शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेशम चौधरीलाई रिहा गर्नुपर्ने ‘सर्त’बारे के भन्छन् मतदाता ?

शनिबार, १४ चैत २०७७, ११ : १९
शनिबार, १४ चैत २०७७

कैलाली । सरकार गठनका लागि संसदीय अंकगणितका आधारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा छ । यद्यपि जसपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिने या विकल्प खोज्ने भन्नेबारे अझै औपचारिक निर्णय गर्न सकेको छैन ।

सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई साविककै अवस्थामा क्रियाशील हुनेगरी फैसला गरेपछि संसदीय अंकगणितमा जसपा नेपालको भूमिका महत्त्वपूर्ण भएको हो ।

सत्ता समीकरणका लागि आफ्नो भूमिका महत्त्वपूर्ण हुने भएसँगै जसपा नेपालले रेशम चौधरीको रिहाइ लगायतका माग पूरा भएमात्र सत्ता गठबन्धनबारे निर्णय गर्ने जनाउँदै आएको छ । यद्यपि जसपा नेपालका शीर्ष नेताहरु एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेलाबखत छलफल गर्दै आएका छन् ।

त्यस्ता छलफलपछि जसपा नेपालका नेताहरूबाट आएका प्रतिक्रियाको विश्लेषण गर्ने हो भने ओलीसँगै सत्ता साझेदारीका लागि जसपा नेपाल सहज हुँदै गएको हो कि भन्ने आँकलन गर्न थालिएको छ ।

कैलाली क्षेत्र नम्बर १ का मतदाता भागीराम चौधरीले रेशम चौधरीलाई निःशर्त रिहा गर्नुपर्ने बताए । ‘प्रधानमन्त्री ओलीले आफ्नो सत्तालाई टिकाउनकै लागिमात्र रेशम चौधरीलाई रिहा गर्न लागेको हो भने त्यो गलत छ,’ उनले भने, ‘सरकारले साँच्चै नै रेशम चौधरीलाई अन्याय परेको महसुस गरेरै रिहा गर्न थालेको हो भने निःशर्त रिहा गराउनुपर्छ ।’

भागीराम चौधरी

कैलाली क्षेत्र नम्बर १ का जनताले भोट दिएर सांसद चुने पनि निर्वाचित सांसद जेलमा रहँदा आफूहरुले वर्षौंसम्म विकासको अनुभूतिसमेत गर्न नपाएको उनले गुनासो गरे । ‘हामीले यतिका वर्षसम्म न विकासको अनुभूति गर्न सकेका छौं, न राहत पाउन सकेका छौं,’ उनले भने, ‘हामीसँग हामीले चुनेका सांसद नै भएपछि विकासका माग कहाँ गर्ने ? यो त हामीमाथि पनि अन्याय हो ।’

रेशम चौधरी टीकापुर घटनाको दोषी भएको भए आफै आएर अदालतमा आत्मसमर्पण किन गर्थे भनेर उनले प्रश्नसमेत गरे । जसपाले सरकारसँग रेशम चौधरीको रिहाइको शर्त राख्नु ठिक भए पनि त्यसमा कुनै स्वार्थ लुकाउन नहुने उनको भनाइ छ ।

उनले भने, ‘अहिले त स्वार्थका लागि रेशमलाई रिहा गरिएला तर भोलि के हुन्छ ? त्यसैले यसलाई राजनीतिक मुद्दा बनाउनुपर्छ ।’

थारु जातीको भलो चिताउने हो भने यो समस्याको राजनीतिक हल निकाल्नुपर्ने उनले बताए । जसपा नेपालले रेशम चौधरीलाई मात्र नभइ टीकापुर घटनामा दोषी ठह-याइएका सबैको रिहाइलाई सर्त बनाउनुपर्ने उनको भनाइ छ ।

अर्का स्थानीय लाहानुराम चौधरी पनि सत्ता स्वार्थका लागिमात्र जसपाले रेशमको रिहाइलाई सर्त बनाउन नहुने बताउँछन् । ‘रेशम चौधरीको रिहाइका लागि पहिला किन पहल भएन ? अहिले आएर केपी ओलीलाई जसपाको साथ चाहिएकै कारण रेशमको रिहाइलाई सर्तका रुपमा अघि सारिएको हो कि भन्ने आशंका स्वाभाविक रुपमा जन्मिएको छ,’ उनले भने ।

लाहानुराम चौधरी

क्षेत्र नं. १ कै जानकी गाउँपालिका–३, स्वर्णपुरका गर्बु थारु जसपा नेपालले जोसँग मिलेर भए पनि टीकापुर घटनामा दोषी ठहरिएका सबैको रिहाइका लागि पहल गर्नुपर्ने बताउँछन् ।

जसपा नेपालले प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारीका लागि रेशम चौधरीको रिहाइलाई सर्तका रुपमा अघि सार्नु जायज भएको उनको भनाइ छ । ‘रिहा गर्दा स्वार्थका लागि होइन,’ उनले भने, ‘राज्यले निःशर्त रिहा गर्नुपर्छ ।’

यदि त्यसो गरिएन भने भोलि अर्को सरकार आएर फेरि रेशम चौधरीलगायतका सबैलाई पक्राउ गर्न सक्ने उनको भनाइ छ । उनले भने, ‘आज पो आफ्नो सरकार होला, भोलि त नहोला नि ! पछि गएर अर्को सरकारले रेशमलाई फेरि पक्राउ ग-यो भने के गर्ने ?’

लाल आयोगको प्रतिवेदनका आधारमा अघि बढ्ने हो भने सहज निकास निस्कने उनको भनाइ छ ।


गर्बु थारु

रेशमका पिताको असन्तुष्टि
जसपा नेपालकै मागअनुसार सरकारले रेशम चौधरीलाई रिहा गर्ने र जसपा नेपालले एमालेसँग मिलेर सत्ता साझेदारी गर्ने सम्भावना देखिए पनि रेशम चौधरीका पिता लालवीर चौधरी भने पटक्कै सन्तुष्ट छैनन् । उनी आफ्नो छोरालाई ‘मोहरा’ बनाएर सत्ता स्वार्थमा राजनीति केन्द्रित हुन थालेको आरोप लगाउँछन् । ‘जसपाले रेशमको रिहाइको माग पार्टीका लागि गरेको हो या व्यक्तिका लागि गरेको हो भन्नेमा हामी पनि अन्योलमा छौं,’ उनले भने, ‘जसपाले रेशमको मुद्दालाई पहिलादेखि नै यसरी प्राथमिकता दिएर उठाउनुपर्ने हो ।
अहिले जसपा नेपाल आफै पनि सत्तामा जान र प्रधानमन्त्री ओलीलाई पनि सत्ता टिकाउनका लागि रेशमको कुरा उठेको हो भन्ने हाम्रो ठम्याइ छ ।’ रेशमलाई मोहरा बनाएर राजनीति भइरहेको उनको आरोप छ । ‘अहिले सरकारसँगमात्र सम्झौता गरेर रिहा गराउने हो भने भोलिका दिनमा फेरि रेशमलाई पक्राउ गरिने सम्भावना कायमै रहन्छ,’ उनले भने, ‘त्यसैले लाल आयोगको प्रतिवेदनमाथि टेकेर मन्त्रिपरिषदले निर्णय गर्ने र त्यसैअनुसार रेशमलाई रिहा गराउन पहल गर्ने हो भने टीकापुर घटना राजनीतिक मुद्दा हो भन्ने स्थापित हुन्छ र रेशममात्र होइन, सो घटनाका अन्य आरोपीमाथि न्याय हुन्छ ।’ जसपा नेपालले लाल आयोगको प्रतिवेदनबारे किन कुरा उठिरहेको छैन भन्ने प्रश्नसमेत गरे ।
रेशमलाई साँच्चै नै रिहा गर्ने हो भने सबैभन्दा पहिला टीकापुर घटनालाई राजनीतिक मुद्दाका रुपमा लिनुपर्ने उनको भनाइ छ । ‘ओली सरकारले टीकापुर घटनाका दोषी ठहरिएका सबैलाई रिहा गर्न सक्थ्यो तर यतिका वर्षसम्म गरेन,’ उनले भने, ‘अहिले आएर रेशमको रिहाइबारे प्रधानमन्त्री ओलीले जसपा नेपालका नेताहरुसँग कुरा गर्नु भनेको टीकापुर घटनाका पीडित, थारु समुदायले उठाएका राजनीतिक मागप्रति सद्भाव देखाएर होइन कि, आफ्नै नेतृत्वको सरकार टिकाइराख्न मात्र केन्द्रित छ भन्ने कुरा सबैले बुझेका छन् ।’

लालवीर चौधरी

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारका रुपमा रेशम चौधरी २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट ३४,३४१ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार मदन कुमारी शाहले १३,४०६ मत ल्याएकी थिइन् ।

२०७२ साल भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनापछि भूमिगत भएका रेशम चौधरीले भूमिगत अवस्थामै उम्मेदवार बनेर चुनाव जितेका थिए । प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भइसकेपछि उनले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । लगत्तै जिल्ला अदालत कैलालीले टीकापुर घटना सम्बन्धी मुद्दा सुनुवाइ प्रक्रिया अघि बढाइ चौधरीलाई दोषी ठहर गर्दै आजीवन कारावासको फैसला गरेको थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप