शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साससहित नेपाल पुग्ने आश बोकेका रामसजीवन युएईमै अस्ताए

मङ्गलबार, १६ भदौ २०७७, १९ : ३१
मङ्गलबार, १६ भदौ २०७७

युएई । नेपालमै अन्तिम सास फेर्ने धोको बोकेका रुपन्देहीका राम सजीवन केवट अन्ततः युएईमै अस्ताए। विगत ६ महिनादेखि फक्सोमा क्यान्सर भएर उपचार गराइराखेका केवटले गएराति युएईको अलऐनस्थित तवाम अस्पतालमा अन्तिम सास छोडे। उपचारपछि उनलाई विगत तीन महिनादेखि क्याम्ब्रिज मेडिकल तथा रिहाबेसन सेन्टरमा राखिएको थियो। दुई वर्षपहिले वैदेशिक रोजगारीको सिलसिलामा युएई आइपुगेका केवट युएईको अलऐनमा रहेको मवारिद सर्भिसेस् कम्पनीको (मजरा) मा कृषि कामदारको रुपमा काम गर्थे ।

काम गर्ने क्रममा एक्कासी केवटलाई छाती र ढाड दुख्यो । केही छिनमै रिंगाटा लाग्यो। विस्तारै दुखाई पनि बढ्दै गएपछि उनी अस्पताल गए ।अस्पतालले फोक्सोमा समस्या भएको भन्दै भर्ना गर्यो। चिकित्सकहरुले उनलाई फोक्सोमा क्यान्सर भएको बताए । क्यान्सर शरीरको सबै भागमा फैलिसकेको र पूर्ण निको हुन नसक्ने भएकोले केवटलाई रेखदेख र स्याहारसुसार गर्न ३ महिना पछि रिहाबेसन सेन्टरमा सारिएको थियो । रिहावेसन सेन्टरमा एमबीएम फाउन्डेसनले उनको रेखदेख गरेको थियो । 

६ महिनादेखि थलिएका ४० वर्षीय रामसजीवनको शरीर  दाउरा जस्तै सुकेको थियो ।आवाज पनि राम्रोसँग नबुझिने धोद्रो, बिना अक्सिजनको भरमा सास फेर्दै गरेका रामसजीवनलाई ६ महिनासम्म न आफन्त भेट्न गए । न अन्य नेपाली साथी भाईहरुनै । पहिलोपटक अस्पताल भेट्न पुगेका गैरआवासीय नेपाली संघ एनआरएनए युएईका केन्द्रीय सदस्य राजन अधिकारी र केही नेपालीलाई देख्नासाथ उनले शैयाबाटै भने– ‘मलाई सास छँदै नेपाल जान मन छ।’ तर उनको त्यो इच्छा पुरा हुन सकेन।

गैरआवासीय नेपाली संघ एनआरएनए युएईका केन्द्रीय सदस्य राजन अधिकारीको अगुवाइमा र नेपाली दूतावास युएईको समन्वयमा नेपाल फर्काउने सम्पूर्ण कागजपत्र, हवाई टिकट, मेडिकल रिपोर्ट मिलाइ सक्दा पनि उनी नेपाल फर्कन पाएनन्। गत भदौ २ गते नेपाली लिन आएको नेपाल एयरलाइन्सको जहाज दुबईबाट रित्तै फर्कियो तर रामसजीवन केवटको अन्तिम इच्छा पूरा हुन सकेन।

नेपाली दूतावास, एनआरएनए र केही नेपाली समुदायका प्रतिनिधि मिलेर केवट काम गर्ने कम्पनी र नेपाल एयरलाइन्ससँग समन्वय गर्दै दोस्रोपटक गत सोमवार नेपाल एयरलाइन्सको चार्टड उडानमार्फत नेपाल पठाउने तयारी भयो। तर दोस्रोपटक पनि केवट उड्न पाएनन् । जहिलेसम्म समय थियो, तबसम्म घर फर्कने जहाज पाइएन। जब जहाज पाइयो, तब रामसजीवनलाई ज्यानले नै साथ दिएन । सोमबार बिहान जहाज दुबईबाट उड्यो । साससहित नेपाल पुग्ने आश बोकेका केवटको सपना जहाज नेपाल नटेक्दै, अन्ततः उनले युएईमै अन्तिम सास फेरे।

कमाउने सपना बोकेर विदेशिएका रामसजीवनको आशा र इच्छा अपूरो, अधुरो रह्यो । उनको अन्तिम र एउटै इच्छा थियो, परिवारको काखमा अन्तिम सास फेर्ने । तर  सरकारको अव्यवहारिक निर्णयले उनको सपना  बालुवामा पानी भयो। चिकित्सकले पनि उनलाई धेरै समय बचाउ नसकिने बताएका थिए । ‘परिवारको मायाले जति बचाउन सक्छ, त्यसभन्दा अरु उपाय छैन’  एक चिकित्सकले भनेका थिए ।

रातोपाटीसँग कुरा गर्दै गैरआवासीय नेपाली संघ एनआरएनए युएईका केन्द्रीय सदस्य राजन अधिकारी भन्छन्, ‘रामसजीवनको इच्छा पूरा गर्न नसकेकोमा निकै दुःख लागेको छ। उनको अन्तिम इच्छा पुरा गर्न खोज्दाखोज्दै ठुलो संकट आइलाग्यो । काम गर्दै जाँदा भगवानले पनि साथ दिएनन् । अधिकारीकाअनुसार अब छिट्टै कानुनी प्रक्रिया पुरा गरेर केवटको शव नेपाल पठाउने बताए । ४० वर्षीय रामसजीवनको परिवारमा ५ छोरी र एक छोरा छन् । छोराले राम्रोसँग बुवाको अनुहार पनि देख्न पाएका छैनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप