सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतमा २४ घन्टाभित्र ७० संक्रमितको मृत्यु, सोमबारबाट लकडाउन सहज बन्ने

शनिबार, १४ चैत २०७७, ०० : २४
शनिबार, १४ चैत २०७७

लन्डन । बेलायतमा  पछिल्लो २४ घन्टामा थप ७० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५१५ पुगेको छ । बेलायतमा कोरोना पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार १८७ नयां संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख २५ हजार ३१५ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ । बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको एनएचएस इङ्ग्ल्याण्ड  कार्यकारी प्रमुख साइमन स्टीभन्सनले बिहीबार उल्लेख गरेका थिए ।

शुक्रबारसम्मको तथ्याँकअनुसार भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६३० रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३५४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए । बिरामीको संख्या घट्दै गएका कारण नेशनल हेल्थ सर्भिस (एन एचएस) ले कोभिड आपतकालीन सतर्कताको स्तरलाई चौथोबाट तेस्रो स्तरमा झारेको छ ।  

 ३ करोड २३ लाख बढी डोज खोप वितरण  

बेलायतमा हालसम्म तीन करोड २३ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड २३ लाख २५ हजार ९९८ डोज खोप वितरण भएको हो । कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ९३ लाख १६ हजार १३० जनाले पहिलो डोज लिएका छन् भने दोस्रो डोज लिनेको संख्या ३० लाख ९ हजार ८६३ पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

सोमबारबाट लकडाउन सहज हुँदै

बेलायतमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि हाल जारी लकडाउन २९ मार्च अर्थात आउँदो सोमबारदेखि केहि सहज बन्दैछ । झन्डै चार महिनापछि मानिसहरुले बढीमा ६ जनासम्म वा दुई घरपरिवारबीच भेटघाट गर्न पाउनेछन् ।

‘रुल अफ सिक्स’ को नियम पालना गर्दै यस्तो भेटघाट आउटडोर पार्क तथा सार्वजनिक स्थल, घरबाहिर प्राइभेट गार्डेन लगायत स्थानमा गर्न दिइनेछ । आइतबार मध्यरातदेखि सरकारद्वारा जारी ‘स्टे होम’ को नियम अन्त्य भएर आफन्त तथा एकापसबीच भेटघाटको बाटो खुल्नेछ ।

यद्यपि पार्क तथा सार्वजनिक स्थल लगायत आउटडोरमा गरिने भेटघाटमा अन्य व्यक्ति वा घरपरिवारसँग कोरोना सम्बन्धि नियमको पालना गर्नुपर्नेछ । एकाघर बाहेकका मानिससँगको भेटघाटले कोरोना संक्रमण बढ्ने खतरा भएको भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । अझै पनि ‘स्टे लोकल’ को नियम जारी रहेको र टाढाको यात्रामा नियन्त्रण गरिने बताइए पनि यसबारे स्पष्ट गरिएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप