शरणार्थीको नियति भोग्दै वीर अस्पताल नर्सिङ क्याम्पस
आफ्नै थातथलोबाट ‘लखेटिएर’ अन्यत्रै शरण लिन बाध्य हुनुपरेको स्थितिलाई के भनिन्छ ? शरणार्थी ?! यतिखेर वीर अस्पताल नर्सिङ क्याम्पसले शायद त्यही शरणार्थीको नियति भोग्दैछ ।
२०७२ सालको महाभूकम्पमा परेर भोटाहिटीस्थिति वीर अस्पताल नर्सिङ क्याम्पसको भवन भत्किएपछि केही समय सोही स्थानमा क्याम्पसको पठनपाठन सुचारु गरिएको थियो । त्यसको केही समयपछि उक्त क्याम्पसलाई गौशालाको एउटा भाडाको घरमा स्थानान्तरण गरियो । धार्मिक पर्यटनका कारण अत्यन्तै भीडभाडयुक्त उक्त स्थान पठनपाठनको दृष्टिकोणले त उपयुक्त छैन नै, क्याम्पस बसेको घरको छतमा बाँदर आएर हल्लाउँदा पनि भूकम्प आएकै अनुभूति दिने त्यहाँ अध्ययनरत केही विद्यार्थीहरु बताउँछन् । अध्ययन–अध्यापनका लागि आधारभूत भौतिक सुविधा समेत नरहेकै कारण क्याम्पसका कतिपय कार्यक्रमहरु सञ्चालन हुन नसकेको तथा क्याम्पसका नाममा आएका कतिपय सहयोगहरु अन्यत्रै गएको पनि बुझिएको छ ।
वीर अस्पताल नर्सिङ क्याम्पसको नाममै रहेकाे बुझिएको सो साविकको जग्गा र स्थानमा अहिले भव्य भवन ठडिइसकेको छ । तर सो स्थानमा नर्सिङ क्याम्पसलाई पुनर्स्थापन गर्ने कुनै सुरसार छैन । अहिले क्याम्पसको भवन रहेको स्थानमा वीर अस्पतालकै केही युनिटलाई स्थानान्तरण गर्ने र आगामी फागुन ५ गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यसमाथि थप, वीर अस्पताल र वीर अस्पताल नर्सिङ क्याम्पसको समेत माउ संस्था रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) को कार्यालयलाई समेत सोही ठाउँमा सार्ने तयारी भइरहेको बुझिएको छ ।
आ–आफ्नै ऐतिहासिक महत्व र हैसियत रहेका एउटै प्रतिष्ठानअन्तर्गतका दुई भिन्न संस्थाहरु मध्ये कसैलाई काखा र कसैलाई पाखा गरिँदा पनि नर्सिङ क्याम्पसको पक्षमा बोलिदिने कोही छैन । छ न त नर्सिङ एशोसिएसन अफ नेपाल जस्ता भव्य नामधारी संस्था पनि छ, तर उसको चासो र चिन्तामा यो विषय पर्न सकेको छैन । डाक्टरहरुको स्वार्थसँग जोडिएको विषय भएको भए अहिले वीर अस्पतालमा आन्दोलन र हड्तालको मौसम शुरु भइसकेको हुन्थ्यो । तर प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र आइसक्दा पनि मुलुककै सबैभन्दा निरिह र दमित अवस्थामा नर्सहरु नै रहँदै आइरहेका छन् । डाक्टरहरुको नजरमा पनि उनीहरुको समस्या चिकित्सा क्षेत्रसँग सम्बन्धित समस्या हो भनेर कहिल्यै दरिँदैन । त्यसैले त अब्बल नर्सहरुको उत्पादन गरिने भनेर जनतामा माझ सबैभन्दा भरोसा र आस्थाका केन्द्र रहेको सो स्थलमाथि यत्रो अन्याय र उत्पीडन हुँदा पनि यस सवालमा खासै प्रश्न उठ्न सकिरहेको छैन । यस गम्भीर सवालमा नाम्सका पदाधिकारीहरु पनि मौन नै देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण