शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्री बोरिस जोनसनका पिताले फ्रान्सको नागरिकता लिने

शुक्रबार, १७ पुस २०७७, १४ : ०५
शुक्रबार, १७ पुस २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसना पिताले बेलायतले युरोपेली संघसँग सम्बन्ध तोडिदिएपछि आफूले फ्रान्सको नागरिकताका लागि आवेदन दिने बताएका छन् । 

स्टेनली जोनसनले फ्रान्सको आरटीएल रेडियोसँगको कुराकानीमा आफ्नी आमा फ्रान्समा जन्मिएकोले उनले आफूलाई सधैं एक फ्रान्सेलीको रुपमा हेर्ने गरेको बताए । 

८० वर्षका स्टेनली युरोपेली संसदको कन्जर्भेटिव सदस्य थिए र सन् २०१६ मा भएको ब्रेक्सिट जनमत संग्रहमा उनले युरोपेली संघसँगै रहनका लागि भोट दिएका थिए । 

उनका छोरा बोरिसले संघबाट बाहिर निस्कने अभियानको नेतृत्व गरेका थिए र प्रधानमन्त्रीको रुपमा बेलायतलाई युरोपेली संघबाट बाहिर ल्याए । 

स्टेनली जोनसनले बिहिबार बेलायत युरोपेली संघबाट अलग हुनु केही घण्टा अघि, प्रसारित एक अन्तर्वार्तामा फ्रान्सेली नागरिकता प्राप्त गर्नुको पछाडि कारणहरु बताए । उनले भने, ‘यो फ्रेन्च बन्ने बारे होइन ।’

‘मसँग पहिला जे थियो त्यसलाई पुनः हासिल गर्नेबारे हो ।’

उनका अनुसार उनकी आमाको जन्म फ्रान्समा भएको थियो र एक फ्रेन्च आमाको छोरा भएको नाताले उनी सधैं युरोपेली हुनेछन् । 

स्टेनली जोनसन युरोपेली संसदका लागि सन् १९७९ मा छानिएका थिए । त्यतिबेला पहिलो पटक प्रत्यक्ष निर्वाचन भएको थियो । त्यसपछि उनले युरोपेली कमिशनका लागि काम गरे । 

यसै कारण बोरिस जोनसनको वाल्यकाल केही समय ब्रसेल्समा बित्यो । ब्रेक्जिटको मुद्दाले जोनसन परिवारबीच सहमति बन्न सकेन । 

प्रधानमन्त्रीकी बहिनी पत्रकार रेचल जोनसनले ब्रेक्जिटको विरोधमा सन् २०१७ मा चुनाव अघि कन्जरभेटिव पार्टीलाई छोडेर लिबरल डेमोक्रेट्ससँग मिलेकी थिइन् । 

उनका भाइ तथा कन्जरभेटिव सांसद जो जोनसनले युरोपेली संघसँग निकट सम्बन्धको समर्थन गर्दै सन् २०१८ मा मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप