सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा चल्यो नगर बस

बिहीबार, ०८ साउन २०७७, १५ : १३
बिहीबार, ०८ साउन २०७७

पोखरा । पोखरा महानगरभित्र सार्वजनिक सवारी चल्न थालेका छन् । लामो समयको लकडाउनपछि बिहीबार सार्वजनिक सवारी चल्न थालेका हुन् । कोरोना संक्रमणबाट जोगिन आवश्यक सुरक्षा सावधानी अपनाएर सवारी चल्न थालेका हुन् । एउटा सिटमा एउटा मात्रै यात्रु राखेर सवारी सञ्चालनमा आएका छन् ।  

१ सय २० दिन लामो लकडाउनपछि सडकमा निस्किदा नौलो लागेको सवारी चालकहरुले बताएका छन् । बिदामा बसेका सहचालक नआएपछि आफैं सहचालक बनेर हिँडेका बागलुङ बसपार्कदेखि बेगनासताल रुटमा चल्ने नगर बसका सवारी धनी शिव सुवेदीले ४ महिनासम्म सुतेर गाडी चढ्न पाउँदा नौलो लागेको बताए । 

‘एकदमै नौलो लागेको छ । ४ महिना सुतेरै बिताइयो, अब गाडी चल्ने भनेपछि ऋण काढेर गाडी मर्मत गरेर चलाएको हो,’ उनले भने, ‘खोजेरै गर्ने हामीसँग त के छ र !’
महामारीबाट बच्न आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गाडीमा गरिएको उनले बताए । सवारी सञ्चालनमा आए पनि यात्रुहरु भने खासै नआएको उनको भनाइ छ । अहिले सरकारले घोषणा गरेको नयाँ नियमअनुसार चल्तीको भाडाभन्दा ५० प्रतिशत बढाएर लिएको उनले सुनाए । यद्यपि, नयाँ भाडादर सरकारले लागू गरे पनि लागू गर्न गाह्रो भएको उनले सुनाए । 

महामारी बढ्ने घट्ने यकिन नभइ सकेको अवस्थामा सबैले आवश्यक सुरक्षा अपनाउनुपर्ने उनले बताए । ‘४ महिनासम्म यत्तिकै बसेर फेरि, काममा फर्किन पाउँदा धेरै खुसी लागेको छ । सहज भएर यसरी नै हिँड्न पाए हुन्थ्यो भन्ने लागेको छ, अब चाही यस्तो नहोस्,’ उनले भने । 

पोखरादेखि नाराययणगढ चल्ने बसका चालक सितबहादुर विश्वकर्माले सुरक्षा सामग्री अपनाएर सवारी चलाउन सुरु गरेको बताए । पोखरादेखि नारायणढ रुटमा सवारी चल्ने भए पनि  अन्तर जिल्ला सार्वजनिक सवारी चल्न रोक लगाएको हुनाले कास्की र तनहूँको सिमाना कोत्रेसम्म आउजाउ गर्न सुरु गरेको उनले बताए । ‘टाढाको दुरिको गाडी हो । तर, अहिले कोत्रेसम्म हिडेंका छौं । कोत्रे पुगेर फर्किने हो,’ उनले भने । 

यसअघि २५ देखि २६ जना बोक्ने गरेकोमा अहिले १५ देखि १६ यात्रु मात्रै बोक्न मिल्ने उनले सुनाए । सवारीमा सामाजिक दुरि कायम गरि यात्रु बोक्दा दुर्इं टिपमा ५ सय रुपैयाँ मात्र उठेको उनले बताए । ‘तेलको पैसा पनि उठेको छैन । अघि जाँदा १८० उठेको थियो । आउँदा १४०, तेलको पैसा पनि उठेको छैन,’ उनले भने । 

पोखरा यातायात प्राइभेट लिमिटेडका अध्यक्ष देउप्रसाद गुरुङले मर्कामा परेरै भए पनि सर्वसाधारणको सुविधाको लागि सवारी सञ्चालनमा ल्याएको बताए । लकडाउनमा नीजि गाडी पास लिएर चले पनि सार्वजनिक सवारी नचल्दा यातायात व्यवसायी मर्कामा परेकोमा उनको गुनासो छ । कम्पनीबाट ३७८ गाडी सञ्चालनमा रहेकोमा ४ महिना लामो बन्दाबन्दीले सवारीहरु जिर्ण बनेको उनले बताए । ‘हिजो जसरी चलेको थियो । त्यो अवस्थामा ल्याउन त धेरै कठिन हुन्छ, हाम्रो कम्पनीमार्फत ५० प्रतिशत स्वरोजगारी छौं, नेपाल सरकारले चलाउन भनि रहँदा सबै गाडी चलाउन सकिन्न केही चलाउन पर्छ भनेर १७५ गाडीको क्यु निकालेको थियौं,’ उनले भने, ‘तर, क्यु निकालेका सबै सवारी पनि चल्न सकेका छैनन् । चालक भाईहरु नहुँदा चल्न नसकेको, उनीहरु बिदामा घर गएका छन्, मोटामोटी हेर्दा ३०÷३५ वटा मात्रै चलेको छ । यो सुरुआत मात्रै हो ।’ 

बजारमा खासै मान्छे ननिस्केने हुँदा व्यवसायीहरु थप मर्कामा पर्ने उनले बताए । स्कुल क्याम्पस सुरुआत नहुञ्जेल सवारी रित्तै हुने उनको भनाई छ । ‘आशा गरौं । राम्रो म्यासेज जाओस् । घाटा नाफा जे सुकै भए पनि जनमानसमा गाडी चलोस् भन्ने म्यासेज जाओस् भनेर सुरु गरेका हौं,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप