आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिललाई थप बलियो र स्वायत्त बनाउन सुझाव

शनिबार, २६ असार २०७८, २० : १९
शनिबार, २६ असार २०७८

प्रेस काउन्सिल नेपाललाई थप बलियो र स्वायत्त बनाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।  प्रेस काउन्सिल नेपालको आयोजनामा काठमाडौँको बुढानिलकण्ठमा सुरु भएको प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरूले यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने र त्यसका लागि काउन्सिलले पहल गर्नुपर्ने आवाज उठेको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको ग्यारेन्टी कानुनले गर्ने भएकाले कानुन निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताए ।  यस्तै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको कार्यक्षेत्र आचारसंहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव  दिए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालको नियमन गर्दा काउन्सिलले थप अध्ययन गर्नुपर्ने बताए । छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले व्यक्तिगत सञ्चार र जिम्मेवार सञ्चारबीचको भेद छुट्याउनुपर्ने बताए । उनले भने– ‘जो पनि पत्रकार हुने स्थितिले पत्रकारिता मर्यादित र विश्वसनीयता घटेको छ । पर्सनल मिडिया र रेस्पोन्सिवल मिडिया छुट्याउनुपर्छ ।’ 

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रकारिता नेताले त बोलिहान्छन् नि भनेजस्तो पत्रकारले त लेखिहाल्छन् भन्ने अवस्था आउनु दुःखद भएको उल्लेख गरे । उनले काउन्सिलले मिडिया उपभोक्ताको कुरा सुन्नुपर्ने, उनीहरुले सही सूचना पाएको नपाएको हेर्नुपर्नेमा जोड दिए । कार्टुनको विषयमा आचारसंहिता आकर्षित नहुने भन्दै उनले काउन्सिल पत्रपत्रिका वर्गीकरणको कामबाट अलगिनुपर्ने धारणा राखे ।

 कार्यक्रममा महासंघका पूर्व महासचिव उजिर मगर, वरिष्ठ पत्रकार बबिता बस्नेत, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित, लोकान्तर डटकमका प्रधान सम्पादक बिमल गौतम, इन्जाका अध्यक्ष एवं वरिष्ठ पत्रकार टंक पन्त, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन् । पत्रकारलाई लाइसेन्स दिने व्यवस्थाले मर्यादित र जिम्मेवार पत्रकारिताको विकास हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप