बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मिर्गौला दिने सन्तोष राई पनि ‘तस्करी’ आरोपमा पक्राउ

आइतबार, १८ साउन २०७७, १७ : ४१
आइतबार, १८ साउन २०७७

काठमाडौं । ललितपुरका ५३ वर्षीय विष्णुगोपाल बतासले ०७६ जेठमा चितवनमा मिर्गौला प्रत्यारोपण गराए । बतासको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाको तारतम्य मिलाउने डाक्टरसहित १३ जना ‘मिर्गौला तस्कर’को आरोपमा प्रहरीको कस्टडीमा छन् ।  मिर्गौला दिने दाताले भनेजति पैसा नपाएपछि सो प्रकरण प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोमा पुगेको थियो । 

विष्णुगोपाललाई मिर्गौला  दिने खोटाङका सन्तोष राईलाई पनि प्रहरीले पक्रेर मुद्धा चलाएको छ । मिर्गौला  दिएबापत सन्तोषले १ लाख ३३ हजार लिन बाँकी थियो । सो पैसा दिन आलटाल गरेपछि उनले प्रहरी गुहारे ।  राईले दिएको जाहेरीको आधारमा मानव वेचविखन व्यूरोले सो तस्करीबारे अनुसन्धान गरेको थियो । तर, तिनै ‘मिर्गौला दाता’ अहिले तस्करीको आरोपमा प्रहरी कस्टडीमा छन् ।
 
मानव वेचविखन अनुसन्धान व्युरोले ‘मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–०६४’ अनुसार चलाएको सो मुद्धा शीर्षक अहिले परिवर्तन गरिएको छ ।  सरकारी वकिल कार्यालयको निर्णयले मिर्गौला  किनबेचमा संलग्नलाई ‘मानव शरीर अंग प्रत्यारोपण ऐन–०५३’ अनुसार अनुसन्धान गरेर ललितपुर प्रहरीले आईतबार अनुसन्धान प्रतिवेदन बुझाएको छ । 

‘सरकारी वकिल कार्यालयको निर्णयले मुद्धा शीर्षक परिवर्तन गरेर अनुसन्धान प्रतिवेदन बुझाएका छौं’ महानगरीय प्रहरी परिसर लतिलपुरका प्रहरी उपरिक्षक (एसपी) तुलबहादुर कार्कीले भने–‘हामीले १९ जनालाई प्रतिवादी बनाएका छौं ।’  ‘मानव शरीर अंग प्रत्यारोपण ऐन–०५३’ अनुसार अंग किनबेच गर्न पाईँदैन् । तर, राईले ८ लाखमा विष्णुगोपाललाई मिर्गौला  बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

तस्करीमा संलग्न समूहले ललितपुर महानगरपालिका–३ बाट कागजात बनाए । नाता प्रमाणित गर्दा वतासका भाञ्जा रिजनवीर जोशीको विवरण भरे, तर फोटोचाहिँ मिर्गौला  बेच्न चाहने सन्तोषको टाँसेर प्रत्यारोपण गराए । 
 
गुमराहमा वडा अध्यक्ष 

मिर्गौला  तस्करीका लागि ललितपुर–३ बाट नाता प्रमाणित गरेको कागजात तयार गरिएको थियो । नक्कली कागजात बनाएको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनलाई पनि पक्रेको छ । तर, प्रहरीको अनुसन्धानबाट महर्जनले आर्थिक प्रलोभनमा परेर नक्कली नाता प्रमाणित गरेको नदेखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिृकले जानकारी दिए । 

प्रत्यारोपण अघि स्वीकृति समितिले वडा कार्यालयलाई विष्णुगोपाल बतासको नाममा जारी भएको नाता प्रमाणितको आधिकारिकता सोधेको थियो । तर, सो पत्रमा नाताप्रमाणितको फोटोकपी मात्रै संलग्न गरियो ।  त्यसमा चारजनाको नाम र फोटो मिलेको थियो, पाँचौं व्यक्तिको नाम र फोटो फेरिएको थियो । 

‘फोटोकपीमा भएको तस्बिर क्रस भेरिफाई गरेको पाइएन्’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्–‘अध्यक्षले पत्रको जवाफमा सो नाता प्रमाणित आफैंले जारी गरेको प्रत्युत्तर पठाए ।’ त्यसपछि मिर्गौला प्रत्यारोपण गरियो ।  सक्कल कागजात सँग फोटोकपीको क्रस भेरिफाई नगरेको अनुसन्धानबाट खुलेको भन्दै प्रहरीले ‘भुलबस मानवीय त्रुटी भएको’ अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।  तस्करीमा संलग्न आरेपी नोवेल अस्पतालमा कार्यरत डा.राकेश बर्मा पनि प्रहरीको हिरासतमा छन् । उनी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सदस्य हुन् । 

घटना यसरी शुरु भयो 

मिर्गौला फेर्नुपर्ने भएपछि बतासको परिवारमा कसको मिर्गौला लिने भन्नेबारे कुरा हुन्छ । बहिनी नाता पर्ने जमुना राजभण्डारीले सल्लाह दिइन्– ‘आफन्तको किन लिने, किन्न पाईन्छ किनौं ।’  परिवार मिर्गौला किन्न सहमत भए । अनि, जमुनाले भक्तपुरको जगाती बस्ने रेश्मा राईलाई सोधिन्–‘मिर्गौला बेच्ने कोही छ ?’ भोजपुर घर भएकी रेश्माले ओखलढुंगाका एक मजदुर चिनेकी थिइन् । जो, पैसा पाए किड्नी बेच्न चाहन्थे । 

किड्नी बेच्न राजी भएपछि कागजात बनाउने सिलसिलामा जोडिए नेपाल प्रहरीका निलम्बित सई योगेन्द्रराज थपलिया र बहाल असई भिमप्रसाद खनाल । उनीहरु दुवैले मिर्गौला प्रत्यारोपण गरेका छन् ।  मिर्गौला प्रत्यारोपण गरेकाले उनीहरु कस्तो कागजात चाहिन्छ भन्नेबारे जानकार थिए । तस्करीमा संलग्न समूहले ललितपुर महानगरपालिका–३ बाट कागजात बनाए ।

नाता प्रमाणित गर्दा वतासका भाञ्जा रिजनवीर जोशीको विवरण भरे, तर फोटोचाहिँ मृर्गौला बेच्न चाहने तेस्रो व्यक्तिको टाँसे ।  अनि, डा.बर्माको योजनाअनुसार चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज)मा मिर्गौला प्रत्यारोपण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप