गण्डकी प्रदेश : अक्सिजनका लागि ‘नो टेन्सन’
पोखरा । कोरोना संक्रमण बढ्दै जाँदा देशका विभिन्न अस्पतालमा अक्सिजन ग्यासको अभाव देखिए पनि गण्डकी प्रदेश भने हालसम्म त्यस्तो समस्याबाट मुक्त देखिएको छ । प्रदेशमा अक्सिजन ग्यासको दैनिक उत्पादन सन्तोषजनक रहेको र मागको तुलनामा उत्पादन बढी नै रहेका कारण अहिलेसम्म खास समस्या नदेखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अक्सिजन उत्पादन गर्ने निजी क्षेत्रका दुई ठुला उद्योग पछिल्ला दिनमा चौबिसै घण्टा सञ्चालन हुँदै आएका छन् । सरकारी र निजी क्षेत्र गरी प्रदेशमा दैनिक एक हजार पाँचसय सिलिन्डरको हाराहारीमा अक्सिजन ग्यास उत्पादन गर्ने क्षमता छ ।
पोखरा अक्सिजन प्रालिले प्रतिघण्टा ३० सिलिण्डर र कालीगण्डकी अक्सिजन प्रालिले प्रतिघण्टा २० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन् । चौबिसै घण्टा सञ्चालन हुँदा यी दुवै उद्योगले प्रतिदिन एक हजार दुई सय सिलिन्डर ग्यास उत्पादन गर्न सक्छन् । यद्यपि उक्त क्षमतामा उद्योग सञ्चालन गरिरहन सम्भव नहुने सञ्चालकहरु बताउँछन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार प्रदेशका आठ जिल्लाका सरकारी अस्पतालमा पनि अक्सिज ग्यास उत्पादन हुँदै आएको छ । दैनिक रुपमा मुस्ताङमा १५, पर्वतमा ३०, स्याङ्जा १०, लमजुङ १८, नवलपरासी १८, गोरखा १८, बागलुङ ३० र म्याग्दी जिल्ला अस्पतालमा १८ सिलिन्डर अक्सिजन ग्यास उत्पादन हुने गरेको उनको भनाइ छ ।
यस्तै पोखराका केही अस्पतालले पनि अक्सिजन ग्यास उत्पादन गर्दै आएका छन् । जसअनुसार फेवासिटीले दैनिक ३०, मणिपालले ४०, गण्डकी मेडिकल कलेजले २२, मातृशिशु मितेरी अस्पतालले १०, फिस्टेलले ३० सिलिन्डर अक्सिजन उत्पादन गर्छन् ।
हालसम्म प्रदेशमा अक्सिजनको मागलाई आन्तरिक उत्पादनबाटै जेनतेन धानेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पनि प्रदेशमा अक्सिजनको अभाव नरहेको जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा दैनिक एक हजार ४८९ सिलिण्डर अक्सिजन ग्यास उत्पादन गर्ने क्षमता छ भने दैनिक ८४६ सिलिण्डरमात्र खपत हुने गरेको छ । प्रदेशमा ५ हजार ६३२ वटा सिलिण्डर छन् ।
निर्देशनालयका अनुसार प्रदेशका ११ वटै जिल्लामा आवश्यकता अनुरुप अक्सिजन आपूर्ति भइरहेको छ । गण्डकीका लमजुङ, तनहुँ र मनाङबाहेक ८ वटा जिल्लाका अस्पतालले आफ्नै अक्सिजन प्लान्टबाट ग्यास उत्पादन गरेका छन् भने ती अस्पताल अक्सिजन ग्यासमा लगभग आत्मनिर्भर छन् ।
गण्डकी प्रदेशमा रहेका निजी क्षेत्रका दुवै कम्पनीमा सशस्त्र प्रहरी बल तैनाथ गरी बिरामीको चापअनुसार अस्पतालहरुलाई अक्सिजन वितरण गर्न थालिएको छ ।
कोभिड संक्रमण दर बढेसँगै जताततै अक्सिजनको अभाव हुन थालेपछि दुवै उद्योगलाई चौबिसै घण्टा सञ्चालन गरी पूर्ण क्षमताअनुसार ग्यास उत्पादन भइरहेको सम्बन्धित उद्योगका प्रतिनिधि बताउँछन् ।
कालीगण्डकी अक्सिजन प्रालिका निर्देशक केशरीप्रसाद तिवारीका अनुसार अहिले कम्पनीले ठुलो खालका ६०० सिलिण्डर ग्यास दैनिक उत्पादन गर्दै आएको छ ।
‘अक्सिजनको माग उच्च भएपछि चौबिसै घण्टा उद्योग सञ्चालन गरेर दैनिक ६०० ठुला सिलिण्डर ग्यास उत्पादन गर्दै आएका छौं’ उनले भने, ‘कम्पनीले अधिकतम क्षमतामा उत्पादन गर्दै आएको छ ।’
कालीगण्डकी अक्सिजन प्रालिबाट गण्डकी प्रदेशमा मात्र नभएर अन्य प्रदेशमा समेत ग्यास लैजाने गरिएको उनले बताए । ‘हामीले उत्पादन गरेको अक्सिजन गण्डकीमा मात्र खपत भएको छैन, खाली सिलिन्डर भरेर देशका विभिन्न स्थानमा लैजाने गरिएको छ,’ उनले भने, ‘लुम्बिनी, बागमती लगायतका प्रदेशबाट खाली सिलिन्डर ल्याइ भरेर लैजाने गरेका छन् ।’
सामान्य अवस्थामा दैनिक ३०÷४० वटा सिलिण्डर खपत हुने अस्पतालमा अहिले दैनिक डेढ सयभन्दा बढी सिलिन्डर खपत हुने गरेको निर्देशक तिवारीले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम संक्रमितको संख्या बढ्दै गएको अवस्थामा चुनौती थपिन सक्ने बताउँछन् । ‘अहिलेसम्म त प्रदेशको माग धानेर बाहिर पनि पठाइरहेका छौं,’ उनले भने, ‘संक्रमण दर बढ्दै गयो भने अक्सिजन उत्पादन बढाउन सक्ने अवस्था छैन, त्यो बेला समस्या आउन सक्छ ।’
प्रजिअ गौतमले पोखरामा अक्सिजन सहज रुपमा पाउने हल्ला चलेपछि बाहिरी जिल्लाबाट पछिल्ला दिन रित्ता सिलिन्डर लिएर आउनेको भिड लाग्न थालेको र जथाभावी सिलिन्डर भर्न रोक लगाइएको बताए ।
गण्डकीका ११ जिल्लाबाहेक अन्य प्रदेशबाट आएकालाई अब अक्सिजन भर्न नदिन ग्यास उद्योगहरुलाई निर्देशन दिइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भर्खर लोक सेवा उत्तीर्ण अधिकृतलाई गन्दैनन् पालिका प्रमुख
-
डुङ्गाबाट ६ सय करोड भारुको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा
-
मोनाको हारेपछि पीएसजीलाई लगातार तेस्रो उपाधि
-
शीर्ष स्थानमा दुरी घटाउँदै सिटी
-
करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
-
‘एकल महिलाको भत्ता जम्मा गरेर घर बनाएकी थिएँ, ५ मिनेटमै जलेर खरानी भयो’