बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको महामारीमा क्यूबाको प्रशंसा किन ?

आइतबार, १४ वैशाख २०७७, १२ : ५३
आइतबार, १४ वैशाख २०७७

क्यूबाले शनिबार दक्षिण अफ्रिकामा २ सय १६ स्वास्थ्यकर्मी पठाएको छ । कोरोनाभाइरसको महामारीमा मद्दत गर्नका लागि क्यूबाले संसारभरी थप २० मेडिकल दल पठाएको छ । कतिले यसलाई समाजवादी एकताको रुपमा हेरिरहेका छन् भने कतिले मेडिकल डिप्लोमेसी नाम दिइरहेका छन् ।

बामपन्थी शासन–व्यवस्था भएको क्यूबाले बेहाल अफ्रिकी र क्यारेबियन देशमा करिब १२ सय स्वास्थ्यकर्मी पठाएका छन् । यहाँसम्म कि क्यूबाले युरोपको धनी देश इटलीमा पनि आफ्ना स्वास्थ्यकर्मी पठाएको थियो । अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनले संसारभरीका देशलाई क्यूबाका स्वास्थ्यकर्मीलाई स्विकार नगर्न आग्रह गरेको थियो ।

यद्यपि, क्यूबाले जुन देशमा आफ्ना स्वास्थ्यकर्मीलाई पठाएको छ, त्यहाँ उनीहरुको स्वागत भइरहेको छ । क्यूबामा कोरोनभाइरसका कूल १३ सय ३७ संक्रमित भेटिएका छन् । हालसम्म यहाँ ५१ जनाको मृत्यु भएको छ । क्यूबामा प्रति व्यक्ति डाक्टरको उपलब्धता सबैभन्दा धेरै छ । क्यूबाको हेल्थकेयर सिस्टम महामारीसँग जुध्न उत्कृष्ट भएको भन्दै संसारभरी तारिफ हुने गर्दछ ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मखिजले भने, ‘क्यूबाको सबैभन्दा राम्रो कुरा के हो भने यहाँ सामुदायिक स्वास्थ्य सेवा छ । हामी यो अवधारणा रुचाउँछौं । ’

दक्षिण अफ्रिकामा कोरोनाभाइरसका ४ हजार ३ सय ६१ संक्रमित भेटिएका छन् र यहाँ हालसम्म ८६ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाको क्यूबासँग विशेष सम्बन्ध छ । क्यूबाका सैनिकले दक्षिणी एंगोलामा लडाईं लडेका थिए र नेल्सन मण्डेलालाई जेलमुक्त गर्न सहयोग गरेको थियो । नेल्सन मण्डेलाले रिहा भएपछि फिडेल क्यास्ट्रोलाई धन्यवाद दिएका थिए ।  

क्यूबाको मेडिकल डिप्लोमेसीः

क्यूबाले दुई हप्ताभित्र १९ देशमा आफ्नो मेडिकल दल पठाएको छ । अमेरिकाको प्रतिबन्धपश्चात् पनि क्यूबा अहिले पनि कोभिड–१९ विरुद्धको लडाईंमा महत्वपूर्ण भूमिका निभाइरहेको छ । क्यूबाले इटली, एन्डोरा, अंगोला, जमैका, मेक्सिको र भेनेजुएलासमेत १९ देशमा आफ्नो नयाँ मेडिकल टीम पठाएको छ जसमा ९ सय डाक्टर र नर्स समावेश छन् ।

यसबाहेक अर्जेन्टिना र स्पेनजस्ता देशको अनुरोधमा अझै कदम उठाउन बाँकी नै छ । क्यूबाको मेडिकल समूहले यसअघि पनि थुप्रै आपतकालीन स्थितीमा मानिसहरुको ज्यान बचाएको छ । यसअघि श्रीलङ्कामा सन् २००४ मा आएको सुनामी, पाकिस्तानमा सन् २००५ मा आएको भूकम्प र सन् २००६ मा इन्डोनेशियामा आएको भूकम्पका बेल क्यूबाले यी देशको भरपुर सहयोग गरेको थियो ।

सन् २००६ मा इन्डोनेशिया गएका टीमका सदस्य डाक्टर ओस्कर पतोलले आफ्नो अभियानबारे रोयटर्ससँग भनेका थिए, ‘आज ज्वालामुखी, भोलि कुनै भूकम्प र त्यसपछि बाढीजस्तो स्थितीमा क्यूबा कुनै पनि देशलाई सहयोग गर्न हरदम तयार छ ।’

कोरोनाले नराम्रोसँग प्रभावित गरेको इटलीमा क्यूबाले ५२ डाक्टर र नर्स मद्दतका लागि पठाएको छ । मुश्किल स्थितीमा काम गर्ने बानी भएका क्यूबाका डाक्टर र नर्सले इटलीमा पनि बहुमूल्य योगदान दिएको छ । करिब ६० वर्षदेखि क्यूबाले संसारका विभिन्न देशमा आफ्नो डाक्टर र नर्स पठाइरहेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप