शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालमा नयाँ विवादः तत्कालिन जनमुक्ति पार्टीले बुझायो मागपत्र

शुक्रबार, ०५ असार २०७७, ११ : ०९
शुक्रबार, ०५ असार २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टीले आधिकारिकता नपाउँदै एकपछि अर्को विवादमा फसिरहेको छ । शुरुवातमै देखिएको नेतृत्व चयनको विवाद अझै साम्य भएको छैन । पार्टी दर्ताका लागि निर्वाचन आयोगनमा निवेदन दिँदा निवेदनसँगै बुझाएको ५१ सदस्यीय कार्यसमितिको सूचीबारे पनि पार्टीेिभत्र असन्तुष्टि बढेको छ । नेताहरुले असन्तुष्टि व्यक्त गर्दै छुट्टा छुट्टै भेला समेत गरेका छन् ।

यी विवादका बीच तत्कालिन राजपा नेपालसँग एकीकरण गरेको जनमुक्ति पार्टीका नेताहरुले पनि असन्तुष्टि जाहेर गरेका छन् । जनमुक्ति पार्टीले एक वर्षअघि एकीकरण गरी राजपा नेपालमा समाहित भएको थियो । एकीकरणपछि साविक पार्टीमा जुन नेताको जे पोजिसन थिए, सोही पोजिसनमा राजपा नेपालमा राखिएको थियो । तत्कालिन जनमुक्ति पार्टीका सह–अध्यक्ष मानध्वज ब्लोनलाई राजपा नेपालको अध्यक्षमण्डलमा राख्ने सहमति भएको थियो । त्यो मात्र पुरा हुन सकेको थिएन । त्यसका लागि प्रयास जारी नै रहेको थियो । यही बीचमा समाजवादी पार्टीसँग राजपा नेपालले एकीकरण गरेपछि आफूहरुलाई अलपत्र छाडेको तत्कालिन जनमुक्ति पार्टीका सचिव रामचन्द्र आर्यालले आरोप लगाएका छन् ।

एकीकरणपछि राजपा नेपालको सचिव बनेका आर्यालले भने, ‘हामी पार्टी एकीकरण गरी राजपा नेपाल भएका थियौँ । एकीकरणपछि पार्टीको हरेक गतिविधिमा समावेश गराउने, हरेक कुरामा सम्झौता अनुसार पार्टीका नेताहरुलाई समावेश गराउँदै लैजाने कुरा थियो तर समाजवादी पार्टीसँग एकीकरणमा हामीलाई कुनै वास्ता पनि गरिएनन । अहिलेको कार्यसमितिमा हाम्रो तर्फबाट एकजना मान्छे समेत राखिएन ।’

तत्कालिन जनमुक्ति पार्टी नेपालका नेताहरुले विभिन्न माग राखेर शीर्ष नेतालाई पत्र नै बुझाएका छन् । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु अनिलकुमार झा र राजकिशोर यादवलाई छुट्टा छुट्टै भेटेर उनीहरुले सो मागपत्र बुझाएका छन् ।

जवाफमा शीर्ष नेताहरु उनीहरुलाई पनि एकता प्रक्रियामा समावेश गराउने आश्वासन दिएका छन् । ‘अहिले पार्टी दर्ता भएको छैन । पार्टी दर्ता भएर व्यवस्थित भएपछि जनमुक्तिबाट आएका नेताहरुलाई कहाँ समावेशी गराउन सकिन्छ, छलफल गरेर अघि बढ्नेछौँ भन्दै वहाँहरुले प्रतिबद्धता जनाउनु भएको छ । तर मलाई विश्वास भने लागेको छैन,’ सचिव आर्यालले भने ।

भुगोल र कलस्टरका आधारमा सबै पदाधिकारीहरुलाई नयाँ कार्यसमितिमा समावेश गराउनुपर्ने, पार्टी समायोजनका लागि बनाएको कार्यदलमा तीनजनालाई समावेश गर्नुपर्ने, एकीकरण (राजपा र जनमुक्ति) गर्ने बेला भएको सबै सम्झौताहरु कार्यान्वयन हुनुपर्ने लगायतका माग ती नेताहरुले राखेका छन् ।

जनमुक्ति पार्टीले जसपा नेपालका नेता महेन्द्रराय यादव मार्फत् राजपा नेपालसँग एकीकरण गरेको थियो । अहिले ती पार्टीका नेताहरुले महेन्द्रराय यादवसँग गुनासो गर्दा ‘यो सबै महन्थ ठाकुर र राजेन्द्र महतोले गरेको, सच्याउने उनीहरु नै हुन्’ भन्दै आफूले केही गर्न नसक्ने जवाफ दिएको नेता आर्यालले बताए ।

तत्कालिन राजपा नेपालका नेताहरुले आफूहरुलाई राजनीतिक रुपमा अलपत्र पारेको उनले आरोप लगाए । उनले भने, ‘राजपा नेपालसँग एकीकरण गरेर सो पार्टीलाई राष्ट्रिय रुप दिएका थियौँ । आदिवासी जनजातिको पार्टी पनि हो भन्ने बनाएका थियौं , तर अहिले समाजवादी पार्टीसँग एकीकरण गर्दा दुई नम्बर प्रदेशमा मात्र केन्द्रीत गरिएको छ । त्यसमा एकजना पनि पहाडी समुदाय, आदिवासी जनजाति, दलितलाई समावेश गरिएको छैन ।  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट कसैलाई अहिलेको कार्यसमितिमा राखेको छैन ।’

राजपा नेपालको तर्फबाट कार्यसमितिमा एकल जातीय र त्यसमा पनि दुईजना नेताको मात्र वर्चश्व रहेको गुनासो तत्कालिन जनमुक्ति पार्टीका नेताहरुको छ । त्यसो त जनमुक्ति पार्टीमा मात्र होइन, राजपा नेपालमा अध्यक्षमण्डल रहिसकेका राजकिशोर यादव र अनिलकुमार झाका निकट पनि कार्यसमितिमा परेका छैन । कार्यसमितिमा महन्थ ठाकुर निकट नौजना र राजेन्द्र महतो निकट आठजना नेता परेका छन् । शरतसिंह भण्डारी र महेन्द्र राय यादवको दुई–दुईजना मात्र राखिएको छ । उनीहरुले असन्तुष्टि देखाएपछि कार्यसमितिलाई संशोधन गर्ने प्रतिबद्धता नेताहरुले जनाएका छन् तर हालसम्म त्यसको बारेमा कुनै गृहकार्य नभएको पार्टी निकट नेताहरु बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप