आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित

शुक्रबार, २४ माघ २०७६, १२ : ४९
शुक्रबार, २४ माघ २०७६

नुवाकोट । बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिए । 

उनको अनुसार बिरामी भएकामध्ये बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ । अहिलेसम्म ५४ को उपचार गरिएको छ । करिब ५० घरधुरी रहेको उक्त गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिए ।

तामाङ समुदायको बाहुल्यता रहेको उक्त गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी भएको हुनसक्ने अनुमान गरिएको छ । जनचेतनाको कमीका कारण उनीहरुको उपचारसहित स्वच्छ पानी पिउन अपिल गरिएको छ भने रोग फैलन नदिन आफूहरु सक्रिय भएर लागिरहेको वडाध्यक्ष पाण्डेले जानकारी दिए । 

गत सोमबारदेखि फैलन शुरु भएको ज्वरोको कारण गाउँनै प्रभावित भएको जानकारी स्थानीय कमलबहादुर तामाङले वडाध्यक्षलाई जानकारी गराएपछि नगर प्रमुख राजेन्द्ररमण खनाल र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालसँगको समन्वयमा स्वास्थ्यकर्मी र औषधिसहितको टोली लिएर वडाध्यक्ष पाण्डेले घरघरमै पुगेर बिरामीको उपचार अघि बढाएका हुन् ।

बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन् । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गराउँदै आएको स्वास्थ्यचौकीका अनमी कमला पाण्डेले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप