नौ महिनापछि ताला खुल्यो
जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ । समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषाध्यक्ष राजेशकुमार चौधरीले कार्यालय प्रमुख दिनेश भुजेलसहित कर्मचारी, विभिन्न खेलकूद सङ्घका पदाधिकारी र खेलाडीको उपस्थितिमा हिजो साँझ ताला खोलेका हुन् ।
ताला खुलेपछि आजबाट कार्यालय सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताए । अध्यक्षमा अमर खवासको मनोनयनसँगै अध्यक्ष वा कोषाध्यक्षमध्ये कसको नाममा खाता सञ्चालन गर्ने विषयमा समितिमा विवाद भएपछि उपाध्यक्ष बर्माको नेतृत्वमा कोषाध्यक्ष चौधरीसहित सदस्यले गत जेठ ७ गते कार्यालय प्रमुख भुजेलको कार्यकक्षमा तालाबन्दी गरेका थिए । अध्यक्ष खवास र कार्यालय प्रमुख भुजेलबाहेक अन्य सबै पदाधिकारी, सदस्य, कोषाध्यक्ष चौधरीको नाममा खाता खोल्नुपर्ने पक्षमा छन् ।
ताला खोलेलगत्तै कोषाध्यक्ष चौधरीले एक विज्ञप्ति जारी गरी आफूहरुले राख्दै आएको तीन बुँदे माग सात दिनभित्र सम्बोधन नभए थप सशक्त कार्यक्रम गर्ने चेतावनी दिएका छन् । अध्यक्ष खवासबाहेक समितिका अन्य पदाधिकारीले आर्थिक वर्ष २०७२/७३ देखिको आयव्ययको हिसाब, कोषाध्यक्षको नाममा खाता सञ्चालन र कार्यालय प्रमुखको सरुवाको माग राख्दै आएका छन् ।
अध्यक्ष खवासले आफ्नो नाममा खाता सञ्चालन नभए आर्थिक कारोवारको जिम्मेवारी लिन नसक्ने र कार्यादेश दिन नसक्ने बताउँदै आएका छन् । समितिमा सचिवसमेत रहने कार्यालय प्रमुख भुजेलले अध्यक्षको कार्यादेशबिना आर्थिक कारोवार गर्न नसकिने भन्दै कोषाध्यक्षको नाममा खाता खोल्न असमर्थता जनाउँदै आएका छन् । खेलकूद नियमावलीमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रावधान छ ।
कार्यालय प्रमुख भुजेलले आफू दुई वर्षअघि प्रमुख भएर आएकाले त्यसअघिको लेखा परीक्षण भइसकेको हिसाबबारे चार वर्षदेखि समितिमा रहनुभएका पदाधिकारी नै जिम्मेवार हुनुपर्ने बताए ।
समितिका पदाधिकारीले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको केही दिनपछि कर्मचारीले समेत समितिको कोठामा ताला लगाएका थिए । तालाबन्दीका कारण विगत नौ महिनादेखि खेलकूद गतिविधि पूर्ण प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण