तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
सारांश
- अमेरिकी–रुसी टोलीको प्रक्षेपणमा नासा प्रमुखले रुसी बैकोनुर केन्द्रको भ्रमण गरे।
- युक्रेन युद्धपछि पनि अन्तरिक्ष सहकार्य जारी रहेको सङ्केत।
- नासाको आर्टेमिस कार्यक्रममा रुसको सहभागिता भने रोकिएको छ।
काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) का लागि अमेरिकी–रुसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रशासक जेरेड आइज्याकम्यानले मङ्गलबार कजाकिस्तानस्थित रुसद्वारा सञ्चालित बैकोनुर अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गर्नुभएको छ ।
युक्रेनमा रुसको सैन्य कारबाहीपछि अमेरिका–रुस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै मुलुकबिच सहकार्य जारी रहेको सङ्केतका रूपमा यस भ्रमणलाई हेरिएको छ ।
बैकोनुर कोस्मोड्रोममा नासा प्रमुखको यो भ्रमण करिब आठ वर्षयताकै पहिलो हो । सोमबार अन्तरिक्ष यात्रीको टोलीसँगको भेटमा आइज्याकम्यानले मिसनको तयारीमा सहयोग गरेको भन्दै रुसको सरकारी अन्तरिक्ष संस्था ‘रोस्कोस्मोस’प्रति धन्यवाद व्यक्त गरे ।
“पछिल्ला केही महिनामा गरिएको संयुक्त प्रयासले यस अभियानमा संलग्न सबैको व्यावसायिकता र समर्पण देखाउँछ,” उनले भने ।
प्रक्षेपणअघि आइज्याकम्यानले रोस्कोस्मोसका प्रमुख दिमित्री बाकानोभसँग पनि भेट गरेका थिए । नासाका अन्तरिक्ष यात्री अनिल मेनन तथा रुसी अन्तरिक्ष यात्री प्योत्र डुब्रोभ र अन्ना किकिना सोयुज एमएस–२९ यानमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गर्ने तयारीमा छन् । उनीहरूले अन्तरिक्ष स्टेसनमा करिब आठ महिना बिताउनेछन् ।
यो मेननको पहिलो अन्तरिक्ष यात्रा हो भने डुब्रोभ र किकिनाको दोस्रो यात्रा हो । उक्त टोलीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका नासाका जेसिका मेयर, ज्याक ह्याथवे र क्रिस विलियम्स, युरोपेली अन्तरिक्ष एजेन्सीकी सोफी एडेनोट तथा रोस्कोस्मोसका अन्य अन्तरिक्ष यात्रीहरूसँग सहकार्य गर्नेछ ।
शीतयुद्धका बेला अन्तरिक्ष प्रतिस्पर्धामा रहेका अमेरिका र रुसले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसहित विभिन्न परियोजनामा सहकार्य गर्दै आएका छन् । सन् २०२२ मा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि दुई देशबिच राजनीतिक तनाव बढे पनि अन्तरिक्ष क्षेत्रमा सहकार्य भने निरन्तर छ ।
यद्यपि, नासाको चन्द्र अनुसन्धानसम्बन्धी ‘आर्टेमिस’ कार्यक्रममा रुसको सम्भावित सहभागिताजस्ता ठुला सहकार्यका योजना भने अघि बढ्न सकेका छैनन् । पश्चिमी प्रतिबन्धका कारण रुसले चीनसँग अन्तरिक्ष तथा अन्य प्रविधि क्षेत्रमा सहकार्य विस्तार गरिरहेको छ । रोस्कोस्मोसले आगामी चन्द्र अभियानका लागि चीनसँग सहकार्य सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण