बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा निषेधाज्ञासम्बन्धि नयाँ मापदण्ड: २० गतेसम्म खुकुलो

शुक्रबार, १२ भदौ २०७७, १८ : ०५
शुक्रबार, १२ भदौ २०७७

पोखरा । कास्कीमा जारी निषेधाज्ञा भदौ २० गतेसम्मको लागि खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले २० गतेसम्मको लागि निषेधाज्ञा खुकुलो पार्ने निर्णय लिएको हो ।  भदौ १२ गते राती १२ बजे सकिन लागेको निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालयले नयाँ मापदण्ड जारी गरेको छ । नयाँ मापदण्डअनुसार केही सेवा माथिको बन्देज कायमै राखे पनि निषेधाज्ञा खुकुलो पारेको हो ।

नयाँ मापदण्डअनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनहरु चल्न पाउने छैनन् । त्यसैगरी, बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म नीजि सवारी र ट्याक्सी चल्न पाउने छन् । नीजि तथा सार्वजनिक सवारी सञ्चालनको हकमा जोर गतेमा जोर नम्बरका सवारी चल्न पाउने छन् भने बिजोर गतेमा बिजोर नम्बरका नीजि सवारी तथा ट्याक्सी चल्न पाउने छन् । 

विश्वविद्यालय, क्याम्पस, विद्यालय र शैक्षिक संस्थाको हकमा बन्देज कायमै छ । सैलुन, सिनेमा घर, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फिटनेस सेन्टर, ब्युटी पार्लर लगायतका क्षेत्र पनि बन्द हुने छन् । सरकारी तथा गैह्रसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाको हकमा सामाजिक दुरि कायम राख्दै भीडभाड नगरि सेवा दिन छुट दिइएको छ । निर्माण तथा उद्योग र अन्य काम तथा सेवा प्रवाहको लागि सुरक्षाका मापदण्ड अपनाएर सुरक्षित तवरले सञ्चालनमा आउन पाउने छन् । होटल तथा रेष्टुरेन्टले साँझ ६ बजे सम्मको लागि टेक अवे सेवा दिन पाउने छन् । 

राती १२ बजे सकिन लागेको निषेधाज्ञाको अवधि थप नगर्न शुक्रबार पोखरा महानगरले जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको थियो । केही सेवामाथिको बन्देज कायमै राख्न भने पनि महानगरले निषेधाको अवधि नथप्न भनेको थियो ।  पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले निषेधाज्ञा मात्रै समस्याको समाधान नभएको बताउँदै निषेधाज्ञा नथपिने जिकिर गरेका थिए । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले २० गतेसम्म निषेधाज्ञा खुकुलो पारे पनि परिस्थिति हेरेर थप कडाई गर्न सकिने बताए । उनले भदौ ३ गतेदेखि जारी १० दिन लामो निषेधाज्ञा प्रभावकारी देखिएको सुनाए । ‘आजको रिपोर्ट अनुसार केही त्रसित बनाएको छ । त्यो रिपोर्ट पेन्डिङमा पनि हुनसक्छ । तर, निषेधाज्ञा प्रभावकारी नै देखिएको छ,’ उनले भने, ‘निषेधाज्ञामा खासै चहलपहल पनि नभएको हुनाले प्रभावकारी बन्यो । २० गतेपछि अवस्था हेरेर थप कडाई हुन पनि सक्छ ।’

पोखरा महानगरमा पछिल्लो अपडेटअनुसार कूल संक्रमितको संख्या २९५ पुगेको छ । जसमध्ये १८४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । पोखरा महानरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यकाअनुसार पोखरा महानगरका ३३ वडामध्ये वडा नम्बर १६, १७, ५, ८, ९, १९ र २७ मा बढी संक्रमित छ । महानगरले बढी जोखिम देखिएका वडामा सिल गरेर जानको लागि प्रस्ताव समेत गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप