बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने

सोमबार, २१ असार २०७८, १९ : ५७
सोमबार, २१ असार २०७८

बङ्गलादेशमा लागू भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ । बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागू हुने भएको छ ।
कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् । 

सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ ।  कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा यही जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो । 

बङ्गलादेशमा गत आइतबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बङ्गलादेशमा कोरोनाका कारण १५३ जनाको मृत्यु भएको छ ।

मृतकको सङ्ख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताउने गरेका छन् ।  बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार ६५ जनाको मृत्यु भएको छ । 

त्यसैगरी बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म नौ लाख ४४ हजार ९१७ जना सङ्क्रमित भएका छन् । तीमध्ये आठ हजार ६६१ जना पछिल्लो २४ घण्टामा थपिएका जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप