ट नगरिएको भए पनि उनले क्युवाली सरकारको दैनिक काम व्यवस्थापन गर्ने र राष्ट्रपतिलाई त्यसको जानकारी गराउने अपेक्षा गरिएको छ ।

क्युवाले सन् २०१९ फेब्रुअरीमा जनमतसंग्रह मार्फत नयाँ संविधान अनुमोदन गरेको थियो । नयाँ संविधानले सन् १९७६मा फिडेल क्यास्ट्रोद्वारा लागु भएको सोभियत मोडेलको बडापत्रलाई विस्तापित ग¥यो ।

नयाँ सविधानले नीजि सम्पति र विदेश लगानीलाई संरक्षण गरेको छ र पहिलो पटक राष्ट्रपतिको कार्यकाललाई दूई पटकमा सिमित गरेको छ ।

नयाँ संविधानले कम्युनिष्ट पार्टीलाई क्युवाको एक मात्र राजनीतिक दलको स्वीकृति दिँदै उसले सम्पूर्ण सरकारी नीतिलाई निर्देशित गर्ने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप