शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

६.५ प्रतिशतको आर्थिक बृद्धिदर सम्भव छ : उद्योग परिसंघ

बिहीबार, ०३ असार २०७८, १७ : ५३
बिहीबार, ०३ असार २०७८

नेपाल उद्योग परिसंघले बजेटले परिकल्पना गरेको ६.५ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव रहेको बताएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटका क्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस्तो बताएका हुन् । 
तर, यसका लागि सरकारले आर्थिक गतिविधिका क्षेत्र चलायमान गर्नुका साथै विस्तार गर्नुपर्ने उनले बताएका छन् । सो अवसरमा अध्यक्ष मोरले आगामी आर्थिक वर्षमा  लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरी मुलुकको आर्थिक क्रियाकलाप चलायमान बनाउन सरकारसँग आग्रह गरेका छन् । 

भेटमा अध्यक्ष मोरले बजेटमा उल्लेखित धेरै विषय तत्काल कार्यान्वयनका लागि मौद्रिक नीति मार्फत व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।  सो अवसरमा उनले बजेटमा जस्तै मौद्रिक नीतिमा पनि निजी क्षेत्रका समस्या सम्बोधन हुने विश्वास पनि व्यक्त गरे । 

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मार्फत प्रत्येक निर्णय ७ देखि १५ दिनमा गरिसक्ने व्यवस्था गरेको भन्दै अध्यक्ष मोरले सरकारले पनि प्रत्येक मन्त्रालयका काम यसरी सम्पन्न गर्ने गरी समय तोक्नुपर्ने बताए । 

सरकारी निकायका निर्णय प्रक्रिया छिटो र छरितो हुनुपर्ने भन्दै अध्यक्ष मोरले त्यसले सेवा प्रवाहमा समेत सहजता ल्याउने उल्लेख गरे ।  सो अवसरमा कोभिड–१९ को भ्याक्सिन निजी क्षेत्रका उद्योगहरुमा  कार्यरत मजदूर तथा कर्मचारीलाई प्राथमिकताका साथ उपलब्ध गराउन पनि परिसंघले उपप्रधान तथा अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप