शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काम नगरी जस लिन होडबाजी, दुई हजार बेडको आइसोलेसन बनाउने योजना अलपत्र

तीन तहका सरकारबीच समन्वय अभावले जनतालाई नै सास्ती
मङ्गलबार, ०४ जेठ २०७८, १५ : २३
मङ्गलबार, ०४ जेठ २०७८

केही साताअघि कैलालीको गेटा मेडिकल कलेजमा दुई हजार शय्याको आइसोलेसन सेन्टर निर्माण गर्ने भन्दै संघीय सरकारले प्रचारवाजी गरे पनि अहिलेसम्म प्राविधिक सामग्री तथा स्वास्थ्य उपकरणको जोहो भएको छैन ।

सुदुरश्चिम प्रदेशमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ भने अस्पतालहरू भरिभराउ छन् । यस्तो अवस्थामा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा दुई हजार शय्याको आइसोलेसन सेन्टर बनाउने संघीय सरकारको प्रतिबद्धताले सर्वसाधारणमा केही राहत महसुस भएको थियो ।

तर प्रदेशमा दैनिक सयौं संक्रमित थपिँदै गएको र अस्पतालहरू भरिभराउ भएर नयाँ बिरामी भर्ना लिन नसक्ने अवस्था सिर्जना हुँदासमेत संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभावमा उक्त आइसोलेसन सेन्टर निर्माण प्रक्रिया अलपत्र परेको छ ।

कसरी भयो विवाद ?

आइसोलेसन केन्द्र निर्माणका लागि स्थानीय तहहरु गम्भीर रुपमा क्रियाशील रहे पनि प्रदेश र संघीय सरकारबीच समन्वय अभावका कारण सार्थक नतिजा हासिल हुन सकेको छैन ।

प्रदेशका अस्पतालहरु कोरोना संक्रमितले भरिभराउ भइसक्दासमेत दुई हजार क्षमताको आइसोलेसन सेन्टर निर्माणमा संघ र प्रदेश सरकारबीच जस लिने हानथापका कारण योजना नै अलपत्र पर्दै आएको छ । काम गर्न अघि नै संघ र प्रदेश सरकार जस लिने होडबाजीमा उत्रिएका हुन्। 

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका अनुसार स्थानीय तहले स्वास्थ्यकर्मी, पिउने पानी लगायत अन्य पूर्वाधार तयार पारिसकेको अवस्थामा अक्सिजन कै अभावमा आइसोलेसन सेन्टर सञ्चालन हुन सकेको छैन ।

‘हामीसँग रहेका अस्पतालहरुमै अहिले अक्सिजनको अभाव छ,’ उनले भने, ‘गेटा मेडिकल कलेजमा बनाइएको आइसोलेसन सेन्टरमा बिरामी राख्नका लागि अक्सिजनको प्रवन्ध त हुनुप¥यो नि, अक्सिजन नै नभई बिरामीलाई लगेर राख्ने कुरा भएन ।’

अक्सिजन व्यवस्थापनको सवालमा केन्द्र सरकार र प्रदेश सरकार दुवै गम्भीर नदेखिएको स्थानीय सरोकारवालाहरुको भनाइ छ । संघीय सरकारमा सुदूरपश्चिम प्रदेशबाट चारजना मन्त्री रहे पनि अक्सिजन जोहो गर्न नसक्दा आइसोलेसन सेन्टर अलपत्र हुनु लाजमर्दो विषय बनेको उनीहरु बताउँछन् ।

संघीय सरकार एमालेको नेतृत्वमा रहेको र प्रदेश सरकार माओवादी केन्द्रको नेतृत्वमा रहेका कारण राजनीतिक स्वार्थको लडाईमा गेटा मेडिकल कलेजमा आइसोलेसन सेन्टर निर्माण अलपत्र भएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा नयाँ बिरामी भर्ना लिन सक्ने अवस्था छैन । अस्पतालमा ६० बेड क्षमताको आईसोलेसन भरिभराउ रहेको र बेड अभावकै कारण इमर्जेन्सी वार्डमा समेत संक्रमित लाई भर्ना गरी उपचार भइरहेको उनले बताए ।

दैनिक कोरोना संक्रमण दर बढ्दै गएको अवस्थामा स्थानीय तहहरुले अन्य भौतिक संरचना एवं जनशक्तिसहित १५० बेडको आइसोलेसन तयार तुल्याए पनि अक्सिजन अभावमा बिरामीलाई राख्न नसकिएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले रातोपाटीलाई बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका अनुसार आइसोलेसन सेन्टरका लागि १५० बेड निर्माण भइसकेको छ भने ल्याब, एक्सरे मेसिन लगायतका उपकरण पनि तयारी अवस्थामा छन् । तर अक्सिजनको अभावका कारण संक्रमितलाई भर्ना गर्न नसकिएको उनले बताए ।

अक्सिजनको व्यवस्था नभएसम्म गेटा मेडिकल कलेजको आइसोलेसनमा बिरामी भर्ना गर्न नसकिने स्थानीय सरकारहरुको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भेन्टिलेटर, अक्सिजन, आईसियु लगायत जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको छ । ‘महामारीमा सबैको सहयोग आवश्यक हुन्छ,’ उनले भने, ‘तीनै तहका सरकार मिलेर चाँडोभन्दा चाँडो आईसोलेसन सञ्चालनमा ल्याउन जरुरी छ ।’

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले तीन तहको सरकारबीच समन्वयको अभावमा आइसोलेसन निर्माण अल्झिएको बताइन् । ‘जस लिने होडमात्र बढ्यो,’ उनले भनिन्, ‘एउटाले घोषणा गर्ने, अर्कोले कामको जिम्मेवारी पूरा गर्ने अनि अर्कोले जस त अरुले नै पाउने भए क्यारे भनेर हात बाँधेर बस्दा समस्या भएको हो ।’

संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने हो भने आइसोलेसन सेन्टर सञ्चालन गर्न कठिन नरहेको उनको भनाइ छ । ‘अहिले जनतालाई जोगाउने समय हो,’ उनले भनिन्, ‘सबै मिलेर काम गर्नुको विकल्प छैन ।’

विकास बजेटलाई कटाएर भए पनि बिरामीलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर जस्ता उपकरण जुटाएर जनताको ज्यान जोगाउन लागिपर्न उनले सरकारहरूलाई आग्रह गरिन् ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गेटा मेडिकल कलेजको आईसोलेसन निर्माणमा प्रदेश सरकारले ५ लाख सहयोग गरेको बताए । केन्द्र सरकारले नै आइसोलेसन सेन्टर निर्माणका लागि अग्रसरता देखाएको र आफ्नो प्रदेशमा निर्माण हुन लागेको नाताले प्रदेश सरकारले पनि आवश्यक सहयोग जुटाएको भन्दै उनले यतिका दिनसम्म पनि काम किन हुन सकेन भन्नेबारे कसैले आफूसँग समन्वय नगरेको गुनासो गरे ।

‘हामीलाई समस्याका बारेमा भन्नुपर्छ,’ उनले भने, ‘नभनि त कसरी बुझ्नु ? गेटा मेडिकल कलेज संघीय सरकार अन्तर्गतको हो, उसैले त्यहाँ आइसोलेसन बनाउने भनेर आश देखायो, प्रदेश सरकार र स्थानीय तहहरु मिलेर आवश्यक सहयोग भएकै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप