शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा प्रदेशस्तरीय प्रथम ‘चुली कप’ आयोजना गरिँदै

सोमबार, ०२ चैत २०७७, २२ : २४
सोमबार, ०२ चैत २०७७

सुर्खेत । कर्णाली प्रदेशमा निजी क्षेत्रबाट आयोजना गरिएको सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ ।  चुली युवा क्लब सुर्खेतले यही चैत ११ गतेदेखि ‘प्रथम चुली कप पुरुष भलिबल प्रतियोगिता’ को आयोजना गरेको हो । 

क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको विजेतालाई दुई लाख, द्वितीयलाई साढे एक लाख, तृतीयलाई एक लाख र सान्त्वनालाई पचास हजार पुरस्कार रहेको आयोजक क्लबका अध्यक्ष महेश जिसीले जानकारी दिए ।  

जिसीका अनुसार वेस्ट प्लेयर १५ हजार, वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, बेस्ट डिफेन्डर, वेस्ट सर्भर र वेस्ट कोचरलाई जनही सात हजार पाँच सयका दरले पुरस्कार दिइनेछ । प्रतियोगितामा देशैभरका क्लबहरू सहभागी हुन पाउने तर, राष्ट्रिय टिममा रहेका खेलाडीहरु भने समावेश गर्न नपाइने अध्यक्ष जिसीको भनाई छ ।  

प्रतियोगितामा सहभागी हुनका लागि यही चैत दश गतेसम्म टिम दर्ता गर्न सकिने क्लबका सचिव कृष्ण जिसीले जानकारी दिए । प्रतियोगिता निजी क्षेत्र र व्यवसायीहरूबाट प्रायोजक राखेर सञ्चालन गर्न लागिएको रेफ्री संयोजक अमरबहादुर चन्दले बताए । 

चन्दका अनुसार खेल लिक कम नकआउट नियमअनुसार सञ्चालन हुनेछ । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीले सरकारी तवरबाट प्रतियोगिता आयोजना गर्न नसकिरहेको अवस्थामा क्लबले गरेको प्रतियोगिताले खेलकुदमा महत्वपूर्ण योगदान पुग्ने बताए ।  उनले भने, ‘प्रतियोगिता सफल पार्न सबैले सहयोग गर्नु पर्नेछ ।’ 

यस्तै वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय सुर्खेतले आज वडाका फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ ।  गत फागुन २६ गते वीरेन्द्रनगरमा सम्पन्न प्रथम मेयर कप फुटबल खेलमा प्रथम स्थान हासिल गर्न सफल ९ नं. वडाका खेलाडीहरुलाई नगद रकम र जर्सीसहित सम्मान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप