सङ्कटका बेला सामाजिक कार्यमा युवाको सक्रियता
कैलाली । कोभिड-१९ का कारण अस्तव्यस्त दैनिकी र सङ्कटपूर्ण समयमा सामाजिक कार्यमा युवाको सक्रियता निकै बढेको देखिन्छ । कैलाली जिल्लाका विभिन्न स्थानमा युवाले समूह बनाएर सामाजिक कार्यमा सक्रियता देखाइरहेका हुन् । यस क्रममा युवाले कतै क्वारेन्टिनमा रहेकालाई खाजा खुवाउँदै छन् त कतै क्वारेन्टिन व्यवस्थापनको सबै जिम्मा नै युवाले लिएका छन् भने क्वारेन्टिनस्थलमै मनोपरामर्श पनि युवाले दिइरहेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी क्लबमा आबद्ध युवा नगरभित्र रहेका विभिन्न क्वारेन्टिनमा खाजा खुवाउने कार्यमा निकै मेहनतका साथ लागिरहेका छन् । नगरपालिकाले क्वारेन्टिनमा बसेकालाई खाजा, खाना खुवाउन छोडेपछि क्वारेन्टिनमा बसेकाबाट गुनासो आउन थालेका कारण सबैभन्दा पहिले घोडाघोडी क्लबका पूर्वखेलाडी राजेश हमालको पहलमा खाजा खुवाउने कार्यलाई तीव्रता दिइएको क्लबका अध्यक्ष अर्जुन भट्टले जानकारी दिए ।
‘शुरुमा हामीले विद्यालयमा बनाइएका क्वारेन्टिनमा रहेका दाजुभाइ दिदीबहिनीलाई खाजा खुवायौँ । त्यसपछि हामीले सकेसम्म सहयोगी हातहरू खोजेर हरेक क्वारेन्टिनमा खाजाको व्यवस्था गरिरहेका छौँ’ क्लबका उपाध्यक्ष होम तामाङले भने । कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित तीनवटा विद्यालयमा सञ्चालित क्वारेन्टिनमा हरेक दिन बिहान युवाकै सक्रियतामा योग प्रशिक्षण र व्ययामका अन्य कार्यक्रम हुन्छ । ‘भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दा उनीहरुलाई मानसिक तनावको समस्याले नसताओस् भन्ने सोचका साथ सम्भव भएसम्म राम्रो गर्ने प्रयास गरेका छौँ’ वडामा युवाको नेतृत्व गरिरहनुभएका मिलन ओलीले भने ।
गौरीगङ्गा नगरपालिका–९ कि सीता भण्डारी मनोविमर्शकर्ता रहेकी छिन् । उनी विगत लामो समयदेखि काठमाडौँलाई आफ्नो कार्य क्षेत्र बनाएर यस क्षेत्रमा लागिरहेकी छिन् । तर लकडाउनले गर्दा घरमै रहेकी भण्डारी क्वारेन्टिनमा रहँदा मानिसमा मानसिक तनाव बढ्दै गएको, पारिवारिक चिन्ताले गर्दा समस्या थपिँदै गएको र यस्ता किसिमका चिन्ताले अपराध गर्न मनोभाव बढ्न सक्ने अवस्था रहेको भन्दै स्थानीयस्तरमा सञ्चालनमा रहेका क्वारेन्टिनस्थलमै पुगेर मनोपरामर्श दिइरहेकी छिन् । विपत्का बेला आफ्नो ठाउँमा आफूमा भएको सीप प्रयोग गरेर सहयोग गर्नु सबैको कर्तव्य भएको हुनाले आफ्नो कर्तव्य पूरा गरेको भण्डारीको भनाइ छ ।
कोरोना महामारीको अवस्थामा युवाको सक्रियतामा सामाजिक कार्य हुनु सुखद भएको गौरीगङ्गा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले बताइन् । सङ्कटमा सरकार त आफ्नै ढङ्गबाट लागिरहेको हुन्छ नै तर युवाले पनि हातमा हात मिलाएर अघि बढ्दा समाजमा झनै सकारात्मक सन्देश जाने उपप्रमुख चौधरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण