सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल-बेलायत हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा, अब यसरी गर्न सकिन्छ यात्रा

बिहीबार, १५ माघ २०७७, २३ : २२
बिहीबार, १५ माघ २०७७

लन्डन । नेपाल सरकारले बेलायतबाट नेपाल जाने हवाई उडान प्रतिबन्ध फुकुवा गरेको छ । नेपाली दूतावास लन्डनले आज एक सूचना जारी गर्दै संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुहरुले आवश्यक शर्तहित  उडान गर्न पाउने जनाएको छ ।

नेपाल सरकारले बिहीबार गरेको निर्णयअनुसार तत्कालै लागू हुने गरी ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश, २०७७’ जारी गरेको  छ । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि संयुक्त अधिराज्य लगायतका विभिन्न  मुलुकबाट नेपाल प्रवेश गर्ने  सम्पूर्ण यात्रुहरुलाई  उडानमा प्रतिबन्ध  लगाइएको थियो  ।

बाबुआमाको काजक्रिया, परिवारका सदस्यको औषधोपचार लगायतका अति जरुरी कारणले नेपाल जानुपर्ने भएकाहरुको लागि भने दूतावासले सिफारिशपत्र बनाइदिएर जान सक्ने प्रबन्ध मिलाइएको थियो । अबदेखि नेपाल प्रस्थान गर्ने सम्पूर्ण यात्रुले यात्रा गर्नुअघि आफूले यात्रा गर्ने मिति तथा हवाई उडान सम्बन्धी विवरण अनिवार्य रुपमा राजदूतावासको इमेलमा पठाउनुपर्ने र सम्बन्धित देशको स्वीकृति प्राप्त प्रयोगशालामा परीक्षण गरेको ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षण नेगेटिभ रिपोर्ट साथमा राख्नुपर्नेछ ।

विदेशबाट नेपाल आगमन गर्ने यात्रुले यात्रा गर्नुअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वेबसाईटमा रहेको ‘एब्रोड रिटर्नी म्यानेजमेन्ट सिस्टम’ अनलाइन फाराम भरेर  सोको बारकोड प्रिन्ट गरी साथमा राख्नुपर्नेछ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण भएका संयुक्त अधिराज्य लगायतका मुलुकबाट प्रस्थान गर्ने सबै यात्रुले हवाई टिकट खरिद गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा क्वारेन्टिनका लागि अनिवार्य रुपमा बुक गरेको प्रमाण पेश गर्नुपर्ने र सोको खर्च स्वयंले व्यहोर्नुपर्नेछ ।

यसरी होटल क्वारेन्टिनमा बस्ने यात्रुले पाँच दिनपछि आफ्नै खर्चमा कोभिड–१९ परीक्षण गर्दा नतिजा नेगेटिभ आएमा थप पाँच दिन होम क्वारेन्टाइनमा रहने गरी गन्तव्यमा जान सक्ने एवं कोभिड–१९ को परीक्षण नगर्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा अनिवार्य रुपमा रहनुपर्नेछ । गैरआवासीय नेपालीहरु तथा विदेशी नागरिकहरुले अनिवार्य रुपमा नेपाली दूतावासबाट भिसा लिनुपर्नेछ ।

हाल बेलायतमा घोषणा भएको लकडाउनका कारण भिसा लगायतको सुविधाका लागि अर्को व्यवस्था नभएसम्म दूतावासको वेबसाइटमार्फत अनलाइन भिसा आवेदन फाराम भरी सक्कल राहदानी, भिसावापतको शुल्कको लागि पोष्टल अर्डर  एवम् प्रिपेड इन्भेलपसहित राजदूतावासमा पठाउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप