बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय
संग्रौलाका दृष्टिमा दशैँ

नेपाली कम्निस्टहरु सत्तासुखको वेदीमा आफ्ना यावत् संकल्प र वाचालाई बलि चढाउँछन्

दशैँ ‘राष्ट्रिय पर्व’ हो भने नेपालका विभिन्न जाति–समुदायमा मानिने पर्वहरुचाहिँ कम राष्ट्रिय वा अराष्ट्रिय हुन् ? : खगेन्द्र संग्रौला
शुक्रबार, ०७ कात्तिक २०७७, ०४ : ११
शुक्रबार, ०७ कात्तिक २०७७

तपाईं दशैं कसरी मनाउनुहुन्छ ? यसपटकको दशैं मनाउने सन्दर्भमा तपाईंले कुनै विशेष तयारी र योजना बनाउनु भएको छ कि ?

म दशैँ मनाउँदिन । पारिवारिक र लोकदृष्टिमा असामाजिक नदेखिन केवल केही औपचारिकता निर्वाह गर्छु । यो असहमत सनातनसँग गरिने एक प्रकारको लाचार सम्झौता हो । गृहस्थ जीवनको पन्छाउनै नसकिने कठोर बाध्यता ।

दशैँमा नित्य दिनचर्या सिवाय मेरो कहिल्यै केही योजना हुँदैन । केही पढ्नु, केही लेख्छु भन्नु र प्रायः नलेख्नु, एकाधवटा कूलवन्धु र मित्रमिलन गर्नु, यदाकदा एक्लो र निख्लो अनुभूति गर्नु— बस् । यसपाला कोरोना महामारीग्रस्त याम छ । हरेक मानिस भयको अजङ्गको पर्वत बोकेर हिँडिरहेछ । हरेक मानिसका दृष्टिमा हरेक मानिस कोरोनावाहक हल्कारातुल्य छ । यस्तोमा दशैँको के विशेष तयारी र योजना हुनु ? एक्लोपना र दिक्दारीको अनुभूति गर्न मलाई कुनै योजना चाहिँदैन ।

हरेक मानिसका दृष्टिमा हरेक मानिस कोरोनावाहक हल्कारातुल्य छ । यस्तोमा दशैँको के विशेष तयारी र योजना हुनु ?

राज्यले दशैंलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको छ । एउटा खास जाति, धर्ममा आधारित चाडबाडलाई बहुधर्मसंस्कृति भएको मुलुकमा राज्यले यसरी राष्ट्रिय चाडको रुपमा मनाउनु पुरानै संस्कारसंस्कृतिको निरन्तरता हो, त्यो फरक धर्मसंस्कृतिमाथि राज्यले लादेको उत्पीडनको निरन्तरता नै हो भन्ने एकथरीको मत छ । यसबारे तपाईको भनाइ के हो ?

यो ‘राष्ट्रिय’  भन्ने संज्ञा नै विभेद र उत्पीडनको प्रतीक हो । दशैँ ‘राष्ट्रिय पर्व’ हो भने छठ के हो ? होली के हो ? इद के हो ? क्रिश्मस के हो ? उँभौली–उँधौली के हो ? अनेक लोसार के हुन् ? के नेपालका विभिन्न जाति–समुदायमा मानिने यी पर्वहरुचाहिँ कम राष्ट्रिय वा अराष्ट्रिय हुन् ? यो ‘राष्ट्रिय’ भन्ने अलङ्कार शासक जातीय श्रेष्ठता र अहङ्कारको द्योतक हो । यो अन्य पर्वहरुलाई कमसल, हेय, तुच्छ वा त्याज्यको कोटिमा राख्न वर्चस्वशाली जातद्वारा संगीनको बलले बलात् थोपरिएको मान्यता हो । यो मान्यता विद्वेषकारी, विभेदकारी, उत्पीडनकारी र विभाजनकारी तसर्थ सर्वथा अस्वीकार्य छ ।

कम्युष्निट सिद्धान्त र संस्कृतिको आलोकमा धार्मिक उत्सव चाडपर्वहरुलाई कसरी लिइनुपर्छ ? हिजो दशैतिहार जस्ता चाडवाडहरु नमनाउने कम्युनिष्ट सिद्धान्तका पक्षधरहरुले गणतन्त्र आएपछि यस्ता चाडबाडलाई मज्जाले मनाएको देखिन्छ । यसलाई कुन रुपमा लिनुपर्ला ?

नेपाली कम्निस्टहरु प्रतिपक्षमा, सडकमा वा विद्रोहमा छँदा सनातनी रुढिग्रस्त र विभेदकारी संस्कार र संस्कृतिमा प्रगतिशील परिवर्तन, परिमार्जन र रुपान्तरण गर्ने कुरा गर्छन् । र, परिवर्तनका सुन्दर सपना र नाराको जलप लगाएर सनातनी परम्परा र संस्कृतिद्वारा उत्पीडित लोकका दृष्टिमा सुन्दर छविको निर्माण गर्छन् । त्यो छलकारी छविलाई भर्‍याङ बनाएर जब सत्तारोहण गर्छन्, तिनले सत्तासुखको वेदीमा आफ्ना यावत् संकल्प र वाचालाई बलि चढाउँछन् । सधैँ देखिएको यस्तै छ ।

चलिआएका चाडपर्व र संस्कारहरुलाई प्रगतिशीलताका नाममा निषेध गर्न वा निमिट्याम्म पार्न सकिन्न । केवल परिवर्तनकामी चेतनाद्वारा निर्मित जनसम्मतिको सहाराले चाडपर्व र संस्कारहरुलाई शनैःशनैः अन्धविश्वासमुक्त, मानवीय, तडकभडक र दम्भरहित एवं कम खर्चिला र कम बोझिला बनाउने यत्न गर्न सकिन्छ । तर नेपाली कम्निस्टहरु जब सत्तामा उक्लिन्छन्, मानौँ आर्यघाटसम्म त्यही थोत्रो र सढेको सत्तामा लिप्त भइरहन ती स्वयंको पुरोहित्याइँकरणमा लिप्त हुन्छन् ।

चलिआएका चाडपर्व र संस्कारहरुलाई प्रगतिशीलताका नाममा निषेध गर्न वा निमिट्याम्म पार्न सकिन्न । केवल परिवर्तनकामी चेतनाद्वारा निर्मित जनसम्मतिको सहाराले चाडपर्व र संस्कारहरुलाई शनैःशनैः अन्धविश्वासमुक्त, मानवीय, तडकभडक र दम्भरहित एवं कम खर्चिला र कम बोझिला बनाउने यत्न गर्न सकिन्छ । तर नेपाली कम्निस्टहरु जब सत्तामा उक्लिन्छन्, मानौँ आर्यघाटसम्म त्यही थोत्रो र सढेको सत्तामा लिप्त भइरहन ती स्वयंको पुरोहित्याइँकरणमा लिप्त हुन्छन् । आजसम्मको कुरुप इतिहास यसै त भन्छ ।

अहिले कोरोनाको संत्रासमय वातवारणमा हुने खानेहुँदा खानेहरुले मनाउन गइरहेको दशैंका सन्दर्भमा समानता र भिन्नताहरु के के हुन् ?

कोरोनाको संत्रासमय वातावरणको यो दशैँमा हुनेखाने र हुँदाखानेमा सतहमा एउटा कुरा समान छ । त्यो हो, कोरोनाद्वारा सिर्जित त्रास । तर यही त्रासमय समानताभित्र पनि ठूलो असमानता छ । हुनेखानेहरु संक्रमित भए अस्पतालमा अक्सिजन, आइसीयू र भेन्टिलेटर उपभोग गर्नसक्ने तिनको औकात छ । हुँदा खानेहरुको त्यो औकात छैन । हुँदा खानेहरु संक्रमित भए क्रूर ओलीतन्त्रमा ती अस्पतालको मुख देख्न नपाई सडकमै मर्न अभिशप्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप