शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकारलाई उद्योगीहरुले भने– वातावरण बनाउनुस् हामी लगानी गर्न तयार छौं (भिडियो)

शुक्रबार, ११ पुस २०७६, १३ : ५७
शुक्रबार, ११ पुस २०७६

काठमाडौं । उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बने आफुहरु लगानी बढाउन तयार रहेको बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघले ‘उज्यालो बाग्लुङ, समृद्ध बाग्लुङ’ नारासहित आयोजना गरेको लगानी सम्मेलनमा उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बनेमा आफुहरु लगानी बढाउन तयार रहेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुले रहरले मात्रै लगानी नगर्ने बताउँदै लगानीको प्रतिफलको कुरा आउँदा नीतिगत समस्याहरु देखिने गरेको बताए । उनले बाग्लुङ्मा कृषिसँग सम्बन्धित उद्योगको सम्भावना भएकोले त्यसका लागि लगानीको वातावरण निर्माण गर्न आग्रह गरे ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको क्षेत्रमा पनि बाग्लुङ सम्भावना भएको जिल्ला रहेको बताए । उनले पञ्चकोट र भैरवस्थानमा केबलकार सञ्चालनका लागि उपयुक्त हुने बताए । त्यस्तै उपाध्यक्ष ढकालले व्यवसाय सञ्चालनका लागि लगानीको सुरक्षा र त्यसबाट आउने प्रतिफलको सुनिश्चितता भएमा लगानी स्वतः बढ्ने बताए । 

सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राष्ट्रिय पूँजी निर्माणबाट मात्रै देशको समृद्धि हुने बताए । त्यसका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै लगानीको वातावरण बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले लगानी बढाउनका लागि देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताए ।

सम्मेलनमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङले भाटभटेनीको नयाँ स्टोर बाग्लुङमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले जिल्लामा लगानीको क्षेत्रहरु धेरै रहेको भन्दै ठुला उद्यमीहरु यस क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताए । त्यस्तै उद्योगी व्यवसायीहरुले जलविद्युत, केबलकार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आफुहरु तयार रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप