शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरको थप दुई नगरसँग भगिनी सम्बन्ध

बुधबार, २७ साउन २०७८, ११ : ००
बुधबार, २७ साउन २०७८

काठमाडौँ महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो ।

समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य तथा अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरेका हुन् । सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजनाअनुसार यसअघि कामपाले कर्णालीको चन्दननाथ, वाग्मतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।

मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरबीच भगिनी सम्बन्ध स्थापनाको गरिएको कामपा प्रमुख शाक्यको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानूनी व्यवस्थाबमोजिम सङ्घीय राजधानी काठमाडौँमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका विषयमा कामपाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको हो । कामपाले भगिनी सम्बन्ध स्थापनासँगै नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ उद्यान निर्माण गर्न रु एक करोड ५० लाख सहयोग गर्ने भएको छ ।

त्यसैगरी अमरगढी नगरपालिकाको वडा नं २ र ५ मा अवस्थित अमरगढी उद्यान निर्माणका लागि रु एक करोड ५० लाख सहयोग गरेको छ । त्यसैगरी कामपाले अन्तर्राष्ट्रियतर्फ चीन, जापान, अमेरिका, बेलायतलगायत पाँच देशका १६ शहरसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप