शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा दुईबाट एकमा झर्‍यो जसपा, काँग्रेसमाथि ‘बेइमानी’को बात !

मन्त्री आचार्यद्वारा शपथ बहिस्कार
शुक्रबार, ०८ साउन २०७८, १५ : ५४
शुक्रबार, ०८ साउन २०७८

मन्त्रालयमा भएको भागबण्डाका विषयमा यसअघि भएको सहमति कार्यान्वयन नभएपछि गण्डकी प्रदेशमा सत्ता गठबन्धनबीच खटपट देखिएको छ । काँग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउने क्रममा जनता समाजवादी पार्टी (जसपा)ले दुई मन्त्रालय पाउने सहमति भएपनि अन्तिम समयमा एक मन्त्रालयमा मात्रै सीमित गरिएको भन्दै सो पार्टी आक्रोशित बनेको हो । 

गण्डकी प्रदेशमा काँग्रेसले जनता समाजवादी पार्टीसँग दुई मन्त्रालय दिने गरी ४ बुँदे लिखित सहमति गरेको थियो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत असार ४ गते जसपालाई अर्थसहित दुईवटा मन्त्रालय दिने लिखित सहमति गरेका हुन् । 
तर, मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाइसकेपछि भने संसदीय दलका नेता हरिशरण आचार्यसँग भएको सहमति विपरित आजै काँग्रेस र माओवादीका मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका  हुन् । 

यसअघि भएको सहमति विपरित मुख्यमन्त्रीले अर्थमन्त्रालय आफ्नै पार्टीको भागमा राखेका थिए । त्यसपछि लामोसमय सम्म मन्त्रालयका वारेमा विवाद चलेपछि आचार्य उर्जा तथा जलस्रोत मन्त्रालयमा राजी भएका थिए । त्यसपछि काँग्रेसले फेरि जसपालाई दिने भनिएको अर्को मन्त्रालय पनि आफ्नै भागमा राखेर मन्त्रिपरिषद् विस्तार गरेपछि सत्ता साझेदार पार्टीबीच विवाद चुलिएको हो ।

सत्ता साझेदार दलबीच यसअघि काँग्रेस ४, माओवादी केन्द्र ४, जनता समाजवादी २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मानाङ्गे) लाई एउटा मन्त्रालय दिने सहमति भएको थियो । तर, मुख्यमन्त्री पोखरेलले आज (शुक्रबार) गरेको मन्त्रिमण्डल विस्तारमा जसपालाई दिने भनेको मन्त्रालयमा पनि आफ्नो पार्टीबाट मन्त्री नियुक्त गरेपछि विवाद सतहमा आएको हो ।

​काँग्रेसले जनता समाजवादी पार्टीसँग गरेको लिखित सहमतिलाई बेवास्ता गरेर अगाडि बढेको आचार्यले बताए । उनले यसअघि काँग्रेसले जनता समाजवादीलाई अर्थ सहित दुईवटा मन्त्रालय दिने लिखित सहमति गरेपनि एकपछि अर्को बेइमानी गरेको आरोप लगाए । 

काँग्रेस विगतदेखि वर्तमानसम्म बेइमानीको इतिहास बनाएको पार्टी भएको आरोप लगाउँदै उनले त्यस्तो पार्टीबाट नयाँ र सकारात्मक अपेक्षा गर्न नसकिने बताए । 

उनले केन्द्रमा जस्तै केपी ओलीको प्रतिगामी कदमकाविरुद्ध रहेका दलहरुले काँग्रेसलाई प्रदेश मुख्यमन्त्री बनाए पनि उसले विगतदेखिको प्रवृत्ति नसुधारेको आरोप लगाए । 

मन्त्री आचार्यले अब, कसरी अगाडि बढ्ने भन्ने वारेमा पार्टीको केन्द्रीय नेतृत्वसँग छलफल गरेर अगाडि बढ्ने बताए । ‘जनता समाजवादीसँग गरेको लिखित सहमति उल्लंघन गरेर काँग्रेस आफ्नो तरिकाले अगाडि बढेको छ,’ उनले भने, ‘अब, जनता समाजवादीले सरकारमा बस्ने वा के गर्ने भन्ने बारेमा नेतृत्वसँग छलफल गर्दैछौं।’

मन्त्री आचार्यले मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै बजेट पनि पास गरेपछि दम्भ बढेको आरोप लगाए । ‘अहिले बजेट पास गरियो भनेर घमण्ड गर्नु पर्दैन, फेरि एक बर्षमा बजेट पास गर्ने समय आउँछ,’ उनले भने, त्यसबेला काँग्रेसलाई सहयोग चाहिएला नि।’

मन्त्री आचार्यले बेइमानी काँग्रेसको साक्षी बस्न उपयुक्त नलागेर आजको शपथग्रहण कार्यक्रममा समेत सहभागी नभएको बताए । 

जसपाका गण्डकीमा २ जना सांसद छन् । सत्ता सहयात्री दलबीच निर्णायक भूमिकामा रहेको जसपाका दुवै जनालाई मन्त्री बनाउने सहमति भएको थियो । तर,आफ्नै पार्टीमा मन्त्रीका आकांक्षीको लर्को लागेपछि काँग्रेसले सहमति उल्लंघन गरेर जसपाका सांसद धनमाया लामा पोखरेललाई मन्त्री बन्नबाट बन्चित गरेको छ ।

विवादका बीच गण्डकीको मन्त्रिपरिषद्ले भने पूर्णता पाएको छ, जुन टीम यसप्रकार छः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप