शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचौ पोखरा स्पोर्टस् अवार्डको तयारी पुरा

बुधबार, १६ असार २०७८, २० : २७
बुधबार, १६ असार २०७८

खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै असार १८ गते शुक्रबार पोखरा रंगशालाको ब्याडमिन्टन हलबाट सेमिभर्चुअल रुपमा समारोह गर्दैछ ।

अघिल्लो वर्ष हुन नसकेको सो अवार्ड यसपाली वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समिति संयोजक एवम् मञ्च अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

यो वर्ष स्पोर्ट्स अवार्डका विभिन्न ७ विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार छन् । तीमध्ये उत्कृष्ट पत्रकारतर्फ २ जना सम्मानित हुनेछन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पुर्याएका केशव रञ्जित आनन्द र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई दिइनेछ । वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली (कराते) विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) परेका छन् भने वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ) पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) उत्कृष्ट ३ मनोनयनमा परेका छन् ।

उदियमानतर्फ दुवाना लामा (पौडी) प्रदीप खड्का (लनटेनिस) र विपिन खत्री (क्रिकेट) तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनित छन् । हरेक विधामा उत्कृष्ट १ जनाले मूल कार्यक्रममा नगदसहित अवार्ड जित्ने छन् । साथै मनोनित सबैलाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ ।

लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही २/२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने छ । वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार ९२ जनालाई जनही ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला दिइनेछ ।

कार्यक्रमको एबिसी न्यूज टेलिभिजन र पोखरा टेलिभिजनसहित युट्युवबाट शुक्रबार दिउँसो ठिक ३ बजे लाइभ प्रसारणको व्यवस्था मिलाइएको छ । समारोहको प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल रहने छन् ।
अवार्डका लागि राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले लगायतले सहयोगको प्रतिबद्धता जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप