शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गायक आनन्द कार्कीको जीवन : अहिले पनि प्रेम प्रस्ताव राख्ने धेरै छन्

कोरियन गीत गाउने नेपालको म पहिलो गायक
शनिबार, २४ माघ २०७७, १० : ४१
शनिबार, २४ माघ २०७७

नेपाली साङ्गीतिक धरातलमा करिब ४ दशक बिताइसकेका गायक आनन्द कार्की अहिले पनि उत्तिकै सक्रिय छन् । प्रत्यक्ष रूपमा धेरैले उनलाई नचिन्न पनि सक्लान् । तर उनले गाएका गीत नसुन्ने र नगुन्गुनाउने बिरलै होलान् । ‘जनम जनम जिउँला सँगै’, ‘लाग्छ मन हेरी रहूँ’, ‘तिम्रो रूपको’, ‘यी हल्लाहरू हुन्’ लगायत उनका कयौँ गीत हिट छन् । ‘जनम जनम जिउँला सँगै’ उनको यो पुराना गीत अहिले टिकटक, सामाजिक सञ्जाल लगायत सबैतिर भाइरल भएको छ । यो गीत केही पहिले उनले एक स्टेज कार्यक्रममा गाएपछि फेरि चर्चामा आएको हो । सोलुखुम्बुमा जन्मिएर भारतमा हुर्किएका उनी २०४२ सालदेखि औपचारिक रूपमा गायनमा होमिएका थिए । 
आधुनिक, भजन, गजल, फिल्म, राष्ट्रिय गीतलगायत करिब ५ हजारभन्दा बढी गीतमा स्वर भरेका उनले ७ वटा भाषाका गीत गाएका छन् । कोरियन गीत गाउने उनी नेपालको पहिलो गायक पनि हुन् । आफ्नो गायनबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउन निरन्तर क्रियाशील वरिष्ठ गायक आनन्द कार्कीका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा । 

मेरो खाना
नेपाली खाना, दालभात, तरकारी, माछामासु सबैथोक मीठो लाग्छ । अन्य भेराइटीको खाना पनि खान्छु । मेरो घाँटीमा समस्या दिने भएकाले गुन्द्रुक, कागती त्यति मनपर्दैन ।
रेस्टुरेन्ट साथीभाइ, परिवार सबैसँग गहिरहेको हुन्छु । चाइनिज, कन्टिनेन्टल, थाई, कोरियन लगायत नयाँ र भेराइटीका खाना फेरेर खानमा रुचि लाग्छ ।

विद्यार्थी हुँदाको समयमा आफै पकाउँथे । विवाहपछि पकाउन छुटेको थियो । अहिले लकडाउन र श्रीमती बिमारी भएकाले फेरि पकाउन थालेको छु । सबै परिकार पकाउन आउँछ ।

मेरो फिट्नेस
फिट्नेसका लागि सजग छु । यही गर्छु भन्ने छैन । कहिले वाक, कहिले योगा । नियमित केही न केही गरिरहेकै हुन्छु । पहिले फिट्नेस क्लब पनि जोइन गरेको थिएँ । हामी गायकले धेरै तौल उठाउन हुँदैन भनेर क्लब छोडिदिएँ ।

मेरो पोसाक
म सुहाउँदो पहिरनमा टिपटप भएर हिँड्न रुचाउने व्यक्ति हो । पहिरन सबै प्रकारको सुहाउँछ भन्छन् अरूले । पार्टी, विशेष कार्यक्रममा सुट, पाइन्ट प्रयोग गर्छु ।
अन्य समय जिन्स पाइन्ट लगायत क्याजुअल ड्रेस पनि लगाउँछु । पछिल्लो समय आफूलाई योङ देखाउन त्यस्तै खालमा पहिरन लगाउने गरेको छु । स्टेज पर्फमेन्सको समय केही लाइट कलरको पहिरन प्रयोग गर्छु । अन्यभन्दा केही फरक पहिरन लगाउन सधैँ मनपर्छ ।

धेरै पहिरन रेडिमेड किन्छु । सुटपाइन्ट भने थाइल्यान्डबाट सिलाउँछु । विज्ञापन, जर्ज लगायतमा सहभागी समयमा पनि पहिरन दिन्छन् । विशेष गरेर पहिरन ब्रान्डेड रोज्छु । विश्वास लाग्छ ।

मेरो अध्ययन
अध्ययन मेरो रुचिको विषय पनि हो । पुस्तक सार्वजनिक हुने धेरै कार्यक्रममा समेत जान्छु । त्यो कार्यक्रममा नयाँ नयाँ पुस्तकसमेत दिन्छन् । ती पढ्छु । युट्युवमा सुन्नसमेत मिल्छ चलेन । त्यो सुन्छु ।
हामी कलाकार हरेक ठाउँमा पुग्नुपर्ने हुन्छ । त्यहाँ विभिन्न प्रश्नको सामना गर्नुपर्छ । त्यसका लागि हरेक ज्ञान हासिल गर्नुपर्छ । त्यो अध्ययनबिना सम्भव छैन ।
पछिल्लो समय कपिल लोहनीको ‘विचार र अनुभूति’ भन्ने पुस्तक पढ्दैछु । पहिले कथामा आधारित पुस्तकहरू धेरै पढँे । अहिले जीवनीमा आधारित पुस्तहरू पढ्न मनपर्छ । किनभने पुस्तकमा मेरो बायोग्राफी पनि समेट्ने बिचार छ ।

मेरो फुर्सद 
पहिले सामाजिक सञ्जाल थिएनन् । केही फुर्सद मिल्थ्यो । अहिले यसले व्यस्त राख्ने गरेको छ । हरेक समय हरेक कुराको अपडेट राख्नुपर्छ ।
मेरो आफ्नै युट्युब च्यानल छ । गीत रेकर्डिङ पनि हुन्छ । बारिहका कार्यक्रम, घरको व्यावस्थापन लगायतले फुर्सदै छैन ।

मेरो घुमफिर
घुमफिरमा धेरै रुचि छ । मेरा फ्यान संसारभरी छन् । उहाँहरूले माया गरेर बोलाउनुहुन्छ । कार्यक्रमको सिलसिलामा देशको धेरै जिल्ला पुगेँ होला । अझै पुग्न बाँकी छन् । 
विदेशमा नेपाली रहेका अधिकांश देश पुगेको छु । अझै धेरै पुग्न बाँकी छन् ।

मेरो खेलकुद
खेलकुदमा धेरै रुचि छ । अहिले खेल्ने भन्दा पनि हेर्ने गर्छु । फुटबल, क्रिकेट धेरै हेर्छु । स्कुल कलेजमा फुटबल, हक्कीहरू खेल्थेँ । खेलबाट विभिन्न पुरस्कारसमेत हात पार्थें ।

मेरो मोबाइल
मसँग अहिले दुईवटा मोबाइल छ । एउटा सामसुङ र अर्काे आइफोन । साथीभाइ सबैसँग कनेक्स हुनदेखि अहिलेको प्रविधिले दिएको युट्युब, ह्वाट्स एप, म्यासेन्र, इमेल, भाइवर, फेसबुक, गीत रेकर्ड गर्न, कार्यक्रममा जाँदा गीतको ट्रयाक बजाउनदेखि फोटो खिच्ने, इडिट गर्नेसम्मका हरेक कुरो अहिले मोबाइलबाटै हुन्छ ।
मोवाइलले काम गर्न छोडेपछि, वा फ्यानले नयाँ दिएपछि फेर्छु ।

मेरो टिभी 
टिभी अक्सर हेर्छु । टिभीमा धेरै हेर्ने समाचार, अन्तर्वार्ताहरू नै हुन् । अहिले धेरै कुरो मोबाइलमै थाहा हुन्छ । सीएनएन, बीबीसी समाचार, फिल्मको अलवा एनिमल प्लानेट, डिस्कभरी लगायत च्यानल हेर्छु । 

मेरो चलचित्र
फिल्महरू मनपर्छ, हेर्छु । घरमा र हलमै गएर पनि हेर्छु । घरमा पूरै फिल्म कम हेर्छु । हलमा भने पूरै अवधि बसेर हेर्ने गरेको छु । हिन्दी, नेपाली लगायत सबै प्रकारका फिल्म मन पर्छन् ।
पछिल्लो समय लडाउनको केही अगाडि हलमै गएर फिल्म हेरेको थिए । नाम भने बिर्सिएँ । मनोरञ्जन, रियल स्टोरीमा आधारित फिल्म मनपर्छ ।

मेरो सपना
धेरै सपना देख्नेमा म पनि पर्छु । हलिउड, बलिउडका गायका जस्तो सम्मान, फ्यान, नाम र इज्जतको सपना देखेको छु । उनीहरूले गरेजस्तो समाजका लागि राम्रो काम गर्ने सपना देख्छु । नेपाली गायकले यस्तो गीत गाउँछन् भनेर विभिन्न देशले भनेको सुन्ने सपना छ । 

मेरो प्रेम 
विसं २०४६ सालमा मेरो विवाह भएको हो । एभरेस्ट होटलमा एक गीत गाउने प्रतिस्पर्धा थियो । त्यो कार्यक्रममा उहाँ जर्ज हुनुहुन्थ्यो । त्यहाँ पहिले पटक भेट भएको थियो ।
त्यतिबेलाको चिनजानमा प्रेम बस्यो । त्यो समय विवाह अगाडि एकअर्काेलाई भेटेर गफगाफ गर्ने, घुमघाम गर्ने चलन थिएन । परिवारको माध्यमबाट विवाहको कुरो अगाडि बढ्यो । विवाहपछि उनीसँगै प्रेम बस्यो । त्यो प्रेम अहिले झन् गाढा भएको छ ।

देशविदेशका कार्यक्रममा समेत धेरै हिँड्ने व्यक्ति म । त्यहाँ प्रेम गर्छु, विवाह गर्छु भनेर धेरै पछिलागे । विवाह भएको थाहा हुँदाहुँदै प्रेम गर्छु भनेर पछिसमेत लाग्छन् । कतिपय त्यस्ता व्यक्तिलाई सम्झाएको छु ।
अहिले पनि प्रेम गर्ने धेरै छन् । स्टेजमा समेत धेरैले प्रेम प्रस्ताव राखे । फ्यानका रूपमा प्रेम गर्नेबाहेकको प्रेम गर्ने अहिले पनि विवाहित, अविवाहित थुप्रै छन् । 


 
मेरो पेसा
गीतसङ्गीत मेरो धर्म, कर्म, पेसा पनि हो । गीतसङ्गीतमा मेरो सानैदेखि रुचि थियो । त्यसैले बच्चैदेखि गाउँथे । गाउने क्रममा एकपछि अर्काे गर्दै चर्चा र सफलता बढ्न थाल्यो । यो पेसा ठीक रहेछ भनेर यसमै होमिएँ ।
मेरो गायन यात्रा स्टेजबाट सुरु भएको थियो । २०३५ तिर स्टेजमा गाउँदा २० रूपैयाँ पाउँथे । २०४२ सालदेखि गीत रेकर्ड गर्ने, टेलिभिजनमा गाउने गर्न थालेँ । २०४३ सालमा पहिलो एल्बम आयो । त्यसपछि फिल्म, स्टेज, एल्बम, रेडियो लगायतमा निरन्तर गायन चलिरह्यो । अहिले पनि चल्दैछ ।

अहिलेसम्म आधुनिक, भजन, फिल्म, गजल, राष्ट्रिय र अन्य भाषाका गरेर करिब ५ हजार बढी सङ्ख्याका गीत गाएँ होला । मैले ७ भाषामा गीत गाएको छु । कोरियन गीत गाउने नेपालको पहिलो गायक मै हँु ।
अहिले मेरो फेरि ‘जनम जनम जिउँला सँगै’ बोलको गीत हिट भएको छ । यो पुरानो गीत एक स्टेज कार्यक्रममा गाएको थिएँ । भाइरल नै भयो । युट्युबमा राखेको यो दैनिक एक लाखभन्दा बढीले हेर्ने गर्छन् । मेरो युट्युब नयाँ थियो । त्यसले राम्रो गर्यो । यसले राम्रो मनछुने गीत दिनसक्यो भने अहिले करियर बनाउन सजिलो रहेछ भनेर बुझ्न सकेँ ।

गीत सङ्गीत सुन्न पनि मनपर्छ । मेरो गुरुले धेरै सुन थोरै गाऊ भन्नुहुन्थ्यो । म सबै प्रकारका गीतसङ्गीत धेरै सुन्छु । 

मेरो राजनीति
मलाई राजनीतिमा कहिल्यै रुचि भएन । किनभने गायन सत्यको काम हो । त्यसमा कहिल्यै झुट छैन । सबैभन्दा उच्च स्थान भनेको गायन हो जस्तो लाग्छ । राजनीति, बिजनेस लगायतका पेसामा कहीँ न कहीँ झुट बोल्नुपर्छ । तर सङ्गीतमा झुट छैन ।

किनभने तपाईंले मलाई गायक भन्नुभयो भने मैले गीत गाउनुपर्यो । त्यो समय मेरो गीतले तपाईंको मन छोयो वा छोएन भने तपाईंले राम्रो वा झुर गायक भनेर प्रतिक्रिया दिनुहुन्छ । गायक भन्ने नाम कुनैमा पनि हट्दैन ।

मेरो भुल
मानिस हुँ जानी नजानी धेरै भुल भए होलान् । भुल गर्नुहुँदैन भन्दाभन्दै पनि भुल हुँदो रहेछ । कतिपय समयमा यो नगरेको भए पनि हुने रहेछ भन्ने लाग्छ । जे भयो भयो त्यसलाई बिर्सिएर, त्योबाट सिक्दै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ । हामीले वर्तमानमा रमाउन सिक्नुपर्छ ।

मेरो मापसे
मापसे कहिल्यै गर्दिनँ । त्यसको स्वाद थाहा नभएको भने होइन । हामीले गला बिग्रिएका बेला कहिलेकाहीँ त्यसलाई तताउन ब्रान्डी लिनुपर्ने हुन्छ । त्यो औषधिका लागि हो । मेरो घरको स्टोरमा पनि रक्सी छ । साथीभाइ आउँदा स्वागत गर्न काम लाग्छ ।
मेरो रोग
भगवान्को कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । अहिले हल्का रूपमा प्रेसर देखिएको छ । श्रीमती बिमारी छिन् । त्यो टेन्सले पनि होला । त्यस्तै डेढ वर्षदेखि यसको नियमित औषधि लिँदैछु । 
मेरो राशि 
मेरो राशि ‘मीन’ हो । ग्रहदशमा पूरै विश्वास लाग्छ । हिन्दु भएको कारणले ग्रहदशा हेराउने, जुराउने, पूजापाठ सबै गर्छु । पूजापाठ, दानधर्मले आत्मसन्तुष्टि दिन्छ ।

मेरो मृत्यु
मृत्यु जीवनको अन्तिम सत्य हो । कसको कहिले हुने हो कसैलाई थाहा हुँदैन । जुन दिन जान लेखेको छ त्यो दिन जसरी पनि जानैपर्छ । मृत्युले उमेर, राम्रो, नराम्रो, गरिब, धनी लगायत केही भन्दैन । मृत्युलाई कसैले छेक्न, रोक्न पनि सक्दैन ।

तस्बिर : सुवास श्रेष्ठ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप