शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

निकारागुवाको चिनान्डेगा शहर ज्वालामुखीको धुलोले ढाकियो

बुधबार, २६ फागुन २०७७, १५ : ०२
बुधबार, २६ फागुन २०७७

मानागुवा । मध्य–अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी बिस्फोट हुँदा चिनान्डेगा शहर र त्यसको आसपासको क्षेत्रको आकाश धुँवा र धुलोले ढाकिएको छ ।  स्थानीय सञ्चार माध्यमका अनुसार मङ्गलबारको उक्त बिस्फोट निकै शक्तिशाली रहेको र आकाशमा धुँवा र खरानीजस्तै धुलो १७ किलोमिटरसम्म फैलिएको थियो । सान क्रिस्टोबलमा सामान्यतया वर्षैभरि ज्वालामुखी सक्रिय हुने गर्दछ । 

स्थानीय पत्रकार कारोल अल्टामिरानोले धुँवा र धुलोका कारण किसानको धान, तरकारी र फलफूल तथा गाईवस्तुका चरन सबै खैरो धुलोले ढाकिएको जानकारी दिए । इनेटर अध्ययन इन्स्टिच्युटले ज्वालामुखीको तिब्रता आगामी दिनमा घट्ने र जनजीवनमा त्यति खतरा उत्पन्न नहुने बताएको छ । 

यसपटकको ज्वालामुखी विस्फोटबाट करिब ३० मिनेटसम्म धुँवा र धुलो आकाशमा आएको थियो । सडकमा गुडिरहेका सवारी साधनले प्रकाश मधुरो भएपछि दिउँसै बत्ती बाल्नु परेको थियो ।  किसानहरुले पानीका स्रोतलाई छोप्नुका साथै गाईवस्तुलाई सुरक्षित स्थानमा लगेका थिए । शहरमा मानिसले छाता ओढ्ने, टोपी लगाउने र अनुहारमा मास्क लगाउने गरेका थिए ।

करिब एक हजार ७४५ अग्लो सान क्रिस्टोबलको ज्वालामुखी क्षेत्र मध्य अमेरिकी क्षेत्रको सातौं हो । यो क्षेत्र राजधानी मानागुवादेखि उत्तरपश्चिम करिब १३२ किलोमिटर टाढा चिनान्डेगा क्षेत्रमा रहेको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप