शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वामदेवको यात्रा : सांसददेखि प्रधानमन्त्रीसम्म, तर उधारोमा !

शनिबार, २० वैशाख २०७७, २२ : १७
शनिबार, २० वैशाख २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम जतिको भाग्यशाली को होलान् र ? संसदीय चुनाव हारे पनि कहिले ‘सांसद’, कहिले ‘उपप्रधानमन्त्री’ त कहिले ‘प्रधानमन्त्री’ बन्ने गरेका छन्, उधारोमै भए पनि ।

उनलाई पार्टीबाटै बेलाबेलामा यस्ता प्रस्तावहरु आउने गरेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव हारेका उपाध्यक्ष बामदेव गौतमलाई नेकपा गठन भएदेखि नै प्रतिनिधिसभा ल्याउने चर्चा शुरु भएको थियो । कहिले डोल्पाबाट त कहिले पर्साबाट त कहिले काठमाडौँबाट त कहिले कास्कीबाट चुनाव लडाएर संसदको ढोका खोल्ने चर्चा चल्यो । डोल्पाका सांसद धनबहादुर बुढा त राजीनामा दिएर वामदेवका लागि बाटो छाड्न तयार भएका थिए । काठमाडौँ क्षेत्र नम्बर–७ का सांसद रामवीर मानन्धरले त गौतमका लागि राजीनामा नै दिएका थिए । तैपनि उनी सांसद बन्न पाएनन् ।

कस्कीका सांसद रवीन्द्र अधिकारीको निधन भएपछि त्यस ठाउँबाट वामदेव गौतमलाई उठाउने चर्चा चलेपछि बल्ल वामदेव गौतमले मुख खोलेका थिए, आफू संसदको चुनाव नलड्ने । त्यसरी मुख खोल्नुको कारण थियो, पार्टीभित्र हुने सम्भावित अन्तरघात । त्यहाँबाट जित्ने सम्भावना नदेखेपछि उनले आफू हार्नका लागि त्यहाँ चुनाव नलड्ने घोषणा गरेका थिए ।

कास्कीको उपचुनाव सम्पन्न भएपछि वामदेव गौतमलाई सांसद बनाउने चर्चा केही दिनका लागि सेलाएको थियो । तर, गौतमले पार्टीभित्र चलखेल बन्द भने गरेका थिएनन् । त्यहीबीचमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राष्ट्रियसभा सदस्य बनाउने प्रस्ताव सचिवालयको बैठकमा लगे । त्यो प्रस्तावभन्दा एककदम अगाडी बढेर गौतमले भने, ‘यदि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रावधान संविधानमा राख्ने हो भने मात्र राष्ट्रियसभा सदस्य बन्छु, नभए बन्दिनँ ।’

त्यतिबेला संविधान संशोधनको चर्चा पनि चलेको थियो । प्रधानमन्त्री ओलीले त्यसका लागि प्रयास पनि गरे । तर उनले दुई तिहाई पुर्याउन सकेनन् । मधेशवादी दलले वामदेव गौतमका लागि संविधान संशोधन गर्दा आफूहरुको माग पनि त्यसैमा सम्बोधन गरी संविधान संशोधन गर्न प्रस्ताव राखे ।

उता, प्रतिपक्षी दलले एकजनालाई प्रधानमन्त्री बनाउन संविधान संशोधन हुन नदिने अडान लियो । जनस्तरमा ब्यापक आलोचना भयो । उता, प्रधानमन्त्री ओली पनि गौतमलाई राष्ट्रसभामा लान अनिइच्छुक देखिए । यसबीच राजनीतिक खिचातानीमा संविधान संशोधनको कुरा पनि हरायो । र, वामदेव गौतम न राष्ट्रियसभाको सदस्य हुन पाए न प्रधानमन्त्री नै । त्यतिबेला विधानमा नै नभएको पार्टीको उपाध्यक्ष बन्न भने सफल भए ।

जब प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाहै नगरी दलबदल सम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याए, पार्टीभित्र असन्तुष्टि जन्मियो र फेरि सुरु भयो वामदेव गौतम प्रधानमन्त्री बन्ने चर्चा । वैशाख १७ गते बसेको सचिवालको बैठकमा प्रधानमन्त्री अ‍ोलीले गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरे ।

राष्ट्रियसभाको सदस्य बनाउने र संविधान संशोधन गरेर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीले स्वयम् गरेका थिए । तर पछि त्यही संविधान संशोधनको लफडाले राष्ट्रियसभा सदस्य बनाएर प्रधानमन्त्री होइन, उपप्रधानमन्त्री नै बनाउने प्रधानमन्त्री अ‍ोलीले आज प्रचण्ड समक्ष प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओली र प्रचण्डबीच आज भएको वान टु वान संवादमा गौतमलाई प्रधानमन्त्री बनाउँदा संविधान संशोधनको लफडा आउने भएकाले राष्ट्रियसभा सदस्यमा मनोनित गरेर अहिलेको वर्तमान सरकारमा उपप्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । त्यसमा अध्यक्ष प्रचण्डले पनि सहमति जनाएका थिए तर यो प्रस्ताव वामदेव गौतमले स्वीकार गरेनन् ।

उनले प्रधानमन्त्री ओलीलाई सिधै भने, ‘मलाई प्रधानमन्त्री बनाउने हो भने तपाईंहरु अगाडि बढ्नुस् नत्र यो उपप्रधानमन्त्री र मन्त्री बनाउने कुरामा समय खेर नफाल्नुस् । म उपप्रधानमन्त्री बन्दिन् ।’

त्यसपछि मात्र वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याएर प्रधानमन्त्री बनाउने प्रस्ताव बैठकमा आयो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने, ‘वामदेव गौतम प्रतिनिधिसभामा आएपछि प्रधानमन्त्री बन्ने बाटो खुल्ला हुन्छ ।’

नेकपाबाट गौतमका लागि प्रतिनिधिसभाको कुनै सीट खाली गराएर चुनाव गराउने र गौतमलाई त्यहाँबाट जिताएर प्रधानमन्त्री बनाउने प्रधानमन्त्री अ‍ोलीको प्रस्ताव थियो । यो प्रस्ताव पहिला पनि नआएको होइन तर त्यो सम्भव भएन अहिले पनि त्यही कुरा दोहरिएका छ ।

यो प्रकृयाबाट पनि गौतम प्रधानमन्त्री बन्न चुनौति धेरै । संविधान संशोधन गरेर प्रधानमन्त्री बन्नु भन्दा कडा चुनौती चुनाव जितेर प्रधानमन्त्री बन्नेमा रहेको छ । यसअघि, पनि पार्टीभित्रकै गुटबन्दीका कारण चुनाव हारेका गौतमका लागि फेरि चुनाव जित्नु त्यति सजिलो छैन । पार्टीमा उनी शक्तिशाली भएपनि जनतामा उनको छवी राम्रो छैन ।

गौतम फेरि पनि प्रस्तावमा मात्र सांसद र प्रधानमन्त्री बन्नमा सिमित त रहँदैनन्, जिज्ञासा सबैतिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप