रोकियो भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट
विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसकेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । गत वैशाखमै तयार भए पनि कोरोना महामारीका कारण विमानस्थलले क्यालिब्रेसन फ्लाइट गर्न नसकेको हो ।
“हामी यहाँ तयारी अवस्थामा छौं । उपकरणसहितको जहाज र प्राविधिक आए तुरुन्तै क्यालिब्रेसन फ्लाइट गर्न सक्छौं,” गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख प्रविण न्यौपानेले भने । उनका अनुसार विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावमार्ग, टावरलगायत क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् कि छैनन्, ककपिटका पाइलट र टावरका कर्मचारीबीच सम्पर्क भएको छ कि छैन भनेर परीक्षण गर्न क्यालिब्रेसन फ्लाइट गरिन्छ । क्यालिब्रेसन फ्लाइटपछि मात्रै परीक्षण उडान हुन्छ ।
विमानस्थलमा सूचना तथा विद्युतीय सामग्री उपकरणलगायत संरचनाको जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाइ कम्पनीले त्यहीँको कम्पनीबाट उपकरण ल्याउन पहल गरे पनि कोभिडका कारण आउन नसकेको न्यौपानेको भनाइ छ । “अहिले थाइल्याण्डमा कोरोना संक्रमण र जोखिम बढेको छ । त्यहाँको सरकारले आफ्ना नागरिकलाई कामका लागि अन्य मुलुक जान रोक लगाएको छ । अहिले हामी क्यालिब्रेसन फ्लाइटका लागि भारतको हवाई नियमन निकायसँग कुराकानी गरिरहेका छौं,” उनले भने । भारतबाट ल्याउन सकिए सहज रुपमा छिटो हुने र नजिक भएकाले समस्या पनि खासै नदेखिने उनको भनाइ छ ।
आगामी अक्टोबरभित्र क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य आयोजनाको छ । “हामी जतिबेला पनि क्यालिब्रेसन फ्लाइट गर्न सक्ने गरी तयारी अवस्थामा छौं । विमानस्थलमा विमान उडान र अवतरणका लागि आवश्यक सबै उपकरण जोडिएको धेरै भैसकेको छ,” न्यौपानेले भने । उता कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी कामदार आईसीबी–१ अन्तर्गत टर्मिनल भवनको बाँकी काम समापनका लागि खटिएका छन् । टर्मिनल भवनको बाँकी काम नसकिए पनि क्यालिब्रेसन फ्लाइटलाई कुनै अप्ठेरो नपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए । विमानस्थलमा जडान गर्नुपर्न रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदि यन्त्र–उपकरण जडान कार्य सम्पन्न भइसकेको छ । एसपीको नेतृत्वमा विमानस्थल सुरक्षा एकाइ खडा भइसकेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण