मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीको प्रश्नपत्र लिक प्रकरण : डिजिटल फरेन्सिक रिपोर्ट कुर्दै छानविन समिति

सोमबार, २५ साउन २०७८, १९ : ५८
सोमबार, २५ साउन २०७८

शान्ति मिसनमा जानुअघि प्रहरीले लिने आन्तरिक परिक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको बारे छानविन अन्तिम चरणमा पुगेको छ । प्रहरी प्रधान कार्यालयले डिआइजी वसन्त लामाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । 
साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परिक्षा हुनुभन्दा दुई दिनअघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।  प्रश्नपत्र ‘लिक’ गर्नेहरुको मोवाइल जफत गरेर समितिले डिजिटल फरेन्सिक ल्यावमा परिक्षणका लागि पठाएको थियो । ल्याबको रिपोर्ट आएपछि प्रतिवेदन बुझाउने गरी काम भइरहेको छानविन समितिका एक सदस्यले रातोपाटीलाई बताए । 

‘छानविन अन्तिम चरणमा पुगेको छ’ समितिका एकजना सदस्यले रातोपाटीसँग भने–‘डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आउन बाँकी छ, रिपोर्ट आएपछि प्रतिवेदन बुझाउँछौँ ।’  समितिले आरोपीहरुका मोवाइल नेपाल प्रहरीको फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाएको थियो । प्रारम्भिक अनुसन्धानबाट युएन शाखाका एसपी अनुपमशम्शेर जबराको घर्राबाट कार्यालय सहयोगी सुरेश बमले प्रश्नपत्र चोरेको देखिएको छ । सुरेशले साउन १३ मा एसपी जबरा घर हिँडेपछि साँझ ८ बजे घर्राबाट प्रश्नपत्र निकालेका थिए । 

छानविन समितिका एक सदस्यले रातोपाटीलाई बताएअनुसार सुरेशले आफैंले प्रश्नपत्र निकालेर हवल्दार कुमार शाहलाई बयान दिएका छन् ।  कुमार र शुरेशको बीचमा लेनदेन थियो । ब्यवसाय पनि शुरु गर्न लागेका उनले हवल्दार कुमार शाहसँग १ लाख रुपैयाँ ऋण लिएका थिए । प्रश्नपत्र ‘लिक’ गराए सो ऋण चुक्ता हुने आश्वासनपछि आफुले ‘घर्राबाट प्रश्नपत्र चोरेको’ शुरेशले समितिलाई बताएका छन् । 

यसअघि डिएसपी रुपेश खड्कालाई प्रश्नपत्र पुर्याउन घरमा गएका भनिएका प्रहरी नायव निरीक्षक (सई) जनक थापाले चाहिँ आफ्ना ज्वाई र सालोलाई प्रश्नपत्र पठाएको छानबिनबाट थाहा भएको छ । आठ वर्षदेखि प्रहरी प्रधान कार्यालयको युएन शाखामा बसेर केही समयअघि मात्र साइबर ब्यूरोमा सरुवा भएका शाहले आफैंले डिएसपी रुपेश खड्कालाई शान्ति मिशनको प्रश्नपत्र दिएको बयान दिएका छन् । समितिसँगको बयानमा उनले भनेका छन्–‘डिएसपी सा’पलाई मैले नै प्रश्नपत्र दिएको हुँ ।’ यसअघि युएन शाखामा बसेका खड्का र शाहको बीचमा पुरानो चिनजान थियो । 

हवल्दार कुमार शाह र युएन शाखामा कार्यरत सहयोगी सुरेश बमलाई समितिले आन्तरिक नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ ।  फरेन्सिक जाँचबाट आरोपी र प्रश्नपत्र पाउनेहरूको बीचमा भएको एसएमएस कुराकानी र पठाएको प्रश्नपत्रको फोटो देखिन्छ । अहिलेसम्मको छानबिनलाई ल्याब रिपोर्टले पुष्टि गरेपछि प्रतिवेदन बुझाउने समितीको तयारी छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप