शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा जडीबुटीबाट बनेको औषधिमा विश्वास बढ्दो

आयुर्वेद सेवा लिनेको संख्यामा वृद्धि
आइतबार, १८ माघ २०७७, १० : ३२
आइतबार, १८ माघ २०७७

सुर्खेत । सामान्य रोगका लागि पनि मानिसहरु ‘एलोपेथिक’ औषधिको प्रयोग गर्छन् । पछिल्लो समय आधुनिक औषधिको भरपर्ने हुँदा मान्छेले आयुर्वेदिक औषधिमा विश्वास मान्नै छाडिसकेका थिए । जब, नेपालमा कोरोनाभाईरस (कोभिड–१९)को प्रकोप सुरु भयो, तब आयुर्वेदिक औषधितर्फ एकाएक मान्छेहरु आकर्षित हुन थाले  । 

आजभोलि जडीबुटीबाट बनेको औषधिको विश्वास मान्नेहरुको संख्यामा अत्यधिक वृद्धि भएको पाइन्छ । ‘जडीबुटीबाट बनेको औषधिले शरीरलाई राम्रो गर्ने र अन्य असर पनि खासै नगर्ने भएकाले पनि होला कर्णाली प्रदेशमा आयुर्वेद सेवा लिनेको संख्यामा निकै वृद्धि भईरहेको छ । विगतको तुलनामा आयुर्वेदसम्बन्धी जानकारी तथा सेवा लिनेहरुको संख्यामा वृद्धि भएको प्रदेश आयुर्वेद औषधालयको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्षमा आयुर्वेद सेवा लिनेको संख्यामा निकै वृद्धि भएको  छ । अझ, कोभिड–१९ को प्रकोपसँगै आयुर्वेद सम्बन्धमा नागरिकहरुको आकर्षण बढेको आयुर्वेद चिकित्सकहरु बताउँछन् । कर्णाली जडीबुटीको भण्डार हो । यहाँ जडीबुटीबाटै समृद्धि हासिल गर्न सकिने अवस्था पनि नभएको होइन तर, जडीबुटीको प्रयोग भने गर्न सकिरहेको अवस्था छैन ।

प्रदेश आयुर्वेद औषधालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा २८ हजार ३ सय ५५ जनाले जडीबुटीबाट बनेको औषधिको सेवा लिएका छन् । चालु आर्थिक वर्षको अन्तिमसम्म यो संख्यामा उल्लेख्य मात्रामा वृद्धि हुने देखिन्छ । आर्थिक वर्ष ०७५/०७६ मा २२ हजार ९ सय ९० जनाले आयुर्वेदिक सेवा लिएका थिए । 

आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजाल भन्छन्, ‘पछिल्लो समय ओपिडी सेवा लिनेको संख्यामात्र १७ हजार ९ सय ३६ छ भने १० हजार ४ सय १९ जनाले अन्य सेवाहरु लिएको पाइन्छ ।’

रिजालका अनुसार यो वर्ष विभिन्न्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएका कारण यसको प्रयोगकर्ता अझै बढ्ने देखिन्छ । उनी भन्छन्, ‘नागरिकहरुमा अझ उत्साह थपिएको छ ।’ कोभिडको आतंक, डरत्रासलाई न्यूनिकरण गर्न आयुर्वेदतर्फको जडीबुटीको सेवन गर्ने, योग ध्यान, जीवनशैली परिवर्तन र मनोसामाजिक परामर्श गर्ने काम गरिएको प्रमुख डाक्टर रिजाल बताउँछन् । गत आर्थिक वर्षमा ३ हजार ४७ नागरिकलाई यस प्रकारको काउन्सिलिङ गरिएको छ ।

कोरोनाका बिरामीलाई फाइदा हुने खालका गुर्जो, अमलालगायतका आयुर्वेदिक औषधिहरु निःशुल्क वितरण गर्ने काम भएको औषधालयले जनाएको छ । रिजाल विगतको तुलनामा अहिले आयुर्वेदको सेवा प्रवाह पनि बढेको बताउँछन् । 

कस्ता सेवाहरु पाइन्छ ?

हाल औषधालयले निःशुल्क ओपिडी सेवा, निःशुल्क औषधि वितरण, प्रयोगशाला सेवा, पञ्चकर्म सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा कार्यक्रम, स्तनपायी आमाका लागि निःशुल्क औषधिका रुपमा शतावरी र दशमुलारिष्ठ  वितरण गरिरहेको छ । 
यस्तै स्वास्थ्य जीवन कार्यक्रम, जीवनशैली व्यवस्थापन, जनचेतनामुलक एवम् आयुर्वेद सम्बन्धी, निःशुल्क स्वास्थ्य शिविर तथा विद्यालय आयुर्वेद शिक्षा लगायतका कार्यक्रम पनि सञ्चालन भईरहेका छन् ।

सरकारको उपेक्षा ! 

कालिकोटको पचाल गाउँपालिका–३ का तुलराज कठायत जडीबुटीकै खेती गर्छन् । विगत लामो समयदेखि उनी एउटा जडीबुटी प्रशोधन नामक संस्था स्थापना गरी जडीबुटीकै औषधिको कारोबार गर्छन् । उनी भन्छन्, ‘यो सरकारले आयुर्वेद विज्ञानलाई हेला गरिरहेको छ । जबकि यसबाटै कर्णालीको आर्थिक समृद्धिको बाटो खुल्न सक्छ ।’ 

सरकारले जडीबुटी प्रशोधन र व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

हुन त कर्णालीका सबै क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचमा पनि छैनन् । सो क्षेत्रका नागरिकहरु अझै पनि जडीबुटीको प्रयोगबाटै रोग निको पार्छन् । यद्यपि, सरकारले भने आयुर्वेद क्षेत्रलाई उपेक्षा गरिरहेको कर्णालीका आयुर्वेद चिकित्सकहरु बताउँछन् । 

प्रमुख आयुर्वेद चिकित्सक रिजालका अनुसार अहिले सुर्खेतमा रहेको प्रादेशिक कार्यालयबाहेक अन्य जिल्ला शाखामा व्यवस्थित सेवा छैन । विगतमा जिल्लामा रहेका कार्यालयहरुलाई शाखाका रुपमा परिणत गरिए पनि सेवा प्रवाहमा समस्या रहेको उनको भनाइ छ । प्रदेश सरकारले यसतर्फ ध्यान दिन नसकेको उनले बताए ।

जडीबुटी प्रशोधनको सम्भावना

पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशलाई जडीबुटीको ‘हब’का रुपमा विकास गर्ने गरी योजना निर्माणमा जुटेको बताउँदै आएका थिए । उनले कर्णालीका जिल्लाहरुमा जडीबुटी खेती तथा प्रशोधन केन्द्रमार्फत रोजगारीका अवसर सिर्जना गर्ने आश्वासन दिएका थिए । उनी सरकारबाट बाहिरिए, अवस्था र समस्या ज्युँका त्युँ छ । 

कर्णाली प्रदेश जडीबुटी खेतीका हिसाबले मुलुककै सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो । कर्णालीमा यार्सागुम्बा, जटामसी, टिमुर, कुरिलोसहित बहुमूल्य जडीबुटी खेती गर्न सकिने र त्यसका लागि सरकारले ध्यान दिन नसकेको विज्ञहरु बताउँछन् । यहाँ पाईने बहुमूल्य जडीबुटी संकलन गरी प्रशोधन, एवम् आयुर्वेद औषधि उद्योग स्थापना गरी कर्णालीलाई आर्थिक, सामाजिक तथा स्वास्थ्य सूचकमा बढोत्तरी गर्न सकिने थुप्रै सम्भावना छन् ।

कर्णालीका विभिन्न क्षेत्रमा कार्यरत आयुर्वेदिक चिकित्सकहरुको साझा आवाज छ– प्रदेशमा पाइने जडीबुटीहरुको प्रशोधनमा ध्यान दिनुपर्छ । आयुर्वेदतर्फ नागरिकहरुको आकर्षण बढ्न थालेकाले आयुर्वेदिक औषधि उत्पादनमा सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।

सरकारले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राखेर सहजरुपमा चिकित्सक भेटिने र उपचार पाउने व्यवस्था गर्नुपर्ने विज्ञहरु बताउँछन् । आयुर्वेद चिकित्सकहरु सरकारले आयुर्वेदलाई महत्व नदिएकाले आयुर्वेद उपचार पद्धतिबारे सर्वसाधारणलाई सकारात्मक जानकारी नभएको बताउँछन् । आयुर्वेदको विकास गर्न सरकारले गाउँपालिकादेखि आयुर्वेद चिकित्सकसहितको सेवा दिने व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।

मानिसलाई अझै पनि आयुर्वेद उपचारमा ठूला शल्यक्रिया हुन्छन् भन्ने थाहा नभएकाले आयुर्वेदलाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम ल्याउनुपर्ने आयुर्वेद क्षेत्रका विज्ञ बताउँछन् ।

प्रशोधन प्रस्ताव आह्वानको तयारी थाल्दै प्रदेश सरकार 

यता कर्णाली प्रदेश सरकार भने जडीबुटी तथा जैविक स्रोत प्रशोधन सम्बन्धी प्रस्ताव आह्वानको तयारीमा रहेको बताउँछ । कर्णालीका दशवटै जिल्लामा भएको जडीबुटी तथा जैविक स्रोतको सम्भाव्यताका आधारमा प्रस्ताव आह्वान गर्ने प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्राललयले जनाएको छ ।

प्रत्येक जिल्लामा जडीबुटी प्रशोधन, भण्डारण र बजारीकरण तथा उद्योग प्रवर्द्धनका लागि संघीय सरकारको सशर्त बजेट अन्तर्गत अहिले सबै जिल्लामा १०÷१० लाख रुपैयाँ विनियोजन  गरिएको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले बताए । उनका अनुसार जडीबुटी पकेट क्षेत्रका अधारमा टिमुर, तेजपात, चिराइतोजस्ता जडीबुटीको खेती गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप