शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विशाल ग्रुपको बचाउ नगर्ने महासंघको संकेत

मङ्गलबार, २७ असोज २०७७, १९ : २२
मङ्गलबार, २७ असोज २०७७

काठमाडौं । विशाल ग्रुपमाथिको कारबाहीमा नेपाल उद्योग वाणिज्य महासंघले बचाउ नगर्ने संकेत देखाएको छ । अखाद्य वस्तु र निर्माण सामाग्री बेचेको र म्याद गुज्रिएका सामानमा रि–लेभलिङ गरेर बजारमा पठाएको पुष्टि भएको भन्दै विशाल ग्रुपमाथि कारबाहीका लागि दवाव पर्दै गएको अवस्थामा महासंघले यस्तो संकेत गरेको हो । 

मंगलबार महासंघले विज्ञप्ति जारी गर्दै आफ्ना सबै सदस्य उद्योगी व्यवसायीलाई आचारसंहितामा रहन निर्देशन दिएको छ । कोभिड–१९ महामारीको कठिन घडीमा कम गुणस्तरीय सामान बिक्री भएको, उपभोग्य मिति गुज्रेका सामानको बिक्री भएको, म्याद गुज्रेका वस्तु पुनः उपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्र्याइ सामान बजारमा बिक्री गरेको लगायत कानुन विपरितका काम  भएको गुनासो आएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।  

महासंघले कहिल्यै र कतैबाट पनि जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही र खेलवाड गर्ने छुट नभएको चेतावनी समेत दिएको छ । त्यस्तो गर्ने फर्म कानूनबमोजिम कारबाहीको भागिदार हुनुपर्ने भन्दै कानून विपरितका कार्य नगर्न सबै सदस्यहरुमा आग्रह समेत गरेको छ । महासंघले आफ्ना जिल्ला÷नगर उद्योग वाणिज्य संघमार्फत मुलुकभरका उद्यमी व्यवसायीमा व्यवसायिक आचारसंहिताको पूर्णपालना गरी व्यवसाय गर्न आव्हान समेत गरेको छ ।

अहिलेको महामारीका कारण नेपाल पछिल्लो समय निकै प्रभावित बन्दै गएको र कोरोना संक्रमितको संख्या तिव्ररूपमा बढ्दै गएको अवस्थामा नागरिकको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको र अर्थतन्त्रमा गम्भीर असर परिरहेको महासंघले जनाएको छ । 

मुलुक इतिहासकै सबैभन्दा गम्भीर संकटतर्फ उन्मुख रहेको निष्कर्ष निकाल्दै महासंघले यो अवस्थामा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र बाँच्न पाउने अधिकारको रक्षानै सबैभन्दा पहिलो प्राथमिकता रहेको स्पष्ठ पारेको छ । महासंघले चाडपर्व लक्षित अनुगमन भन्दा वर्षैभरि अनुगमनलाई निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्यलाई पनि एकसाथ लैजाने संरचना निर्माण गर्न माग समेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप