कविताः ओझेल
–भुवन रोका ‘मित्रजी’
ओझेल परेको छ अचेल
हजुरआमाको काख
कचौराको दूधमाम
‘को खाई को खाई’को आवाज
ओझेल परेको छ अचेल
हजुरबाको लौरी
आमाको ढुकढुकी
बाबाको काँध
साथीको गुच्चा
ओझेल परेको छ अचेल
खेतसम्म धाउने कुलो
जोत्ने हलो
नार्ने हलगोरु
रोपाईं गर्ने हात
गाउने असारे भाका
पहेँलै झुल्ने धानको बाला
छिट्ने खलो
भर्ने पाथी
भित्र्याउने भकारी
ओझेल परेको छ अचेल
कुटिरहने ढिकीको आवाज
पिसिरहने जाँतोको स्वर
पेलिरहने कोल
थिचिरहने ओखल
बजिरहने लोहोरो र सिलौटो
बुनिरहने गुन्द्रीको तान
खेलिरहने आँगन
उक्लिरहने बुइँगल
काटिरहने घाँस
बोकिरहने डोको
फुकिरहने अगेनो
गाँसिरहने दुना–टपरा
ओझेल परेको छ अचेल
कखरा सिकेको विद्यालय
मिठाईको दोकान
डाँडामाथिको चौतारी
सल्लाघारीको चिप्लिने बाटो
झ्याङभरीको ऐँसेलु
बडहरको अग्लो रुख
तल्लो गाउँको कुवा
बाँकटे हान्ने खोला
रमाइलो पञ्चमी बजार
ओझेल परेको छ अचेल
दसैँको टीका र जमरा
कमेरो र रातो माटो
तिहारको देउसी र भैले
मखमली माला र सेलरोटी
होलीको रङ्गीन रङ
साउनको लुतो
माघको तरुल
पशुपतिनाथ अनि स्वयम्भु
हो
ओझेल पर्दो रहेछ आफ्नै छायाँ
सुनै सुनको गँुडबाट
सुन खोज्न उडेपछि
खोटाङ, नेपाल
हाल : टोकियो, जापान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण