सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

बुधबार, १४ माघ २०७७, ०० : ०१
बुधबार, १४ माघ २०७७

लन्डन । बेलायतमा कोरोनाका भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  एक लाख नाघेको छ । मंगलबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा थप १६३१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या  एक लाख नाघेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिए अनुसार बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ भने विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बीस हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८९ हजार ७४६ पुगेको छ । पछिल्ला दिनमा बेलायतमा नयाँ संक्रमितको संख्यामा कमी हुँदै गैरहेको छ । तीन हप्ताभन्दा बढी दैनिक ४० हजार भन्दा बढी संक्रमित हुने गरेको बेलायतमा  आज सार्वजनिक संक्रमित संख्या बीस हजारमा झरेको छ ।

संक्रमित संख्या बढेपछि बेलायतका अस्पतालमा भर्ना हुनेको संख्या अत्यधिक रुपमा बढेको छ । हाल यहाँका अस्पतालमा ३७ हजार भन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

६८ लाख भन्दा बढीले लगाए कोरोनाको खोप

बेलायतमा हाल कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ । संक्रमित संख्या र मृतक संख्यामा वृद्धि भएसँगै खोप अभियानलाई प्रथामिकताकासाथ् अघि बढाइएको अधिकारीहरुले बताउँदै आएका छन् । मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कको आधारमा अहिलेसम्म ६८ लाख ५३ हजार ३२७ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । जसमध्ये चार लाख ७२ हजार ४४६ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले  जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप