बिहीबार, २२ कात्तिक २०८१
ताजा लोकप्रिय

भ्याक्सिनले विदेशमा संक्रमण घटायो, नेपालमा खोपै छैन

प्रधानमन्त्री भन्छन्– छिटोभन्दा छिटो ल्याउन सरकार प्रयत्नशील छ
सोमबार, २० वैशाख २०७८, १८ : ४०
सोमबार, २० वैशाख २०७८


विश्वमा कोरोनाभाइरसको औषधि बनिसकेको छैन । तर, रोकथामका लागि पर्याप्त डोज खोप लगाएमा संक्रमणको जोखिम कम हुने अमेरिका, बेलायत र इजरायलजस्ता देशहरुले गरेको भ्याक्सिनको प्रयोगबाट सावित भएको छ । जति धेरै नागरिकलाई खोप लगाइएको छ, त्यो देशमा संक्रमण दर त्यति नै ओरालो लागेको छ ।

तर, विडम्बना ! नेपाल सरकारले चाहिँ खोपै आयात गर्न नसक्दा केही दिनको अन्तरमा यहाँको संक्रमण दर १३२ प्रतिशतले बृद्धि भएकाे छ ।

खोपबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको सम्वोधनमा भने, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’

 जति धेरै खोप, उति कम संक्रमण

कोरोना संक्रमणको अवस्था हेर्दा जुन देशमा कोरोनाविरुद्धको भ्याक्सिन लगाइएको छ, उक्त देशमा कोरोना संक्रमणको दर एकदमै कम छ । अल्पविकसित र अविकसित देश वा कोरोनाविरुद्धको भ्याक्सिन नलगाएका देशमा कोरोना संक्रमणको गति तीब्र बनेको पाइन्छ ।

कोरोनाविरुद्धको भ्याक्सिन धेरै लगाउने देश अमेरिकामा अहिले कोरोना संक्रमणको दर अत्यन्तै न्यून छ । अमेरिकामा हालसम्म २४ करोड ३० लाख डोज खोप लगाइसकिएको छ । अमेरिकामा अहिले दैनिक औसतमा २५ लाख ५० हजार डोज खोप लगाइएको छ । अमेरिकामा कुल जनसङ्ख्याको ४४ प्रतिशतले पहिलो डोज र ३१.२ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् ।

इजरायलमा कुल १ करोड ४ लाख ९७ हजार ३५५ डोज खोप लगाइएको छ । इजरायलमा कुल जनसङ्ख्याको ५९.७ प्रतिशतले पहिलो डोज र ५६.३ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् ।

त्यसैगरी बेलायतमा कुल जनसङ्ख्याको ५१.४ प्रतिशतले पहिलो डोज र २२.४ प्रतिशत जनसङ्ख्याले दोस्रो डोज खोप पाइसकेका छन् ।

यी देशहरुमा कोरोना संक्रमणको दर हेर्ने हो भने जनसङ्ख्याको आधारमा अत्यन्तै न्यून छ । जबकि अमेरिकामा ८ जनवरी २०२१ मा ३ लाख १२ हजार ४९ नयाँ संक्रमण देखिएको थियो । जब अमेरिकाले भ्याक्सिनलाई प्राथमिकता दियो, त्यसपछि त्यहाँको संक्रमण दर बिस्तारै घट्दै गएको छ ।

गत मे २ को अमेरिकाको नयाँ संक्रमण जम्मा ३० हजार ७०१ जना रहेको छ । जबकि अमेरिकामा एक साता अघिसम्म त्यहाँको औसत संक्रमण दर ५० हजारको हाराहारीमा थियो ।

९१ लाख जनसङ्ख्या रहेको इजरायलमा जम्मा ७३ जनामा नयाँ संक्रमण देखिएको छ । यो पनि अत्यन्तै न्यून हो र यसको प्रमुख कारण भनेको इजरायलले भ्याक्सिन लगाउन गरेको मिहिनेत नै हो । इजरायलमा एक सातामै नयाँ संक्रमण दरमा ४६ प्रतिशतले कमी आएको छ ।

बेलायतमा पनि कोरोना संक्रमणमा अत्यन्तै कमी आउन थालेको छ । ६ करोड ८१ लाख* जनसङ्ख्या रहेको बेलायतमा जम्मा १ हजार ६७१ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा एक सातामा नयाँ संक्रमणमा १० प्रतिशतले कमी आएको छ । यसको प्रमुख कारण कोरोनाविरुद्धको भ्याक्सिन नै हो ।

नेपालको अवस्था

नेपालको अवस्था भने ठीक उल्टो दिशामा अगाडि बढिरहेको छ । २ करोड ९५ लाख जनसङ्ख्या रहेको नेपालमा एकै दिनमा ७ हजारभन्दा बढी संक्रमण देखिन थालेका छन् । नेपालमा कोरोना संक्रमणको दर हेर्ने हो भने एक सातामा १३२ प्रतिशतले वृद्धि भएको छ । यो रफ्तार अझै बढ्दो क्रममा छ ।

बितेको एक सातामा नेपालमा कोरोना संक्रमणबाट १६१ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साता कोरोना संक्रमणबाट ८१ जनाले ज्यान गुमाएका थिए ।

बेलायतमा विस्तारै पब र रेष्टुरेण्टहरु खुल्न थालेका छन् । अमेरिकामा पनि कोरोनाविरुद्धको भ्याक्सिन लगाएकाहरुले बिना मास्क नै हिँड्न सक्ने भनिएको छ । करिब एक तिहाई जनसङ्ख्याले भ्याक्सिन लगाइसकेको देशमा लकडाउन हटाइँदैछ भने जनजीवन सामान्यतर्फ अगाडि बढाइँदैछ ।

भारतमा जस्तै नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर तीब्र गतिमा फैलिइरहेको छ । कोरोना महामारीका कारण भारतमा औसतमा प्रतिदिन ३ लाख ५० हजारजना संक्रमित हुन थालेका छन् । नेपालमा पनि पछिल्लो २४ घण्टामा ७ हजार १३७ जना कोरोनाबाट संक्रमित बनेका छन् भने पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएका छन् ।

सरकारले यसअघि नै दैनिक करिब ११ हजारको हाराहारीमा संक्रमण फैलन सक्ने प्रक्षेपण गरिसकेको छ । तर, पनि पूर्वाधार नभएको भन्दै बिरामीलाई अस्पतालमा राखेर उपचार गराउन नसकिने भन्दै स्वास्थ्य मन्त्रालयले हात उठाएको छ ।

सरकारले कोरोना संक्रमितको उपचारको व्यवस्था गर्न नसक्ने भन्दै हात उठाएजस्तै जनतालाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन पनि त्यस्तै रवैया देखाएको छ ।

सरकारले पहल नगर्दा करिब २५ लाख जनसङ्ख्याले मात्रै पहिलो डोज खोप लगाउन पाएका छन् । दोस्रो डोज खोप लगाउने नागरिकको सङ्ख्या ३ लाख हाराहारीमा छ । अहिले त खोप नभएको भन्दै खोप कार्यक्रमै बन्द गरिएको छ ।

प्रधानमन्त्री ओली चाहिँ दक्षिण एशियामा भारतपछि नेपाल नै सबैभन्दा बढी खोप लगाउने देश भएको दाबी गर्छन् । सोमबार देशबासीका नाममा सम्वोधन गर्र्दै उनले भने, ‘अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आफ्ना देशवासीलाई कोरोनाबिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइसकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् ।’

तथापि देशमा संक्रमणको दर बढेको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति छ । उनी भन्छन्, ‘अहिले हामी कोभिड–१९ महामारीको दोस्रो लहरको सामना गर्दैछौं । कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातकरुपमा देखा परेको छ । संक्रमणको दर र मृत्युदर गतवर्षको तुलनामा बढी छ ।’

खोप नै एकमात्र विकल्प : जनस्वास्थ्यविद्

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित भ्याक्सिन नै महामारीको अन्त्यको एकमात्रै विकल्प भएको दाबी गर्छन् । दीक्षितका अनुसार जबसम्म भ्याक्सिन लगाउनेको सङ्ख्या बढाउन सकिँदैन, तबसम्म कोरोना संक्रमणको अन्त्य हुँदैन ।

लकडाउन गर्दा केही समय कमी भए पनि भ्याक्सिन नलगाउने हो भने फेरि विस्तारै उक्त सङ्ख्यामा वृद्धि आउन थाल्ने बताउँदै दीक्षित भन्छन्, ‘अमेरिका, बेलायत र इजरायललाई हेर्नुहोस् न, त्यहाँ अहिले संक्रमण दर कति घटिसक्यो । जनसङ्ख्या धेरै भएका कारण धेरैजस्तो देखिएका, तर त्यो संक्रमण दर एकदमै न्यून छ ।’

डा. दीक्षितका अनुसार अमेरिकामा दोस्रो डोज लगाइसकेकालाई मास्क लगाउन अनिवार्यसमेत गरिएको छैन । राम्रो भ्याक्सिनेटेड भएका देशहरुमा मापदण्ड पनि धेरै खुकुलो भइसकेको छ । त्यसकारण मामाहारीको अन्त्य भनेको भ्याक्सिन नै हो । नेपालमा पनि जबसम्म भ्याक्सिनको मात्रा बढाइँदैन, स्थिति यही नै रहन्छ ।’

भारतसँग मात्रै निर्भर पर्दा धोका भयो

जनस्वास्थ्यविद् दीक्षित नेपाल सरकार भारतसँगै मात्रै निर्भर हुँदा भ्याक्सिनको आयात गर्न नसकेको आरोप लगाउँछन् । उनले भने, ‘नेपाल सरकारले पहिले भारतसँग मात्रै भ्याक्सिन किन्ने गरी तयारी ग¥यो । भारतले पनि १० लाख डोज दिने भएपछि अर्को १० लाख डोज किन्ने र पछि ५० लाख डोज किन्ने सैद्धान्तिक सहमति ग¥यो । तर, कोरोना संक्रमणको दर भारतमा अत्याधिक बढेपछि भारतले उक्त खोप नेपाललाई दिन सकेन ।’

अन्य देशको भन्दा सस्तो भएका कारण सुरुवातकालमा भारतीय खोप नै नेपालका लागि सही थियो भन्न सकिने दीक्षित बताउँछन् । ‘तर, नेपालले एउटा देशको मात्रै भर पर्दा धोका पायो,’ उनी भन्छन् ‘अन्य देशसँग पनि सहकार्य गर्दै पहल गरेको भए यस्तो हुँदैन थियो ।’

कूटनीतिक पहल भएन

जनस्वास्थ्यविद् दीक्षित नेपालको कुटनीति कमजोर बन्दा अन्य देशबाट पनि खोप ल्याउन नसकेको आरोप लगाउँछन् । सुरुवातमा नेपालले राम्रै पहल गरेर भ्याक्सिन ल्याएको भए पनि पछि नेपालको कूटनैतिक असफलताका कारण चीन वा रुसबाट खोप ल्याउन नसकेको दीक्षितको आरोप छ ।

नेपालजस्तो थोरै जनसङ्ख्या भएको देशका लागि चीन वा रुसले समयमै भ्याक्सिन उपलब्ध गराउन सक्ने भए पनि नेपालले राम्रो कूटनीतिक पहल नगर्दा खोप नआएको र त्यसले आम नागरिकलाई समस्यामा पारेको दीक्षितको भनाइ छ ।

अब सस्तो वा महङ्गो हेरेर बस्ने नभई सरकारले जनताको स्वास्थ्यका लागि नै जहाँबाट, जसरी भए पनि र जति परेपनि भ्याक्सिन ल्याएर लगाउनुपर्ने दीक्षितको जोड छ ।

मन्त्रालय भन्छ – पैसा छ, भ्याक्सिन पाइएन

यता सरकार पनि भ्याक्सिनको जोहोमा लागिरहेको बताउँछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम सरकारले भ्याक्सिन ल्याउनका लागि विभिन्न देशसँग पहल गरिरहेको तर नपाइएको बताउँछन् ।

कतिपयले सरकारसँग पैसा नभएकाले भ्याक्सिन नकिनेको आरोप लगाउँछन् नि भन्ने प्रश्नमा प्रवक्ता गौतमले भने, ‘हामीसँग पैसा पर्याप्तमात्रामा छ । अहिले नै हामीसँग करिब ५० अर्ब रकम भ्याक्सिन आयातका लागि छुट्याइएको छ । थप १० अर्ब रकम दिन अर्थ मन्त्रालय तयार भइसकेको छ । जबकि हामीलाई चाहिने भ्याक्सिन भनेको जम्मा ४८ अर्बको हो । अहिले त भ्याक्सिन केही सस्तिएको पनि छ, जसका कारण अझै कम पैसाले पनि पुग्छ होला । त्यसकारण समस्या पैसा नभएर होइन, भ्याक्सिन नै नपाएर मात्रै हो ।’

नेपालमा हालसम्म ३१ लाख ४८ हजार डोज भ्याक्सिन आइसकेको छ र त्योमध्ये अधिकांश भ्याक्सिन प्रयोगमा आइसकेको पनि छ । नेपालमा १८ वर्षभन्दा माथिका जनसङ्ख्यालाई भ्याक्सिन लगाउने योजना बनाइएको छ । नेपालमा १८ वर्षभन्दा माथिका २ करोड १४ लाख जनसङ्ख्या रहेका छन् ।

तर, नेपालले पैसा नभएरै भ्याक्सिन नकिनेको होइन भन्दै भ्याक्सिन नै नपाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताको भनाइ छ । प्रवक्ता गौतमका अनुसार अहिले नेपालले चीन, रुस, भारत लगायतका देशसँग भ्याक्सिन खरिदका लागि पहल गरिरहेको छ । तर, ती देशहरुमा पनि आफ्नै जनसङ्ख्यालाई लगाउन पुग्ने भ्याक्सिन नभएका कारण उनीहरु पनि भ्याक्सिन दिन आनाकानी गरिरहेका छन् ।

यद्यपि ती देश लगायत अन्य देशसँग पनि भ्याक्सिन खरिदका लागि पहल भइरहेको र जुन देशबाट जति मात्रामा पाइन्छ, किनेर ल्याउने तयारी भइरहेको प्रवक्ताले बताए ।

निजी आयातकर्ता भन्छन्– अधिकार दियोस् १० लाख डोज खोप ल्याउन सक्छौं

सरकारले कोरोना भ्याक्सिन आयातमा सरकारी सिन्डिकेट लादेको र एकाध निजी ठेकेदारलाई पोस्ने गरी काम गर्न दिएकाले भ्याक्सिनको समस्या भएको एक निजी आयातकर्ताको भनाइ छ । भ्याक्सिन आयात गर्ने प्रयोजनका लागि औषधि व्यवस्था विभागको नीति अपरिपक्व भएको कारण निजी संस्थाले भ्याक्सिन ल्याउन नसकेको र नीति परिवर्तन भए बिस्तारै भ्याक्सिन आउने र लगाउन पाउने वातावरण बन्ने ती व्यवसायीको दाबी छ ।

ती व्यवसायी भन्छन्, ‘औषधि व्यवस्था विभागले भन्सार मूल्यमा १० प्रतिशतभन्दा बढी नाफा खान नपाउने भनेको छ । जबकि १० प्रतिशत मूल्य जोड्दा खर्च नै उठ्न सक्दैन । अनि खर्च नै नउठ्ने भएपनि निजी संस्थाले भ्याक्सिन ल्याउन सक्ने कुरै भएन ।’

उनले अगाडि भने, ‘यदि सरकारले भन्सार मूल्यमा २० प्रतिशतसम्म मूल्य जोड्न दिएको अवस्थामा निजी संस्थाले पनि भ्याक्सिन ल्याउँछन् र किनेर लगाउनसक्ने समूहले किनेर नै भ्याक्सिन लगाउने थिए । जसले गर्दा सरकारलाई पनि केही राहत हुन्थ्यो र संक्रमणमा पनि कमी आउँथ्यो । तर सरकार आफूनिकटकै सीमित ठेकेदारलाई मात्रै पोस्ने दाउमा रहेको कारण यो समस्या आएको हो । नीति खुकुलो बनाएर आयातको अनुमति दिए हाम्रो एउटा संस्थाले नै २ सातामै कम्तिमा १० लाख डोज खोप ल्याउन सक्छौँ ।’

सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप