शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सोभियत युनियनका कम्युनिस्ट जस्तो नभइयोस् : प्रचण्ड

बिहीबार, ०१ फागुन २०७६, ११ : १८
बिहीबार, ०१ फागुन २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्टहरु तत्कालीन सोभियत युनियनको कम्युनिस्टजस्तो नभइयोस् भन्ने कामना गरेका छन् ।

जनयुद्ध दिवस सुरु भएको दिनको स्मरणमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन सोभियत युनियनका कम्युनिस्टको इतिहासलाई बुझेर उनीहरुका कमी–कमजोरीलाई सच्याउँदै नेपाली कम्युनिस्टहरु मौलिक ढङ्गले अघि बढ्नुपर्ने खाँचो औँल्याए ।

जनवादी क्रान्ति मौलिकतामा सम्पन्न भएको र समाजवादतर्फ पनि मौलिकतामै अघि बढ्ने प्रष्ट पार्दै प्रचण्डले भने, ‘शान्तिपूर्ण, प्रतिश्पर्धात्मक, लोकप्रिय मत ल्याएर शासन सत्तालाई सुशासनमा बदलेर सामाजिक न्याय, विकास निर्माण, समतामुलक समाज निर्माण गर्न मेहनत गरेर समाजवाद बनाउने बाटोतर्फ छौँ ।’

कम्युनिस्टहरु विरोधी पक्षबाट नभई आफ्नै कारणले कमजोर हुने गरेको उनको भनाइ थियो । ‘विरोधीले कहिल्यै पनि हामीलाई पछार्न सकेनन्, आन्दोलन र क्रान्तिमा जहिलेपनि कम्युनिस्टहरु विजयी हुँदै आए,’ प्रचण्डले भने, ‘तर सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको वैचारिक स्खलन, सांस्कृतिक स्खलनको प्रक्रिया बढ्यो, काल त्यही भयो ।’

पहिलो विश्वयुद्धमा एक करोड, दोस्रो विश्वयुद्धमा दुई करोड गरी तीन करोड मान्छे मरेर बनाइएको सोभियत युनियन एउटा गोली पनि नपड्काइकन उल्टिएर गएको इतिहासलाई पनि उनले स्मरण गराए । ‘कम्युनिस्ट नेताहरुमै भएको भ्रष्टिकरण, सत्तामा पुगेपछि सत्ता स्वार्थ भएर, अन्धो भएर, मनोगत रुपमा विश्लेषण गर्ने हुन चाहँदा त्यस्तो दुर्गति व्यहोर्नु प-यो विश्व कम्युनिस्ट आन्दोलनले,’ उनले भने ।

नेपाली कम्युनिस्टले यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । द्वन्द्वात्मक भौतिकवादी कम्युनिस्ट बन्नुपर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप